सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –

पोखरा, २४ कात्तिक। भाइटिकाको दिन पोखरामा १० देशका झण्डै ६० पर्यटकले भाइटिका लगाएका छन्।

पहिलो पल्ट भाइटीका ग्रहण गरेका जर्मन नागरिक म्यारिक भाइटिका लगाउन पाउँदा निकै खुशी लागेको बताए । ‘दिदी बहिनीहरुले टीका लगाएर ढाका टोपि लगाउँदा निकै खुशी लागेको छ’ उनले भने ‘नेपाल संस्कार र संस्कृतिमा निकै सम्पन्न रहेछ ।’ त्यस्तै दगं थिए इजरायली नागरिक नेप्चेन पनि। निधारमा सप्तरंगी टीका, शिरमा ढाका टोपी, गलामा सयपत्रीको मालामा सजिएका उनले भाइटीकाले निकै आत्मीय महसुस गराएको बताए।

चौथो पटक भाइटिका लगाएकी नेदरल्याण्डकी हिल्लटेजि भन् मिक्करिन यो संस्कार र संस्कृतिले आफूलाई निकै लोभ्याएको प्रतिक्रिया दिइन्। भाइटीकाको टीका ग्रहण कुरेर बसेकी उनी केही दिनमै स्वदेश फर्कने बताइन्।

होटल संघले विगत १२ अघिदेखि यस पर्वलाई भाइटीका महोसत्सवको रुपमा मनाउँदै आएको छ । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई प्रचार गर्ने उद्धेश्य महोत्सवको आयोजना गरिएको हानका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। उनले नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबर्द्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको बताए । यसपालि पनि पर्यटकको उल्साहपूर्ण सहभागिता रह्यो । यसले पक्कै पनि यस पर्वप्रति सकारात्मक धारणा बनिरहेको छ । यो धर्मसँग नजोडिइ सद्भावसँग जोडिएको उनले बताए।

कार्यक्रम निकै उत्साहपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको संघकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक पार्वती पाण्डेले जानकारी दिइन् । उनले भनिन् ‘भाइटीकाकै दिन अपरान्ह दुई बजेबाट शुरु भएको भाइटिकाको कार्यक्रम नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टिका लगाउने, देउसी भैलो खेल्दै सेलरोटीलगायत अन्य परिकार खुवाएर उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो ।’ उनले गत वर्ष भन्दा यस वर्ष टिका लगाउने पर्यटक बढेको जानकारी दिइन् । ‘गत वर्ष १३ देशका ३५ पर्यटकले टिका ग्रहण गरेका थिए भने यस वर्ष १० देशका ६० पर्यटक भाइटिका लगाए।’

उनले भाइटीका ग्रहण गर्नकै लागि पर्यटक पोखरा आउन गरेको र दुई देश विचका नागरिकमा भाइचारको सम्बन्ध स्थापित गरेको बताए । उनले भने‘ यस पर्वले नेपाली संस्कार संस्कृतिलाई विदेशमा भित्र्याइरहेको छ।’

पर्यटकलाई रेन्बो चिल्डेन होममा रहेका १० जना किशोरी एवं बालिकाहरुले पर्यटकलाई टिका लगाईदिएका थिए।

सबै तस्वीरहरु सुदर्शन रञ्जित थप तस्वीरहरु यहाँ क्लिक गरेर हेर्नुहोस्



.

















Comments

comments