धादिङको खादिङमा तमु धिं युकेद्वारा निर्मित विद्यालय भवन उद्घाटन

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, धादिङ जिल्लाको दुर्गम क्षेत्र रुबी भ्याली गाउपालिका वडा नं. ६, खादिङमा तमु धिं युकेद्धारा निर्मित विद्यालय भवनको बुधवार उद्घाटन गरिएको छ।

२०७२ सालको बैशाख १२ र २९ गतेको महाभूकम्पबाट क्षतिग्रस्त भई खुल्ला मैदानमा पठन पाठन गर्न बाध्य खादिङस्थित हिमालय सरस्वती आधारभूत विद्यालयमा तमु धिं युकेले पाहार ट्रष्ट नेपालको प्राविधिक र स्थानीयको जनश्रमदानको सहयोगमा निर्मित ५ कोठे विद्यालय भवनको उद्घाटन गरिएको हो।

६० लाख ३५ हजार ५११ रुपैयामा निर्मित भवन उद्घाटन प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङ र विशेष अतिथि पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङ शिलालेख अनावरण गरी भवनको उद्घाटन गर्नुभएको हो भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गुरुङले दीप प्रज्वलन गर्नुभएको थियो। भवन उद्घाटनमा तमु धिं युकेका निवर्तमान अध्यक्ष तथा भवन निर्माण संयोजक रामचन्द्र(सुर्जे)गुरुङ, तमु धिं युकेका नवर्निर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, नवर्निर्वाचित उपाध्यक्ष हरी गुरुङ, नवनिर्वाचित उपाध्यक्ष जुमकाजी गुरुङ, कोषाध्यक्ष दीपक गुरुङ, कार्यकारिणी सदस्य श्रीप्रसाद गुरुङ, सदस्य भिम गुरुङ लगायतले साथ दिनुभएको थियो। उक्त भवनको २०७५ सालको बैशाख १२ गते ज्ञामबहादुर गुरुङ लगायतले शिलान्यास गर्नुभएको थियो।

भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणका लागि तमु धिं युकेले युकेमा च्यारिटी गरी संकलित ५० लाख रुपैया, पहार ट्रष्टको प्राविधिक सहयोग र स्थानीयको ९ लाख बराबरको श्रमदानसहित करिब ६० लाख ३५ हजार ५११ रुपैयामा उक्त विद्यालय भवन निर्माण भएको हो। तमु धिं युकेले भूकम्पबाट दुर्गम क्षेत्रमा अति नै प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण गरी सेवा पुर्याउने पहल गरिरहेको र पाहार ट्रष्ट नेपालले विगत २५ वर्षदेखि दुर्गम वा ग्रामीण भेकमा शिक्षा र स्वास्थ क्षेत्रमा सेवा गर्दै आइरहेकाले दुइ संस्थाले सहकार्य गरी स्थानीयको समेत सहभागितामा विद्यालय भवन निर्माण सम्पन्न गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङले भूकम्प प्रभावित अति दुर्गम क्षेत्र खादिङमा विद्यालय निर्माण गरी सेवा पुर्याउन पाउदा अत्यन्तै खुशी भएको बताउनुभयो। विद्यालयमा अझै आवाश्यक थप ४ कोठाका लागि रोटरी क्लव अफ युकेसँग सहयोगको पहल गरेको जानकारी दिनु भयो। आफ्नो गाँउको विकासका लागि आफै लाग्नुपर्दछ,भन्नुहुदै विद्यालयलाई आवश्यक जग्गा सहयोगका लागि स्थानियलाई आग्रह उहाँको थियो।

युकेमा बसोवास गरे पनि भिम गुरुङले आफ्नो गाँउको विद्यालयको पीडा जानकारी पश्चात खादिङमा विद्यालय निर्माणका लागि तमु धिं जुटेको अध्यक्ष गुरुङको भनाई थियो। भूकम्पको पीडाका कारण विद्यालय भवन निर्माणले तमु धिं, पाहार ट्रष्ट नेपाल र स्थानीय विच दिगो सम्बन्ध स्थापित भएको उहाँको भनाई थियो। यसैविच उहाँले हिमालय सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत दिलाल गुरुङलाई आगामी वर्षदेखि तमु साँस्कृतिक प्रतिष्ठानसँग समन्वय गरी छात्रवृति उपलब्ध गराउन पहल गर्ने बताउनुभयो। भोलिको सुनौलो भविष्य बालबालिका भएकाले सबैले आफ्ना बच्चाहरुलाई शिक्षामा जोड दिन आग्रह गर्नुभयो।

विशेष अतिथि पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै खादिङमा भुकम्पबाट क्षतिग्रस्त भई पठन पाठनमा समस्यालाई समाधान गर्न दाता सँस्था तमु धिं युकेसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभया। पाहार ट्रष्टको उद्धेश्य र कार्यक्रमसँगै मिल्ने योजना भएकाले तमु धि र स्थानीयसँग आफुहरु जोडिएको उहाँको भनाई थियो। २०७२ सालको भुकम्प पश्चात पाहार ट्रष्टले खादिङमा १ हजार बोरा चामल र २ सय किलो नुन राहत स्वरुप सहयोग गरेको समेत उहाँले जानकारी दिनुभयो। विद्यालय भवन ६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षाको समय र ढुवानीको समस्याले ८ महिनामा उद्घाटन गर्न पाउदा पनि आफुहरु हर्षित भएको बताउनुभयो। उहाँले विद्यालय निर्माणको आम्दानी खर्च विवरण प्रस्तुत गर्नुभएको थियो।

तमु धिं युकेका निवर्तमान अध्यक्ष तथा विद्यालय भवन निर्माण संयोजक रामचन्द्र(सुर्जे) गुरुङले शुभकामना व्यक्त गर्नुहुदै अति आवाश्यक गाँउमा विद्यालय भवन निर्माण गर्न पाउदा खुशी व्यक्त गर्नुभयो। संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत भुकम्प पीडितहरुको पीडामा तमु धिं युकेको तर्फबाट थोरै भए पनि मल्हमपट्टी लगाउने प्रयत्न गरेको बताउनुभयो।

विद्यालयलाई गुणस्तरीय शिक्षाका लागि १८ वटा ल्यापटप सहयोग हस्तान्तरण गर्नुहुदै डिस्कभरी वल्र्ड ट्रेकिङका मिलन गुरुङले तमु धिं युके र पाहार ट्रष्ट दुर्गम गाँउमा पनि धादिङ बेसीमा भन्दा पनि राम्रो भवनमा गाँउका विद्यार्थीले पढ्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। आफुले अध्ययन गरेको विद्यालयलाई आफ्नो तर्फबाट पनि सक्दो सहयोग रहिरहने उहाँको भनाई थियो।

रुबी भ्याली गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष नरमान गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु धिं र पाहार ट्रष्टलाई सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।राज्यको तर्फबाट पनि सहयोगको पहल आफुले गर्ने बताउनुभयो।


थप फोटोहरु यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ

कार्यक्रममा विद्यालय कार्यालयका लागि प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङले १ थान ल्यापटप सहयोग हस्तान्तरण गर्नुभएको भने टलक गुरुङले पठाउनुभएको २ वटा भलिवल र १ थान भलिबल नेट विद्यालयका प्रधानाध्यापक गंगाराम तामाङलाई हस्तान्तरण गर्नुभयो।
यसरी नै तमु धिं युकेले भवन निर्माणका लागि विशेष सहयोग गरेको भन्दै पाहार ट्रष्टका अध्यक्ष चन्द्रबहादुर गुरुङ, मम गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलमान गुरुङ, प्रधानाध्यापक गंगाराम तामाङ, वडा अध्यक्ष नरमान गुरुङलाई सम्मानपत्र, मायाको चिनो सहित सम्मान गरिएको थियो । यस्तै गरी भवन निर्माण हेर्नुभएको पाहार ट्रष्टका इञ्जिनियर नरेन्द्र नेपाली, कर्मचारी चन्द्र घले, खादिङ पुर्याउने पाइलटहरु एरिक र सविन लामालाई समेत खादा लगाइ सम्मान गरिउको थियो।

यस्तै गरी पाहार ट्रष्ट नेपालले पनि तमु धिं युकेसहित विशेष सहयोगीहरुलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो। यसरी नै विद्यालयको तर्फबाट पनि तमु धिं युके, पाहार ट्रष्ट लगायत अतिथिहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलमान गुरुङले विद्यालय भवन निर्माण गरिदिने तमु धिं युके र पाहार ट्रष्ट नेपाललाई धन्यवाद व्यक्त गर्नुहुदै विद्यालयका लागि अफै थप ४ कोठा आवाश्यक भएकाले सहयोगको आग्रह गर्नुभयो।

स्वागत गर्नुहुदै प्रधानाध्यापक गंगाराम तामाङ र विद्यार्थी दिलाल गुरुङले खुल्ला आकाश मुनि बसेर पठन पाठन गर्न बाध्य भइरहदा तमु धिं र पाहार ट्रष्टको सहयोग खादिङबासीले कहिल्यै नविर्सने भन्दै आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रम संचालन शिक्षक निर गुरुङले सञ्चालन गर्नुभएको थियो तमु धिं युकेका नवनिर्वाचित उपाध्यक्ष हरी गुरुङले पनि केही क्षण कार्यक्रम संचालन गर्नुभएको थियो। अतिथिहरुलाई स्थानीय पाइथान देवी आमा समुहले फुलमाला र विद्यालयका विद्यार्थीहरु नृत्यसहित स्वागत गरेका थिए।

कक्षा ८ सम्म अध्यापन हुने हिमालय सरस्वती आधारभुत विद्यालयमा १५६ जना विद्यार्थी, ९ जना शिक्षक र एक जना कार्यालय सहयोगी रहेको शिक्षक निर गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार १२० घर रहेको गुरुङ गाँउ खादिङमा १० घर तामाङ, दलितका १२ घर परिवार बसोवास गर्दछन।





Comments

comments

Leave a Reply

25823