प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दोषहरूलाई यातना दिनेविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी परेको छ।

प्रमाण नष्ट गर्नेविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसुर र प्रहरीले मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टलाई यातना दिनेविरुद्ध यातना कसुरमा सोमबार जाहेरी पेस भएको हो।

सार्वजनिक न्यायविरुद्धको कसुरमा निर्मलाकी आमा दुर्गादेवी र यातनासम्बन्धी कसुरमा दिलीप विष्टका दाइ खडक विष्टले जाहेरी दिएका हुन्।

दुर्गादेवीले बर्खास्तमा परेका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट, निलम्बितहरू डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकिन्द्र खडका, सई हरिसिंह धामी, प्रहरी सहायक निरीक्षक रामसिंह धामी र हवल्दार चाँदनी साउदका नाममा जोहरी दिएकी हुन्।

जाहेरीमा दुर्गादेवीले छोरीको खोजी गर्दादेखि शव भेटिएपछि र अन्त्येष्टि गर्दासम्म प्रहरीले लापरबाही गरेको उल्लेख गरेकी छन्। छोरी हराएको जानकारी गराउँदा समयमा प्रहरी नआएको, शव भेटिँदा घटनास्थल सुरक्षित नगरेको र प्रहरीबाटै प्रमाण नष्ट भएको उल्लेख छ। यसैगरी घटनाको अनुसन्धानका क्रममा पनि प्रहरीले अपराधी पत्ता लगाउने भन्दै दोषीलाई बचाउने गरी काम गरेको लगायतका उल्लेख छन्।

‘निर्मला पन्त हराएको सूचना लिनेदेखि शव फेला परेको स्थानको सुरक्षा, प्रमाणको सुरक्षा र संकलन, पोस्टमार्टमका सम्पूर्ण प्रक्रिया, शव बुझाउने र जलाउने प्रक्रिया तथा अपराधका सम्पूर्ण चरणमा योजनाबद्ध तयारी गरेका कारण मुलुकी फौजदारी संहिताको दफा ८९, ९२, ९३ र ९९ बमोजिमका कसुर अपराध गरेकाले प्रतिवादीउपर अनुसन्धान गरी हदैसम्मको सजाय गरिपाऊ’ जाहेरीमा उल्लेख छ। दुर्गादेवीले प्रहरीमा जाहेरी दिँदा प्रमाण नष्ट गर्नेलाई कारबाहीसँगै लुकेर बसेका हत्यारासमेत पत्ता लगाउन माग गरेकी छन्।

जाहेरीमा प्रमाणका रूपमा तत्कालीन एसपी विष्ट र तत्कालीन प्रहरी निरीक्षक भट्टलाई बर्खास्त गरिएको, प्रहरीले घटनास्थलमा प्रमाण नष्ट गरेका विभिन्न भिडियोसमेतलाई सबुत प्रमाणका रूपमा राखिएको छ। प्रमाण नष्ट गर्नेहरूलाई कारबाही र वास्तविक दोषी पत्ता लगाउनसमेत जाहेरीमा माग गरिएको छ। सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पुगेर दुर्गादेवीले जाहेरी दिएकी हुन्।

भदौ ४ मा प्रहरीले मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप सिंहका दाइ खडकले यातनासम्बन्धी मुद्दा दिएका छन्। उनले दुर्गादेवीसँगै आफ्नो जाहेरी पेस गरेका हुन्। तत्कालीन एसपी विष्ट, डीएसपीद्वय जिसी र सेठीसँगै प्रहरी निरीक्षक एकिन्द्र खडका नाममा यातनासम्बन्धी जाहेरी पेस भएको हो। उनीहरू चारै जनामाथि प्रमाण नष्ट गरेको आरोप छ।

भदौ २ गते पक्राउ गरी दिलिपलाई कुटपिट गरेको, खानासमेत खान नदिएको, नशालु पदार्थ खुवाएर अपराध कबुल गर्न लगाएको जाहेरीमा छ। उक्त यातनापछि अहिले पनि जथाभावी बोलिरहने, खाना नखाने, रातभरि नसुत्नेलगायत समस्या देखिएको खडकाले दिएको जाहेरीमा उल्लेख छ। ‘अहिले उसको काठमाडौंमा उपचार भइरहेको छ,’ खडकाले भने, ‘त्यहाँबाट घर ल्याए फेरि उस्तै अवस्था आउन सक्छ।’

प्रहरीले विष्टलाई भदौ २ गते पक्राउ गरी २६ गते छाडेको थियो। भदौ ४ गते पत्रकार सम्मेलन गरेर अभियुक्तका रूपमा सार्वजनिक गरिएपछि महेन्द्रनगरमा आन्दोलन चर्केको थियो। त्यही क्रममा प्रहरीले गोली चलाउँदा भीमदत्त नगरपालिका–१८ भगतपुरका शनि खुनाको मृत्यु भएको थियो। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

26073