पोखरामा झुल्किए यि चर्चित व्यक्तित्वहरु, कारण यस्तो……!

पोखरामा जारी छ— आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ । सोमबार फेस्टिभलको तेस्रो दिन । बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा विभिन्न विषयवस्तुमा चर्चापरिचर्चा भए ।

आइएमईले मुख्य प्रायोजन गरेको कार्यक्रममा लेखक साहित्यकारसँगै सर्वसाधारण आउने क्रम तीव्र छ । फेस्टिभलमा सहभागीहरुले आफ्ना प्रिय लेखकका पुस्तक किनेर उनीहरुसँग अटोग्राफ लिने क्रम पनि उत्तिकै छ । लेखक र पाठकको सम्मिलन पनि चलिरहेको छ । फेस्टिभलअन्तर्गत सोमबारको पहिलो सेसन थियो, ‘अँध्यारो उज्यालो’ । यो सेसनमा वरिष्ठ पत्रकार विजय कुमार र रवि लामिछानेले अन्तरक्रिया गरे ।
पहिलो सेसनमा पत्रकारद्वयले पत्रकारिता, साहित्य, संगीत, बेथिति एवम् जीवन जगतबारे छलफल गरे । सँगै राजनीतिक अव्यवस्था र नेतृत्ववर्गको गैरजिम्मेवारीपनको समेत उनीहरुले आलोचना गरे । र राजनीतिक नेतृत्वको अहिलेको प्रवृत्तिमा कतै न कतै जनताको पनि भूमिका रहेको पत्रकार विजय कुमारले बताए ।

उनीहरुले आफ्ना जीवनका अँध्यारा उज्याला पक्षको विवेचना मात्र गरेनन्, उनीहरुले मानिसका विविध जीवनशैलीबारे पनि चर्चा गरे । साथै आम मानिसको उज्याला र अँध्यारा पक्षबारे पनि सेसनमा छलफल भयो ।

तेस्रो दिनको दोस्रो सेसन थियो, ‘संस्मरण विस्मरण’ । यो सेसनमा दीपक सापकोटाले युवराज घिमिरे, ब्रजेश र अर्चना थापासँग अन्तरसंवाद गरे । उक्त अवसरमा कतिपय अवस्थामा आत्मकथाले वास्तविकता एवम् यथार्थलाई ढाकछोप गरी आफूलाई हिरो देखाउने गरेको विषयमा समेत व्यंग्य गरे । उनीहरुले नेपालमा आत्मकथा लेखनको शैली एवम् आफ्नो जीवनका स्मृति र विस्मृतिलाई उजिल्याए । साथै पछिल्लो समय बढ्दै गएको आत्मकथा लेखनको अवस्था र त्यसले पठनशैली बढाएको विषयमा पनि चर्चा गरे । अर्चना थापा र ब्रजेशले आफूले लेखेका पुस्तकका विषयवस्तु र लेख्नुका कारण पनि प्रस्ट्याए । सोही समयमा मुक्त मुक्तक शीर्षकमा सेसन चल्यो । उक्त सेसनमा मुक्तक मञ्च पोखरासँग सम्बद्ध १५ जना मुक्तककारले मुक्तक सुनाए । प्रेम, विछोड, राजनीतिक एवम् समसामयिक विषयवस्तुमा आबद्ध रहेर मुक्तककारले मुक्तक सुनाएका थिए।

‘प्रतिरोध’ शीर्षकको तेस्रो संवादमा बसन्त बस्नेतले वात्स्यायन, कुन्ता शर्मा र उपेन्द्र सुब्बासँग संवाद गरे । उनीहरुले नेपालमा कला, साहित्यले नै नेपालमा प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको र यसले विकास निर्माणमा सरकारलाई घचघच्याइरहेको धारणा राखे । कला, साहित्यका माध्यमबाट मानिसले सरकारलाई विकासका लागि झकझक्याइरहेको बताए । साथै कलाका विविध पक्षबारे पनि यो सेसनमा छलफल भयो । सोही समयमा ‘द राइटिङ जर्नी’ शीर्षकमा प्रतिभा तुलाधरले प्रज्ज्वल पराजुली, रवि थापा र प्रणय राणासँग अन्तरसंवाद गरिन् । उक्त अवसरमा उनीहरुले लेखनशैलीबारे चर्चा परिचर्चा गरे ।

फेस्टिभलको चौथो सेसन थियो, ‘प्रजातन्त्र र पुस्तक’ । यो सेसनमा हरि शर्मा र सिके लालसँग मानुषी यमी भट्टराईले संवाद चलाइन् । पुस्तकले कसरी प्रजातन्त्रीकरणमा मद्दत गर्छ र बजारीकरणसँग पुस्तकको कन्टेन्टको सम्बन्ध के हुन्छ भन्नेबारे चर्चा भएको थियो । सिके लालले पुस्तकको बजारीकरण र लेखनमा को संग्लन छ भन्नेले कस्तो पुस्तक उत्पादन भइरहेछ भन्ने प्रश्न उठाएका थिए । उनले पछिल्लो समयमा सजिलोसँग लेख्न सकिने र सजिलै बेच्न सकिने आत्मकथाका पुस्तक प्रकाशन बढेको भन्दै यस्तै अवस्था सधैं नरहने दाबी गरे । शर्माले भने प्रविधिको विस्तारले पुस्तकको कन्टेन्टमा विविधता बढाएको बताइन् । साथै जसले पुस्तक लेखे पनि त्यसले केही न केही अथवा कतै न कतै प्रजातन्त्रीकरणलाई सघाइरहेको उनको भनाइ छ । संवादमा पठनशैलीसँगै प्रजातन्त्रमा पुस्तक लेखनको अवस्थाबारे पनि छलफल भयो । उनीहरुले प्रजातन्त्रसँगै गणतन्त्रमा पुस्तक लेखनको विकासबारे पनि विचारविमर्श गरे । सोही समयमा ‘कविताको परिधि’ शीर्षकमा कवीन्द्रपुर समूहले प्रस्तुति दिए।

पाँचौं सेसन ‘जर्नालिज्म अन्डर फायर’ शीर्षकमा एएस पनिरसल्भान, कनकमणि दीक्षित र सब्रिना थोप्पासँग भृकुटी राईले अन्तरसंवाद गरिन् । उनीहरुले पत्रकारिताका जोखिमका विषयमा आफ्ना अभिव्यक्ति मात्र दिएनन्, यसका विविध पक्षमाथि पनि छलफल चलाए । साथै विश्वपरिदृश्यमा पत्रकारिताको अवस्थाबारे पनि यो सेसनमा विमर्श गरियो । सोही समयमा ‘द मेकिङ अफ अ बेस्टसेलर’ शीर्षकमा सुबिन भट्टराई, नवराज पराजुली र कृष्ण धरावासीसँग सरिता पुरीले संवाद चलाइन् । उक्त अवसरमा बेस्टसेलर लेखनका पछाडि रहेका संघर्ष, परिश्रमका विविध पक्षमाथि पनि विचारविमर्श भयो । साथै बेस्टसेलर लेखक भट्टराई, पराजुली र धराबासीले पनि आफूहरुको लेखनशैली र प्रस्तुतिबारे पनि आआफ्ना धारणा राखे।

फेस्टिभलको छैटौं सेसन थियो, ‘फूलको आँखा’ । यो सेसनमा पत्रकार दिलभूषण पाठकले गायिका आनी छोइङ डोल्मासँग अन्तरसंवाद गरे । उक्त अवसरमा पाठकले आनीसँग जीवन र जगत्लाई हेर्ने सकारात्मक दृष्टिकोणबारे रोचक संवाद गरे । साथै सकारात्मकताबाटै जीवन जित्न सकिनेमा आनीले जोड दिइन्।

तेस्रो दिनको अन्तिम सेसन ‘बितेका कुरा’ शीर्षकममा दीप श्रेष्ठ र वसन्त थापा रसिक मुडमा बहसिए । गायक श्रेष्ठ र लेखक थापाले बितेको समयका संगीतहरु समय बिते पनि संगीत बित्दैन भन्ने विषयमा आधारित रहेर अन्तरसंवाद गरे । साथै आआफ्ना विगतलाई रोचक किसिमले प्रस्तुत गरे।





Comments

comments

26206