त्रिमूर्ति निकेतनमा मनाईयो लेखनाथ जयन्ती

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, त्रिमूर्ति निकेतनको आयोजनामा आइतवार कविशिरोमणि लेखनाथ पौडयालको १३५ औँ जयन्ती मनाइएको छ।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालिक माल्यार्पण गर्नुभयो।

सोही अवसरमा नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरिएको थियो।

कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुली, त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले मन्तव्यको क्रममा त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हो भन्नुभयो ।

कार्यक्रममा कविहरू भरतराज पीडित, ललिता दोषी र भगवती बस्नेतले कविता वाचन गर्नुभएको थियो।

कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो।


लेखनाथ पौडयालको सङ्क्षिप्त परिचय

लेखनाथ पौडयालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो ।

२००८ साल असार २९ गते पौडयाललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पद्वी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो ।

लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको पद्वीले सम्मान गरिएको थियो ।

२०११ सालमा पौडयालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो । गोपाल पाण्डे असीमको अग्रसरतामा देवकोटा र सम समेत भएर पौडयाललाई रथारोहण गराइएको थियो ।

पौडयालका दुई दर्जन जति कृति प्रकाशनमा आए । पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो ।

२०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको देहावसान भएको थियो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन





Comments

comments

26297