मन्त्रीले किने डेढ करोडबढीको विलाशी गाडी

काठमाडौं, १८ कार्तिक। स्वच्छ छविका किफायती मानिने प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले पनि राज्यको ढुकुटीबाट फजुल खर्च गर्न थालेको छ। राज्यको ढुकुटीको जिम्मा लिएका अर्थमन्त्री रामशरण महतले नै फजुल खर्चको सुरुआत गरेको जानकारी उच्च सरकारी अधिकारीले दिएका छन्। ती अधिकारीका अनुसार महतले हालै सबभन्दा आधनिक मोडेलको महँगो र विलाशी गाडी टोयोटा प्राडो जिप खरिद गरेर चढ्न थालेका छन्।

अर्थमन्त्री महतले यसअघि पनि महँगो र विलाशी टोयोटा प्राडो जिप चढ्दै आएका थिए। महतले दुवै विलाशी गाडी आफैंले चढ्न थालेको अर्थमन्त्रालय स्रोतले उल्लेख गरेको छ। मन्त्रीलाई दिइने अर्को कालो कारसमेत महतले प्रयोग गर्दै आएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ। सार्वजनिक पदाधिकारीको सुविधासम्बन्धी कानुनमा मन्त्रीलाई दुइटामात्र गाडी दिने व्यवस्था भए पनि महतले तीनवटा, त्यसमा पनि विलाशी गाडी प्रयोग गरेका हुन्।

अर्थमन्त्रालयले आफ्ना मन्त्रीका लागि भन्सार र करबाहेक नै १ करोड ५३ लाख ६२ हजार ३ सय ८९ रुपैयाँमा टोयोटा प्राडो जिप खरिद गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफ्नो बेवासाइटमा सोमबार अर्थमन्त्रालयले उक्त मूल्यमा टोयोटाको नेपालस्थित आधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट नेपाल प्रालिबाट टोयोटा प्राडो जिप खरिद गरेको बिल राखेको छ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा सरकारको प्रशासनिक खर्च घटाउन मन्त्रीले ३० लाख रुपैयाँभन्दा बढीको गाडी खरिद गर्न नपाउने सूशासन कार्ययोजना बनाउनुका साथै त्यससम्बन्धी अध्यादेश जारी गरेको थियो। अध्यादेश संसदबाट अनुमोदन नभएकाले खारेज भइसके पनि प्रशासनिक खर्च घटाउने वर्तमान सरकारकै घोषित नीतिविपरीत अर्थमन्त्रीले नै महँगो र विलाशी गाडी खरिद गरेका हुन्।

म्यानमारमा केही समयअघि भएको बिमस्टेक सम्मेलनमा प्रधानमन्त्री कोइरालाले समकक्षीहरूभन्दा सबभन्दा साना भ्रमण टोली लगेको र कम खर्चिलो व्यवहार प्रदर्शन गरेकामा उनी देश/विदेशमा प्रशंसित भएका थिए। उक्त सम्मेलनमा जाँदा आफूले पाएको भ्रमण भत्तामध्ये खर्च हुन बाँकी रकम राज्यको ढुकुटीमा फिर्ता गरेपछि कोइरालाले किफायती र इमानदार प्रधानमन्त्रीका रूपमा चर्चा पाएका थिए।

तर, तिनै प्रधानमन्त्रीले पछिल्लो समयमा आएर आफ्नो छविविपरीत फजुल खर्च गर्न सुरु गरेका छन्। कोइरालाले गत विजयादशमीको एकै दिन ९ लाख ३९ हजार ७ सय ८ रुपैयाँ खर्च गरेका छन्। अविवाहित र परिवारमा एक्ला प्रधानमन्त्रीले विजयादशमीका दिन चिया-नास्तामा मात्र त्यति ठूलो रकम खर्च गरेका हुन्। चियानास्ताको आपूर्ति अनमोल क्याटरिङ सर्भिसले गरेको विवरण प्रधानमन्त्री कार्यालयले सोमबार आफ्नो वेबसाइटमा राखेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा विजयादशमीको दिन भएको कार्यक्रममा राज्यको ढुकुटीबाट चियानास्ताका नाममा उक्त रकम खर्च भएको वेबसाइटमा उल्लेख छ।





Comments

comments

2630