मन्त्री–सचिव कुटाकुट

काठमडौं। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाबीच कुटाकुट भएको छ।

गरिबी निवारणका लागि उद्यम कार्यक्रमको फाइल लिएर मन्त्रीको कार्यकक्षमा गएका सचिव र मन्त्रीबीच आइतबार झगडा भएको हो ।सचिव झाले आफूलाई मन्त्री यादवले कुटेको बताएका छन् । मन्त्रीले भनाभन मात्रै भएको दाबी गरेका छन्।

आफूले सिफारिस गरेको एनजीओलाई कार्यक्रम नपारिदिएको झोंकमा मन्त्री यादवले आफ्नै कार्यकक्षमा कुटेको सचिवको दाबी छ । आफ्नो मन्त्रालयका मन्त्री रामनरेश राय यादवले अह्राएपछि फाइल बोकेर जाँदा सभामुख सरोज यादवकै अगाडि मन्त्रीले कुटेको उनले बताए । ‘फाइल दिँदा उहाँले हात समाएर झापड हिर्काउनुभयो,’ झाले भने, ‘सुरक्षाकर्मी लगाएर कार्यकक्षबाट बाहिर निकाल्नुभयो ।’ मन्त्री यादवले आफ्नो कार्यकक्षमा सचिवले अभद्र व्यवहार देखाएकाले भनाभन भएको बताए । विवाद चर्किएपछि मन्त्रीको कार्यकक्षमा रहेका अरू व्यक्तिले सचिव झालाई बाहिर निकालेका थिए।

सभामुख सरोज यादवले सचिव झा आउँदा आफू मन्त्रीकै कार्यकक्षमा भए पनि मोबाइलमा व्यस्त रहेकाले कसले कुटेको हो नदेखेको बताए । ‘सचिव आउँदा म मन्त्रीसँग कुरा गरिरहेको थिएँ, उहाँहरू कुराकानी गर्न थालेपछि मोबाइलमा व्यस्त भएँ,’ उनले भने, ‘दुवैबीच हात हालाहाल भएको मात्रै देखें । कसले कसलाई कुट्यो थाहा भएन ।’ बाहिर निकालेपछि सचिव झा मन्त्रीलाई कारबाही माग गर्दै मूलढोकामा धर्ना बसे । सचिव र कर्मचारी ढोका थुनेर धर्ना बसेपछि मन्त्री र सभामुख कार्यकक्षमै अडकिएका थिए । त्यसपछि प्रहरीले सचिव झालाई पक्राउ गरेको थियो। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

26511