शंकास्पद भिसामा नेपाल छिरेका दुई नाइजेरियाली पक्राउ

काठमाडौं, शंकास्पद प्रवेशाज्ञा (भिसा) वाहक दुई नाइजेरियाली पक्राउ परेका छन्। नाइजेरियाको राहदानीमा भएको नेपालको भिसा शंकास्पद देखिएपछि नेपाल प्रवेश गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई समातेका हुन्।

नाइजेरियाका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँदैनन्। नाइजेरियाली नागरिक नेपाल आउन नजिकको मुलुकमा रहेको नेपाली दूतावास वा कन्सुलेट कार्यालयबाट भिसा लिनुपर्छ। त्रिवि अध्यागमन कार्यालयले गत शुक्रबार र शनिबार नाइजेरियाली नागरिक ओनुओरा नेवेचुकवा र अजम एन्थोनीलााई नियन्त्रणमा लिएको हो। नाइजेरियाका नागरिक विगतमा लागुऔषध कारोबारलगायत आपराधिक गतिविधिमा समेत संलग्न भएको पाइएको थियो।

केही दिनअघि थाइल्यान्डको अध्यागमनले नेपालको नक्कली भिसा प्रयोग गरेका तीन टर्किस नागरिकलाई फिर्ता गरेको थियो। भारतबाट स्थलमार्ग हुँदै नेपाल आएका एकै परिवारका उनीहरू बैंकक जाने क्रममा त्यहाँको विमानस्थलबाटै फिर्ता भएका थिए। उनीहरूले प्रयोग गरेको ग्रिसको राहदानीमा नेपालको नक्कली भिसा स्टिकर थियो। उनीहरूले समेत आफूहरूले भारतमा नेपाली भिसा लिएको बताएका थिए। अध्यागमन विभागको हिरासतमा रहेका उनीहरूमाथि अनुसन्धान भइरहेको खबर अन्नपूर्ण पोष्टमा समाचार छ।





Comments

comments

Leave a Reply

26515