डा. केसीको स्वास्थ्य कमजोर भएको छ, तर गम्भीर छैन: त्रिवि शिक्षण अस्पताल

काठमाडौं, शुक्रबार बिहान इलामबाट काठमाडौं ल्याइएका डा. गोविन्द केसीको स्वास्थ्य खस्किए पनि गम्भीर नरहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

अस्पताल निर्देशक प्रा.डा. प्रेम खड्काले केसीको अवस्था बाहिर आएजस्तो गम्भीर नभएको बताए । तर, स्वास्थ्य कमजोर भएको उनको भनाइ छ।

‘स्वास्थ्य जाँच गर्दा उहाँको अवस्था गम्भीर देखिएन,’ स्वास्थ्य रिपोर्टपछि डा. खड्काले भने, ‘शरीरमा रगतको मात्रा कमी छ । उहाँलाई चिकित्सकको निगरानीमा राख्नुपर्ने देखिन्छ।’

इलाम अस्पतालमा अनशनमा रहेका केसीको अवस्था गम्भीर भएको भन्दै रातारात नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनलाई आइसियूमा राखेर उपचार गरिएको छ । केसीको उपचारका लागि सातजना चिकित्सकको मेडिकल टिम गठन गरिएको छ । शिक्षण अस्पतालका आइसियू इन्चार्ज डा. सुवास आचार्यको नेतृत्वमा टिम गठन गरिएको हो।

अनशनरत डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको भन्दै विवेकशील साझा पार्टीले सबैलाई एकजुट हुन आह्वान गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले उनको मागमा एकजुट हुन सबैलाई आग्रह गरेका हुन् । ‘केसीको जीवनरक्षाका लागि उनका मागको यथाशीघ्र र यथोचित ढंगले सम्बोधन गर्न सरकार र संसद्लाई हाम्रो पार्टी जोडदार आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सामाजिक सेवामा मूलतः राज्यको दायित्व हुनुपर्ने विवेकशील साझा पार्टीले जनाएको छ । डा. केसीको सत्याग्रहको मूल मर्म पनि यही भएकाले आफूहरूको साथ रहेको विवेकशील साझाले जनाउँदै आएको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ।





Comments

comments

Leave a Reply

26565