फिक्कल कला शिविर सम्पन्न

फिक्कल (सिन्धुली), ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृङ्खलाको ‘पानोरमा भ्यु’ देख्न सकिने सिन्धुलीको फिक्कल टाकुराको प्रवर्द्धन गरी पर्यटक भित्र्याउने उद्देश्यसहित ‘फिक्कल कला शिविर–२०७५’ हालै सम्पन्न भएको छ।

फिक्कल गाउँपालिकाद्वारा आयोजित कला शिविरमा कलाकारले गाउँगाउँ घुम्दै सुनकोशी जलयात्रा, जनजीवन, भूदृश्य र फिक्कलबाट देखिने हिमालय शृङ्खलाका २३ चित्रकला तयार पार्नुभएको थियो।

चित्रकलामा हिमाल पछ्याउँदै आएका कलाकार अंशुराम खाइजु फिक्कलको टाकुरा चढेपछि आश्चर्यचकित हुंदै भन्नुभयो–“एकै ठाउँबाट उभिएर यति धेरै हिमाल देखेको थिइनँ।”

शुक्रबार सम्पन्न उक्त छ दिने ‘फिक्कल कला शिविर’ मा छ जना कलाकारको सहभागिता रहेको थियो । फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार, कला शिविरमा अंशुराम खाइजु, मङ्गल प्रजापति, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन र अनिल खड्काको सहभागिता रहेको थियो।

उपाध्यक्ष सुनुवारले फिक्कलको पर्यटकीय विशेषताको खोजी र प्रवद्र्धन गर्ने उद्देश्यसहित कला शिविर आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले फिक्कलको पर्यटन विकासमा प्याराग्लाइडिङ, जलयात्रा, पूर्वदेखि पश्चिमसम्मका हिमालको दृश्यावलोकन, जडीबुटी र कृषिलाई जोड्दै अगाडि बढ्न सकिने सम्भावना रहेको बताउनुभयो।

पर्यटन प्रवर्द्धनमा तस्वीर र चित्रकलाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उपाध्यक्ष सुनुवारले भन्नुभयो–“कला शिविरमा तयार भएका चित्रकला र तस्बिरलाई राजधानीसहित देश विदेशमा लगेर प्रदर्शन गर्छौं । फिक्कलको प्रवर्द्धनमा यसले पक्कै सहयोग पुग्ने छ।”

फिक्कलको पर्यटन प्रवर्द्धनका लागि सात तले ‘भ्यू टावर’ समेत बन्ने क्रममा छ । २०६८ सालबाट निर्माण थालनी भएको टावरलाई गाउँपालिकाकाले दुई वर्षगरी ७० लाख रुपियाँ विनियोजन गरिसकेको छ।

विश्व प्रसिद्ध फिक्कल विकास संस्थाका अध्यक्ष प्रेम थापाले भन्नुभयो–“अबको छ महिनामा फिक्कलमा सात तले टावर निर्माण सम्पन्न हुन्छ । त्यसपछि हिमाल अझ राम्रोसँग देख्न सकिन्छ।”

कला शिविरमा तयार पारिएका चित्रकलालाई प्रथम फिक्कल महोत्सव, २०७५ मा प्रदर्शनीका लागि राखिएको छ । महोत्सव यही माघ ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सव संयोजकसमेत रहनुभएका उपाध्यक्ष सुनुवारका अनुसार, समुद्री सतहबाट दुई हजार ३६८ मिटर उचाईमा रहेको फिक्कल टाकुराबाट सगरमाथालगायत हिमशृङ्खलालाई देख्न सकिन्छ।

फिक्कल गाउँपालिका सदस्य चेतबहादुर विश्वकर्माका अनुसार, कला शिविरमा तयार फिक्कल झल्कने चित्रकला महोत्सवमा आकर्षण बनिरहेको छ।

सगरमाथालाई आमनेसामने देख्न सकिने फिक्कलको पर्यटन प्रवद्र्धनका लागि कला शिविरको आयोजना गरिएको जानकारी दिँदै उपाध्यक्ष सुनुवारले भन्नुभयो–“आकाश खुलेको बेला तराईका भूभाग स्पष्ट देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको लोन्ली भ्यु गज्जबको देखिन्छ।”

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

26621