चरिकोट अस्पतालमा लापरबाही: पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र शिशुको शव

प्रस्तावित चरिकोट अस्पतालका चिकित्सकले पोस्टमार्टम गरी पठाएको शवसँगै अर्को एक शिशुको शव पनि पठाएको फेला परेको छ।

चिकित्सकले पोस्टमार्टम गरी पठाएको भीमेश्वर नगरपालिका–१ क्षमावतीका ४४ वर्षीय कालुमान थामीको शवसँगै अर्का एक शिशुुको शव पनि फेला परेको हो । तीन दिनअघि भिरबाट लडेर ज्यान गुमाएका कालुमानकोे शव प्रस्तावित चरिकोट अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कारका लागि घाट लगिएको थियो । तर, थामीको शवसँगै नवजात शिशुुको शव पनि भेटिएको मलामी गएका स्थानीयहरूले बताएका छन्।

दाहसंस्कारका लागि घाटमा पुगेर शव राखिएको पोको खोल्दा नवजात शिशुको शव फेला परेपछि प्रहरीलाई खबर गरेको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष वीरबहादुर थामीले बताए । वडाध्यक्ष थामीले चरिकोट अस्पतालको लापरबाहीका कारण कालुमानको शवसँगै नवजात शिशुको शव पनि प्याकिङ भएको बताए।

कालुमानको शव चितामा राख्ने क्रममा मासुको डल्लो देखिएको र खोतलेर हेर्दा नवजात शिशुको शव फेला परेको उनले बताए । स्थानीयको खबरपछि आर्यघाटमा पुगेको प्रहरीले शिशुको शव चरिकोट अस्पताललाई नै फिर्ता गरेको थियो । शिशुको शवलाई चिरफारसमेत गरिएकाले घटना थप शंकास्पद भएको स्थानीयले आशंका गरेका छन्।

पोस्टमार्टम सँगै भएकाले स्थानीयले लगेछन् अस्पताल
प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) की प्रमुख डा. क्षमता घिमिरेले कालुमान र नवजात शिशुको शवको पोस्टमार्टम सँगसँगै गरिएको बताइन् । पोस्टमार्टमपछि छुट्टाछुट्टै प्याकिङ गरे पनि शिशुको शव पनि कालुमानको शवसँगै स्थानीयले लगेको उनले दाबी गरिन् ।

डा. घिमिरेका अनुसार गर्भभित्रै मरेको शिशुको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको थियो । शिशुका आफन्तले शवको डिस्पोज गरिदिन अस्पताललाई जिम्मा लगाएको र डिस्पोज गर्ने तयारी भइरहेका वेला स्थानीयहरूले लगेको डा. घिमिरेको भनाइ छ । कालुमानका आफन्तले भने शव पोस्टमार्टम भएसँगै सबैलाई चिकित्सकले बाहिर निकालेका र त्यसपछि शिशुको शव थामीकै शव राख्ने झोलामा प्याक गरिदिएको आरोप लगाएका छन्। नयाँपत्रिकामा खबर छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26628