अभिनयकै लागि जन्मिएका बीएस राणाको निधन

अभिनेता बीएस राणाको ७८ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उपचारका क्रममा काठमाडौंको टिचिङ अस्पतालमा राणाको निधन भएको हो। केही समयदेखि अस्वस्थ रहँदै आएका राणाको मुटुमा समस्या देखिएको थियो।

उनका श्रीमती र दुई छोरी रहेका छन्।

२०४१ सालमा तुलसी घिमिरेको निर्देशन र विश्व बस्नेतको निर्माणमा बनेको फिल्म अन्यायबाट फिल्म क्षेत्रमा पाइला राखेका उनले ५ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका छन् भने त्यसपछि कोसेली, चिनो, दुई थोपा आँशु, दक्षिणा, अपराध, वसन्ती, दर्पण छायाँ–२, सेतो बाघ, नेपाली बाबु, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, करोडपति, हवल्दार सुन्तली, आई एम सरी, कसले चो¥यो मेरो मन, दासढुंगा, दाग, फेसबुक, स्कुललगायत फिल्ममा अभिनय गरेका थिए। फिल्मसँगै उनले धेरै सिरियलमा अभिनय गरेका थिए। नेपाल समाचारपत्रमा रश्मी थापाले खबर लेखेका छन्।

नेपालमा आउनुअघि भारतमा बसोबास गर्ने उनी कलकत्ताको चर्चित रंगकर्मी रहेको अभिनेता, निर्माता तथा निर्देशक विश्व बस्नेतले बताए। ‘मेरो निर्माणमा बनेको फिल्म अन्याय उहाँको पहिलो फिल्म हो। कलकत्तामा उहाँ सेक्सपियरका अंग्रेजी नाटकहरूमा अभिनय गरेर चर्चित भइसक्नुभएको थियो’ –उनले भने। अभिनेता कृष्ण मल्लले पछिल्लो समय राणाको आर्थिक अवस्था कमजोर भएको र अन्तिम संस्कारका लागि पनि पशुपतिमा विभिन्न संस्था तथा व्यक्तिबाट सहयोग उठाइएको जानकारी गराए। ‘चलचित्र विकास बोर्डले १५ हजार रुपियाँ सहयोग गरेको छ भने अरू सहयोग उठिरहेको छ। ऐस आरामले जीवन बिताइरहनुभएका उहाँको अवस्था पछिल्लो समय भने आर्थिकरूपमा कमजोर देखिएको छ। एक छोराको निधनपश्चात उहाँमा धेरै परिवर्तन आएको थियो। उहाँलाई धनी व्यक्तिको भूमिकामा निकै सुहाउँथ्यो। दुई महिनाअघि मात्र पनि फिल्ममा अभिनय गरिरहनुभएको थियो। उहाँको निधन हुँदा मर्माहित छौं’ –मल्लले भने। राणाको शुक्रबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

श्री ३ पद्म शमशेरका नाति रहेका उनी काठमाडौंमा नरेन्द्र शमशेर जबरा र रानी राजकुमारी देवीका सन्तानका रूपमा जन्मिएका थिए। नेपालमा जन्मिए पनि उनले आफ्नो अध्ययन भारतमा पूरा गरेका थिए। दार्जिलिङको नर्थ प्वाइन्टस्थित सेन्ट जोसेफ कलेजबाट माध्यमिक शिक्षा पूरा गरेका उनले कलकत्ताको कलकत्ता विश्वविद्यालयअन्तर्गतको सेन्ट पोच कलेजबाट अंग्रेजीमा स्नातकोत्तर गरेका थिए। बीएसले विद्यालयदेखि नै रंगमञ्चीय नाटकमा अभिनय गर्न थालेका थिए। उनले १४ वर्षको उमेरमा भारतीय नाटक म्याजिसियन एन्ड द किङमा मन्त्रीको भूमिका गरेर अभिनय यात्रा शुरू गरेका थिए। दार्जिलिङमा क्याथोलिक पादरीले चलाएको कलेज भएकाले बीएसको अंग्रेजी पढाइ र बोलाइ दुवै तगडा थियो। त्यही कारणले पनि उनले जुलियस सिजर, आर्सेनिक एन्ड ओल्ड लेस, पिराट्स अफ पेन्जान्स, भेलिएन्ट, ≈याम्लेट, इन्टर ब फ्रि मेन, घोस्ट, ट्वीलेल्भ नाइटलगायतका विभिन्न अंग्रेजी नाटकमा अभिनय गर्ने मौका पाएका थिए। स्कुल र कलेजका नाटकमा प्रमुख भूमिकामा अभिनय गर्दा गर्दै उनको नाम यति प्रख्यात भएको थियो कि हलिउडका फिल्म निर्देशक सर डेभिड लिनले बैंग्लोरमा प्यासेज टु इन्डिया नामको फिल्ममा काम गर्ने अफर गरेका थिए। हठी स्वभावका उनले त्यसमा नोकरको भूमिका गर्न अस्वीकार गरिदिएका थिए। उनको ठाउँमा उनकै साथी आर्ट मल्लिकले अभिनय गरेका थिए। मल्लिकले कुख्यात अपराधी चाल्र्स शोभराजको कथामा आधारित शोभराजको भूमिकामा अभिनय गरेका थिए।

मुम्बईको बसाइपछि काठमाडौंमा गार्मेन्ट चलाइरहेको आफ्नो परिवारलाई सहयोग गर्न २०४५ सालतिर नेपाल फर्किएका बीएसलाई विश्व बस्नेतले अन्यायमा खेल्ने प्रस्ताव राखेका थिए। तुलसी घिमिरेको निर्देशनमा बनेको उक्त चलचित्रको मुख्य भूमिकामा विश्व बस्नेत र मिरा माधुरी थिए भने राणाले डीआईजीको भूमिकामा अभिनय गरेका थिए। अन्यायमा अभिनय गरेको दुई वर्षपछि उनलाई तुलसीकै निर्देशनमा बनेको कोसेलीमा काम गर्ने प्रस्ताव आयो। अन्यायमा दृश्य नपुगेर रिसाइरहेका बीएसलाई तुलसीले पहिल्यै नै फिल्ममा एक मात्र दृश्यमा अभिनय गर्नुपर्ने कुरा सुनाएछन्। ‘एक मात्र दृश्यमा तपाईंले अभिनय गर्नुपर्नेछ। मनोवैज्ञानिकको भूमिका रहेको त्यो दृश्य राणासाहेबबाहेक कसैले पनि अभिनय गर्न सक्दैन।’ –तुलसीले भनेपछि बीएसले त्यो रोल स्वीकार गरेका थिए। उनले तुलसीकै फिल्म चिनोमा पनि ट्रेकिङ कम्पनीका मालिकको भूमिकामा अभिनय गरे भने तुलसीकै बनेका दक्षिणा, दुई थोपा आ”शु, माया त माया हो, देशलगायतका फिल्ममा चरित्र भूमिकामा अभिनय गरेका थिए।

‘म अभिनयकै लागि जन्मिएको हुँु’, बीएस भन्ने गर्थे– ‘त्यसकारण मेरो हरेक पल अभिनय गर्नमै बित्छ।’ अभिनयबाहेक यी अभिनेता राजधानीका लिटिल एन्जल्स, एस कलेज अफ मेनेजमेन्ट र प्रिमियम कलेजमा पनि अंग्रेजी विषय प्रँध्यापन गर्थे।





Comments

comments

26750