फोरमका अध्यक्षलाई कालोमोसो

राजविराज, २० कात्तिक। मधेसी जनअधिकार फोरम नेपालका सप्तरी अध्यक्ष दिनेशकुमार यादवलाई बुधवार राजविराजस्थित पार्टी कार्यालयमै कार्यकर्ताहरुले कालोमोसो दल्दै दुर्व्यवहार गरेका छन्। उक्त समूहले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै कागजातहरुसमेत जलाइदिएको छ।

अध्यक्ष यादवले एकलौटी रुपमा पार्टी चलाउन खोजेको र सप्तरीका ६ वटै क्षेत्रीय समिति तथा विभिन्न भ्रातृ संगठनहरु विघटन गरेको भन्दै आक्रोशित युवा कार्यकर्ताले कालोमोसो दल्नुका साथै हातपात गरेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

सप्तरी कार्यसमितिका उपाध्यक्ष रहेका यादवलाई केन्द्रीय कार्यसमितिले जिल्ला अध्यक्षको जिम्मेवारी दिएदेखि नै विवाद बढ्दै गएको पार्टी स्रोतले बताएको छ।

पार्टीका सप्तरी सचिव उमेश यादवले बुधवार विज्ञप्तिमार्फत पार्टी कार्यालयमा आक्रमणसँगै अध्यक्षमाथि दुर्व्यवहार भएको जनाएका छन्। ‘जिल्लास्थित विभिन्न मधेसवादी दलहरुको सहभागितामा गठन भएको संघीय गणतान्त्रिक मोर्चाको बैठक बोलाएको थियो’, उनले विज्ञप्तीमा भनेका छन्, ‘सोही बखत युवा तथा विद्यार्थीहरुको समूह पार्टी कार्यालय प्रवेश गरी आगजनी र तोडफोड गर्‍यो, उक्त क्रममा पार्टीका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको छ।’

यता आन्दोलित समूहले सप्तरी अध्यक्ष यादवमाथि कारबाही हुनुपर्ने, जिल्ला कार्यसमितिले विभिन्न भ्रातृ संगठनलाई गरेको विघटनको निर्णय फिर्ता हुनुपर्ने, सर्वसम्मतिले अधिवेशन गरी नयाँ कार्यसमिति चयन हुनुपर्ने माग अघि सारेका छन्।





Comments

comments

2692