जसलाई फेसबुकले मृत घोषण गरिदियो

गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजें, चलेन। फेरि लगइन गर्न खोज्छु, चल्दैन। जति गर्दा पनि चल्दैन। मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ। अफिस जान हतार थियो। निस्किएँ। अफिसमा पनि फेसबुक चलेन।

त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढें। मेरो होस झन्डै गायब भयो। त्यसमा लेखिएको थियो– ‘दिस एकान्ट इज इन अ स्पेसल मेमोरिअलाइज्ड स्टेट।’ अर्थात् ‘यो एकाउन्ट विशेष रूपमा स्मरणीय छ।’

अनि, फेसबुकको हेल्प सेन्टरमा गएर यसको खास अर्थ खोजें। त्यहाँ प्रस्टै लेखिएको थियो, ‘मेमोराइज्ड अकाउन्ट कुनै पनि दिवंगत व्यक्तिलाई फेसबुकमा सम्झने र शोक व्यक्त गर्ने तरिका हो।’

अब भन्नुहोस्– मेरो अवस्था के भयो होला ?

म असिनपसिन भएँ। छेउमा साथी रामकृष्ण अधिकारी थिए। उनको फेसबुकबाट मेरो प्रोफाइल हेर्न भनें। मेरो प्रोफाइल फोटोमाथि नै लेखिएको रहेछ– ‘रिमेम्मरिङ नरेन्द्र साउद।’ त्यति मात्र होइन, थप लेखिएको थियो, ‘वि होप पिपुल हु लभ नरेन्द्र विल फाइन्ड कम्फर्ट इन भिजिटिङ हिज प्रोफाइल टु रिमेम्बर एन्ड सेलिब्रेट हिज लाइफ।’ अर्थात्, नरेन्द्रलाई माया गर्नेहरूले उहाँको प्रोफाइलबाट सम्झन र शोक व्यक्त गर्न सक्नुहुनेछ।’

यस क्षण कतिले मेरो प्रोफाइल हेरे होलान् ? धन्न कसैले ‘हार्दिक श्रद्धाञ्जली’ लेखिसकेका थिएनन्।

एउटै आशा जाग्यो– कसैले मेरो एकाउन्ट ‘ह्याक’ गरेर यस्तो बदमासी पो गर्‍यो कि ? तर, नोटिस आइकन फेसबुककै तर्फबाट थियो। थप बुझ्न हेल्प सेन्टरमा भिजिट गर्न भनिएको थियो। त्यसले ह्याक भएको झिनो आशा पनि सकिदियो।

मित्र रामकृष्णले नेकपा अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको फेसबुक खोले। ठ्याक्कै उस्तै रहेछ।

मैले आफैंलाई जताततै छामें। होइन, ठीकै छुजस्तो लाग्यो। जिउँदै पाएँ। मनले भने त्यो मानिरहेको थिएन।

एकाएक अफिसका साथीहरूबीच हल्लीखल्ली भयो। केही साथीले रमाइलो गर्न खोजे। तर, मेरो मन बेचैन थियो। मैले अन्नपूर्ण अनलाइनका साथी रविराज बराल र आईटीका विवेक देवकोटाजीको सहारामा मेरो एकाउन्ट एक्टिभ गर्न खोजें। सफल भइनँ।

उनीहरूकै सहयोगमा फेसबुकको हेल्प लाइनमा गयौं। ‘तँ ज्यूँदो रहेको प्रमाणित गर्न सरकारी कागजात सहितको सेल्फी फोटो पठा’ भन्ने सूचना थियो। ज्यूँदो मान्छेलाई मृतक घोषणा गर्ने अनि जिउँदो भएको प्रमाण माग्ने ? त्यो अधिकार फेसबुकलाई कसले दियो ? के फेसबुकलाई मान्छे मार्ने र जन्माउने अधिकार छ ? रिस पनि उठ्यो, चिन्ता पनि लाग्यो।

अफिसमा कामै गर्न नसकी घर फर्कें। घरमा पनि बेचैन थिएँ। पटक–पटक फेसबुक ‘एक्टिभ’ गर्न खोज्थें, अघिकै सूचना थियो। मैले साथीहरूको सहारामा ‘म ज्यूँदै छु’ भनेर फेसबुकलाई सेल्फी पठाएको थिएँ। तर, फेसबुकले त्यसलाई नमानेको र सरकारी कागजात सहितको सेल्फी पठा भन्ने अर्को आदेश सहितको इमेल लेखेछ। मैले संसद् सचिवालयद्वारा वितरित प्रेस कार्ड बोकेको सेल्फी सहितको फोटो राति नै पठाएँ। फेसबुकले त्यसपछि कुनै रेस्पोन्स गरेन।

रातभरि निद्रै लागेन। सच्चियो कि भन्दै छिनछिनमा फेसबुक हेरिरहें। अहँ, सच्चिएन। आइतबार बिहान त खुल्छ कि भनी लगइन गर्न खोजें। उही सूचना भन्छ। फेरि सचिवालयको प्रेस पास सहितको फोटो खिचें। दिउँसो दोस्रोपटक पठाएँ। फेसबुकले यो लेखुन्जेल (आइतबार राति १० बजे) सम्म न कुनै उत्तर पठाएको छ, न सच्याएकै छ।

मैले यो खबर परिवारका सदस्यलाई सुनाउनै सकेको छैन। आफू त जसोतसो थामिएकै छु, अरूको हालत के होला ? अझ म घरमा नभएका बेला मेरी बूढीआमा, प्यारी श्रीमती वा स्नेही छोरीमध्ये कसैले देखाएका भए हालत के हुन्थ्यो होला ?

कम्तीमा अहिले त फेसबुकको सूचनाभन्दा ठूलो प्रमाण म सामुन्ने जिउँदो खडा छु। गाह्रै भए पनि सहन सक्लान्।

शनिबारै मलाई यो लेख्न मन थियो। तर, आँटै आएन, सकिनँ। पूरापूर दुई दिन नसच्चिएपछि आइतबार लेख्न बसें। फेसबुक, लापरवाहीको कति पराकाष्ठा हो यो ?

फेसबुकलाई नै भनेर के होला र, मेरा आफन्त र शुभचिन्तकलाई चाहिँ यही लेखमार्फत जाहेर गर्न चाहन्छु, म जिउँदै छु। जिउँदो नरेन्द्रले आफैं लेखेको हो यो लेख।

जे–जतिले यसअघि मेरो प्रोफाइल हेरेर मनमनै ‘ श्रद्धाञ्जली’ दिनुभयो, कृपया फिर्ता लिइदिनुहोला। किनकि, म जिउँदै छु।

र, तपाईंहरूले पनि साथ दिएर बोलिदिनुहोस्– यत्रो अत्याचारको फेसबुकले के क्षतिपूर्ति दिन्छ ? दिनुपर्छ कि पर्दैन ? नेरन्द्र साउदले अन्नपूर्णपोस्टमा लेखेका छन्।





Comments

comments

Trending Now : काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउने सम्झौता हुने
26963