काठमाडौं, ७ फागुन । भारतशासीत कास्मिर क्षेत्रमा अर्ध सैनिक बलको एउटा सवारीमा आत्मघाती विस्फोट गराई ४२ जनाको ज्यान लिने आतंकवादी भनिएका मौलाना मसुद अजहरको नेपाल कनेक्शन बारे केही रोचक विवरणहरू खुलेका छन्।

उक्त हमलाविरुद्ध भारत सरकारले पाकिस्तानलाई दोषमात्र दिएको छैन, मसुदको हत्या गर्ने चेतावनी पनि दिएको छ । तिनै मसुदको नेपाल कनेक्शनमा दुईवटा विवरण अघि आएका हुन्।

२० बर्ष अघि र त्यसपछिका केही बर्षहरूमा नेपालमा अन्डरवल्र्ड डन दाउद इब्राहिमको लगानी नेपाली क्यासिनोहरूमा रहेको बताइन्थ्यो । सो क्रममा मसुद र दाउदबीच आर्थिक सम्बन्ध रहेको र आतंकवादका लागि रकम जम्मा पार्न नेपाली क्यासिनोमा लगानी हुने गरेको थियो। जनप्रहार साप्ताहिकले खबर छापेको छ।

यस्तै, भारतीय नक्कली नोटको कारोबारमा पनि मसुदको केही नेपालीसँग कनेक्शन थियो भन्ने अनुमान गरिएको छ । दाउद, मसुद सँगै भारतीय पक्षबाट नेपालमा हत्या गरिएका र वान्टेडमा राखिएका व्यापारीसँग उनीहरूको सम्बन्ध स्थापित थियो । हालसालै भने उक्त सम्बन्धहरू कायम नरहेको बताइन्छ ।

मसुदसँग नेपालको अर्को ठूलो सम्बन्धचाहिँ २० बर्ष अघि त्रिभुवन विमानस्थलबाट अपहरणमा परेको एयर इन्डियासँग डाइरेक्ट रहेको भेटिएको छ ।

सन् १९९९ को २४ डिसेम्बर अर्थात् ९ पुस २०५६ मा अपराह्न काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको उडान नम्बर ८१४ एयरबस भारतीय आकाशमा प्रवेश गर्नासाथ पौने ६ बजे अपहरणमा परेको थियो । उल मुजाहिद्दिनका पाँचजना अपहरणकारीले जहाजलाई लाहोर लैजान खोजेका थिए । अपहरणकर्ताहरूको योजना स्पष्ट थियो– भारतीय कारागारमा थुनामा रहेका मौलाना मसुद अजहरलगायत कुख्यात आतंकवादीहरूको रिहाइ । तर भारत सरकार रनभुल्लमा थियो ।

जानकारहरू भन्छन्,‘इन्धन सकिन लागेको हुँदा अन्ततः जहाज भारतको अमृतसरमा अवतरण भयो । त्यसबेला भारत सरकारले अपहरणकारीविरुद्ध कमान्डो कारबाही गर्न सक्थ्यो ।’
नेपालको बाटो हुँदै पाकिस्तानी आतंकवादीले भारतमा दुर्घटना गराउन सक्ने अनुमानका आधारमा नै भारत सरकारले नेपालको विमानस्थलदेखि सुरक्षा निकायका सबै संयन्त्रमा सूचनाको पहुँच बनाएको बताइन्छ । अन्य मुलुकका तुलनामा नेपालमा त्यहाँका गुप्तचर संस्थाका धेरै भन्दा धेरै अधिकारी खटाइएको पनि बताइन्छ ।

उक्त विमान अपहरण र आतंकवादीको त्यसबेलाको घटनालाई सम्झँदै मानवअधिकारवादी नेता कृष्ण पहाडी लेख्छन्,‘त्यसका लागि पन्जाब प्रहरीको युनिट पनि तम्तयार थियो । एउटा ट्यांकरलाई जहाजअगाडि तेस्र्याएर अवरोध गर्ने काम पनि भएको थियो । ४५ मिनेटपछि अपहरणकारीको जोड बलमा अमृतसरबाट जहाज उड्यो । यही बिन्दुमा भारत सरकार नराम्रोसँग चुक्यो ।’

त्यसबेला भारतको गृहमन्त्री पदमा लालकृष्ण आडवाणी थिए भने प्रधानमन्त्री अटल बिहारी बाजपेयी । पहाडी थप्छन्,‘विमान अपहरण प्रकरणले आडवाणीको व्यक्तित्वमा खिया लागेको देखियो । आखिर किन अमृतसरमा कारबाही गर्नबाट भारत हच्कियो ? त्यसका पछाडि अनेकौं कारण हुन सक्छन्, तर चर्चामा आएको र छापाहरूमा समेत छाएको समाचारअनुसार उक्त अपहृत विमानमा भारतीय दूतावासमा कूटनीतिक आवरणमा काम गरिरहेका भारतीय जासुसी संस्था ‘र’ का काठमाडौंस्थित स्टेसन उपप्रमुख शशी भूषण सिंह तोमर एस तोमरको नाममा यात्रा गरिरहेका थिए, जुन कुरा अपहरणकारीलाई समेत थाहा नभएको बताइन्छ ।’

इन्डियन एयरलाइन्सको जहाज अपहरणको उक्त घटना र सम्झौताले सम्भवतः आतंककारीहरूको मनोबल ह्वात्तै बढेको थियो । जहाजले अमृतसर हवाई अड्डा छोडेपछि महँगो सौदाबाजीको आशंका भारतलाई नभएको होइन तर पनि भारतले अपमानकै मार्ग रोज्यो ।

जहाज अपहरणको निर्देशन मौलाना मसुद संस्थापक रहेको जैस ए महम्मदले गरेको थियो भने कोरियोग्राफी पाकिस्तानी जासुसी संस्था आईएस आईले भन्ने चर्चा चलेको थियो ।
२०५६ पुस ९ गते राति प्रधानमन्त्रीनिवास बालुवाटार चकमन्न थियो। जहाज अपहरण काण्डपछि प्रधानमन्त्री भट्टराईको राजनीतिक अवरोहको सिलसिला प्रारम्भ भयो। प्रधानमन्त्रीका रूपमा फ्रान्स भ्रमण गर्ने भट्टराईको अन्तिम इच्छा पनि पूरा भएन ।

घटनाक्रम यसरी विकसित भयोरगराइयो कि जहाज अपहरणको तीन महिनाभित्रै भट्टराईलाई सत्ताबाट गलहत्याइयो। कतिपयलाई ‘शोकको बेला पनि जोक गर्ने’ भट्टराईको विनोद शैली प्रिय लाग्ला, तर २०५६ चैतमा सत्ताबाट बाहिरिएपछि राजनीतिमा कृष्णप्रसाद भट्टराई नराम्ररी थला परे । यसैगरी सन् १९९९ को उत्तराद्र्धमा भारतमा सम्पन्न लोकसभा निर्वाचनबाट पुनः सत्तारुढ भएका प्रधानमन्त्री अटल विहारी वाजपेयी र उपप्रधानमन्त्री लालकृष्ण आडवाणीले २००४ सम्मको अवधि पूरा गरे पनि त्यसपछि सत्तामा विराजमान हुन पाएनन् ।



.





















Comments

comments