अब हरेक विद्यालयमा नर्स: ‘पाइलट प्रोजेक्ट’का रूपमा २० विद्यालयमा सुरु

यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ ।

‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३ का २० विद्यालयमा नर्स खटाएको खबर नयाँपत्रिकाले छापेको छ।

बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने र उनीहरूलाई स्वास्थ्य समस्या पर्दा उपचार नभएपछि सरकारले सबै सामुदायिक र निजी विद्यालयमा अनिवार्य नर्स राख्ने नीति ल्याएको हो । ‘अहिले १३ जिल्लाका २० विद्यालयमा नर्स राखिएको छ,’ प्रदेश ३ को सामाजिक विकास मन्त्रालयकी पब्लिक हेल्थ नर्स मिलन गैरेले भनिन्, ‘नेपालको इतिहासमै पहिलोपटक सामुदायिक विद्यालयमा यस्तो सेवा सुरु भएको छ ।’

विद्यालयमा नर्सले किशोर–किशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा परामर्श दिने गर्छन् । यस्तै, व्यक्तिगत÷वातावरणीय सफाइ तथा फोहोरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा गर्ने उनीहरूको जिम्मेवारी हुन्छ । स्वास्थ्य जटिल भए थप उपचारका लागि अन्यत्र पठाउनुपरे स्वास्थ्य संस्थासँग समन्वय गरिदिनुपर्छ । नर्सले अखाद्य वस्तु ‘जंक फुड’को प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको दुरुपयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्ने हुन्छ ।

विद्यार्थीका लागि उपयोगी छ : सञ्जु तिम्सिना
विद्यालय नर्स, नारायणी मावि, चितवन
विभिन्न रोगको संक्रमण साथै सिजनल इन्फ्लुएन्जाको समस्या विद्यार्थीमा हुने गरेको छ । अस्पतालमा तत्काल आवश्यक पर्ने इमर्जेन्सी उपचार पनि हामीले दिएका छौँ । खानपानमा पनि सुझाब दिने गरेका छौँ । यस्तै, रजश्वालाका वेला छात्राहरू लजाउने, प्याड प्रयोग गर्न अप्ठ्यारो मान्ने समस्या छ । हामी उनीहरूलाई प्याडको आवश्यकता र यौन स्वास्थ्यबारे सिकाउँछौँ । विद्यार्थी बिरामी भए भरतपुर अस्पतालमा रेफर गर्छौँ । यो विद्यार्थीका लागि निकै उपयोगी छ ।

दाँत र पोषणको समस्या बढी छ : उर्मिला पुडासैनी
विद्यालय नर्स, पद्मकन्या मावि, काठमाडौं
विद्यार्थीमा जंकफुडले सबैभन्दा बढी समस्या निम्त्याएको छ । पोषणको कमी र दाँतको समस्या बढी छ । मैले आफ्नो विद्यालयमा जंकफुडको प्रयोग रोक्ने प्रयास गरेको छु । घरबाटै खानेकुरा ल्याउन प्रेरित गरिरहेकी छु । महिनावारी भएका वेला छात्राहरूलाई सेनेटरी प्याड विद्यालयले दिएको छ ।





Comments

comments

Leave a Reply

27028