गोर्खाभर्ती बन्द हुनुपर्छ भन्नेहरुको सरकारबाट धेरै आशा गर्न नसकिने काँग्रेस नेताको भनाई

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-

लण्डन ,फागुन १९ । पश्चिम लण्डनको ह्यारोमा शनिबार आयोजित एक कार्यक्रममा अवकाश प्राप्त एक पूर्व गोर्खा सैनिक तथा नेपाली कांग्रेस महासमिति सदस्य रबीप्रकाश राईले गोर्खाभर्ती वन्द हुनुपर्छ भन्नेहरुको सरकारबाट धेरै आशा नराख्न आन्दोलनरत गोर्खाहरुलाई आग्रह गरेका छन्।

नेपाली जनसम्पर्क समिति बेलायतद्धारा आयोजित ६९औं प्रजातन्त्र दिवसको अवसरमा बोल्दै पूर्व संविधान सभा सदस्यको उम्मेद्धारसमेत बनेका राईले पूर्व गोर्खालीहरु र नेपाली कांग्रेस पार्टी एक अर्थमा पूरक रहेको इतिहास कोट्याए । उनले विक्रम सम्वत २००७ सालको प्रजातन्त्र प्राप्तिको क्रान्ति गोर्खा सैनिकहरुको प्रत्यक्ष सहभागिता बिना सफल हुने थिएन भन्दै नेपाली कांग्रेस पार्टी बन्न र बनाउनमा पूर्व सैनिकहरु र जनजातिहरुको अहम् भूमिका रहेको बताए।

त्यस्तै गरी नेता राईले वि. स. २००९ सालमा धनमानसिंङ परियार जस्तो गरिब पिछडिएको समुदायको ब्यक्तिलाई पार्टीको महामन्त्री बनाईएको, द्धारिका देवी ठकुरानीलाई दक्षिण एसियामै पहिलो महिला मन्त्री र वि. स. २०१५ सालको मंन्त्रीपरिषदमा ४० प्रतिशत जनजातिहरु रहेको उदाहरणहरु पेश गर्दै नेपाली कांग्रेसलाई असमावेशी र ब्राम्हणहरुको पार्टी भन्नेहरुलाई चुनौति दिए।

उनले कांग्रेस सरकारले नै न्यायलयको स्थापना गरेको, प्रतिकूल अवस्थामा पनि शान्ति प्रकृया, संविधान जारी र संविधान कार्यान्वयन पूरा गर्दै सफलतापूर्वक तीनै तहको निर्वाचन गरेको तर अहिले दुईतिहाईको अनुकूलता हुँदाहुँदै पनि वर्तमान सरकारले केही गर्न नसकिरहेको आलोचना गरेका थिए।

कार्यक्रममा अतिथि वक्ताको रुपमा उपस्थित राईले आफ्नो मन्तब्यको अधिकांश समय पूर्व गोर्खाहरु र तिनका मुद्दाहरुका बारे शाव्दिक भावना पोखेका थिए । उनले सन् १९९० को दशकमा आफ्नो पार्टी नेता शेरबहादुर देउवा प्रधानमन्त्री छँदा नै बेलायतका तत्कालीन प्रधानमन्त्री जोन मेजरसँग गोर्खा आन्दोलनको बारेमा कुटनीतिक वार्ता शुरु गरको दावी गर्दै नेपाली कांग्रेस नै गोर्खाहरुको पनि साँचो पार्टी भएको दावी गरे।

कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका प्रभावशाली वौद्धिक नेता, मोरङ क्षेत्र नं २ सांसद पूर्व सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल थिए।





Comments

comments

27138