बोइङ ७३७ म्याक्स ८ सिरिजको विमान हङकङको आकाशमा उडाउन प्रतिबन्ध

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ मार्च। एक नेपाली चेलीसहित १५७ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनापछि हङकङले त्यही ७३७ म्याक्स ८ सिरिजको विमान हङकङको आकाशमा उड्न अस्थायीरुपमा प्रतिबन्ध लगाएको छ।

हङकङ सिविल एभिएशन विभाग (सीएडी) ले बुधवार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म रोक लगाउने जनाएको छ।

सीएडीका अधिकारीहरूले ७३७ म्याक्स ८ सिरिजको विमान प्रयोग गरेका भारतको स्पाइसजेट र रूसको ग्लोबस एयरलाइन्सलाई सो विमानलाई हङकङमा अस्थायीरुपमा प्रतिबन्ध लगाएकोबारे जानाकारी दिइसकेका छन्।

त्यसै गरी, हङकङ विमानस्थल प्रयोग गर्ने मंगोलियन एयरलाइन्स र गरुडा इन्डोनेशियाले यसअघि नै उनीहरुले उडान बन्द गरिसकेका छन्।

गत आइतवार विहान इथोपियन विमान उडेको ६ मिनेटमै इथियोपियाको बिसोफ्टु सहरनजिकै दुर्घटनाग्रष्त हुंदा नेपाली चेली एकता अधिकारीसहित १५७ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा हङकङका एक नागरिकसमेत थिए।

अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको उत्पादनमै खराबी भएको हुन सक्ने भन्दै अधिकांश मुलुकमा उडान रोक लगाएको छ। गत अक्टोबरमा पनि इन्डोनेसियामा बोइङ ७३७ म्याक्स ८ विमान उडेको केही मिनेटमै दुर्घटना भएको थियो। दुर्घटनामा विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो।





Comments

comments

Leave a Reply

27306