फेसबुक लाइभ गर्दै मस्जिदमा आतंककारी हमला हुँदा ४९ जनाको मृत्यु

न्युजिल्यान्डको क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबार दिउँसो आतंककारी हमला हुँदा ४९ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार झन्डै १ बजेर ४० मिनेटमा डिन्स एभिन्युस्थित अल–नूर मस्जिदमा प्रार्थना गर्न गएकामाथि गोली प्रहार भएको थियो।

त्यसको आधा घन्टापछि अलविन्स आर्डीको लिनवुड मस्जिदमा पनि आक्रमण भयो । घाइते ५० मध्ये २७ को अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री ज्यासिन्दा आर्डेनले यसलाई इतिहासकै कालो दिनको संज्ञा दिएकी छिन् । गोली प्रहार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले अन्यत्र पनि लुकाइराखिएको बम तथा विस्फोटक पदार्थ डिफ्युज गरेको छ ।

फेसबुक लाइभ गर्दै अन्धाधुन्ध गोली प्रहार
अल–नूर मस्जिदमा प्रार्थनाका लागि करिब ३ सय मानिस भेला भएका वेला आक्रमण भएको थियो । त्यसमध्ये ४१ जनाले ज्यान गुमाएका छन् । गोली चलाउने व्यक्तिले फेसबुकमा हमलाको प्रत्यक्ष प्रसारण गरेका थिए । सो भिडियोमा उनले मस्जिदभित्रका महिला, पुरुष र बालबालिकामाथि गोली बर्साएको देखिएको थियो । प्रहरीले उक्त भिडियो नहेर्न आमनागरिकलाई आग्रह गरेको छ । फेसबुकले उक्त भिडियो हटाइने जनाएको छ । आक्रमणकारीले आफूलाई अस्ट्रेलियन नागरिक ब्रेन्टन टारान्ट भएको जनाएका छन् । आक्रमणअघि नै टारान्टले मुस्लिम तथा आप्रवासीविरुद्ध लक्षित ७४ पृष्ठको दस्तावेज उग्रदक्षिणपन्थी च्याट रुममा पोस्ट गरेका थिए ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले टारान्ट आफ्नो देशका नागरिक भएको र अतिवादी दक्षिणपन्थी समूहसँग सम्बन्धित व्यक्ति भएको पुष्टि गरे । यद्यपि न्युजिल्यान्ड प्रहरीले पक्राउ व्यक्तिबारे विवरण सार्वजनिक गरेको छैन । उनलाई शनिबार अदालतमा पेस गरिने जनाइएको छ । आक्रमणको बेला बंगलादेशी क्रिकेट टोली पनि त्यही मस्जिद पुगेको थियो । टोलीका सबै सकुशल रहेको जनाइएको छ। नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

27349