प्रचण्डद्वारा अर्को युद्धको चेतावनी

घर्तीगाउँ (रोल्पा, २६ कार्तिक। सशस्त्र द्वन्द्वका बेला आधार इलाका रहेको रोल्पा आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिविपरीत कांग्रेस र एमालेले जबरजस्ती संविधान ल्याए ‘अर्को युद्ध हुने’ चेतावनी दिएका छन्।

‘रोल्पालीको ताकत लिएर काठमाडौं फर्केपछि सहमतिमा संविधान बनाउन पहल गर्नेछु’, दाहालले भने, ‘सहमतिको प्रयास गर्दा पनि जनताको संविधान ल्याउन नदिन कांगे्रस र एमालेले जबरजस्ती गरे अर्को युद्ध हुन्छ।’ रोल्पाका सहिद परिवार, घाइते, अपांग र कार्यकर्तासँग भेटघाट र सुझाव संकलन गर्दै हिँडेका दाहालले ‘नयाँ युद्ध’ कस्तो खालको हुन्छ भन्ने खुलाएनन्। तर, छापामार र हतियारबद्ध युद्ध भने नहुने स्पष्ट पारे।

‘दसवर्षे युद्धको जस्तो हतियारले सुसज्जित र छापामार शैलीको युद्ध होइन, नयाँ खालको युद्ध गरिन्छ’, दाहालले भने, ‘विगतको जस्तो युद्धको जरुरी पनि छैन। हामीले ठूलै परिवर्तन गरिसकेका छौं। राजतन्त्र गएर गणतन्त्र पनि आइसकेको छ।’ आफू रोल्पा आउँदा काठमाडौंमा केके हुन्छ भनेर नकारात्मक हल्ला फिँजाएर जनता तर्साउने प्रयास भएको पनि उनले बताए।

सहमतिमा संविधान बनाउनुपर्ने सन्देश दिन आफू रोल्पा आएको उनले बताए। उच्चस्तरीय राजनीतिक समिति संयोजकको नाताले संविधान निर्माणका विषयमा बैठक बोलाउँदा कांगेस र एमालेका नेता पहिला आउने भनेर अन्तिममा नआएपछि आफू रोल्पा हिँडेको उनको भनाइ थियो।

‘काठमाडौंमा बसेर उपलब्धि नहुने देखिएपछि रोल्पा आएको हुँ’, दाहालले भने, ‘संविधान बनाउने र अहिलेको जटिल राजनीतिक निकासबारे रोल्पालीले कसरी सोचिरहेका छन् भनेर सुझाव माग्न आएको हुँ।’

माओवादीले २०५२ फागुन १ गते प्रहरीचौकी आक्रमण गरी ‘युद्ध’ घोषणा गरेको होलेरीमा सोमबार आइपुगेका दाहालले मंगलबार बिहानैदेखि सुझाव संकलन र भेटघाट तीव्र बनाएका छन्।

होलेरीमा २०५९ सालमा दोस्रोपटक चौकीमा आक्रमण गरी ६९ प्रहरीलाई अपहरण गरेपछि तत्कालीन शाही नेपाली सेना परिचालन हुँदा लडाकु र सेनाबीच पत्राचार र भेटघाट गरिएको नुवागाउँमा समेत उनी पुगेका थिए।

एमाले नेता वामदेव गौतमसँग ६ बुँदे सम्झौता भएको घर्तीगाउँको लोसेबाङलगायत ६ स्थानमा उनले भेटघाट र सम्बोधन गरेको समाचार अन्नपूर्णपोष्ट छापिएको छ। कार्यकर्ता र नेतासँग भने उनले अलग्गै भेट गरिरहेका छन्।

दाहालले कांगे्रस र एमालले २०४८ सालको संविधान उल्ट्याउन खोजेको आरोप पनि लगाए। ‘बाह्रबुँदे सहमति, शान्ति सम्झौता र विभिन्न समुदायसँग गरेका सहमतिको खिलाप हुनेगरी कांगे्रस र एमालेले सात प्रदेशको हौवा दिएका छन्’, उनले भने, ‘यसले २०४८ सालको संविधान उल्ट्याउने षड्यन्त्र सुरु भएको पुष्टि गरेको छ।’

विगतमा भएका सबै सहमति र सम्झौताअनुसार संविधान बनाउन सरकारमा रहेका दलहरूलाई सम्झना दिलाउन पनि आफू रोल्पा आएको उनले बताए। उनले भने, ‘कसैलाई धम्की दिन आएको होइन।’ द्वन्द्वकालमा धेरै समय रोल्पा र रुकुममा बसेकाले माया लागेर आएको उनको भनाइ थियो।

विगतमा लडाइँ भएका, दस्तावेज लेखेका, एमाले नेता गौतमसँग ६ बुँदे सम्झौता भएका गाउँतिर इसारा गर्दै उनी भावुक भएका थिए। सहिद परिवारले आफन्तको रगत खेर जाने हो कि भन्ने चिन्ता दाहालसमक्ष व्यक्त गरेका थिए।

होलेरीमा सहिद परिवारका रामबहादुर घर्तीले परिवर्तनलाई संस्थागत गर्ने संविधान नबन्दा रोल्पालीको बलिदान र रगत खेर जाने चिन्ता व्यक्त गरे। दाहालले जस्तोसुकै संघर्ष गरेर भए पनि सहिदको रगत खेर जान नदिने आश्वासन दिए।

दाहाल द्वन्द्वकालमा लामो समय बसेको पार्टी हेडक्वाटर रहेको राङ्सीमा बास बस्न गएका छन्। आफू मुस्किलले बाँचेको गाउँ पुग्दा उनी भावुक भएका थिए। द्वन्द्वकालमा दाहाल बसेको घर सेनाले हेलिकोप्टरबाट बम बर्साएर ध्वस्त पारेको थियो। उनी हिँडेको भोलिपल्ट सेनाले आक्रमण गरेको थियो।

राङ्सी पुगेका दाहाल, उनकी पत्नी सीता, छोरा प्रकाश, महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन विगतका लडाकु कमान्डर नन्दकिशोर पुनका पाहुना बनेका छन्। २०६९ माघ ४ गते सदरमुकाम लिबाङ आएका दाहाल त्यसयता पहिलोपटक जिल्ला आएका हुन्।

उनी बुधबार राङ्सीमा भेटघाट गरी वर्षमानको गाउँ माडीचौरमा बास बस्नेछन्। बिहीबार लिबाङमा कार्यकर्ता भेटघाट, कर्मचारीसँग अन्तरक्रिया र पत्रकार सम्मेलन गरी दाहाल हिँड्ने जिल्ला पार्टी अध्यक्ष सुरेन्द्र घर्तीले बताए।





Comments

comments

2781