यस्तो छ भूमिगत कार्यशैली अपनाउने नीति लिएका विप्लवको योजना

काठमाडौं, २७ कार्तिक। जनसत्ता, सेना र भूमिगत कार्यशैली अपनाउने नीति लिएका नेकपा-माओवादी सचिव नेत्रविक्रम चन्द विप्लवले आफू काठमाडौंबाहिर रहने गरी योजना बनाएका छन्। अध्यक्ष मोहन बैद्यले अगाडि सारेको जनयुद्धको जगमा जनविद्रोहको नीति असफल हुने निष्कर्षमा पुगेका विप्लवले एकीकृत क्रान्तिको रणनीति बनाएका छन्।

विप्लव समूहको कपिलवस्तुमा जारी भेलाले वामपन्थी, देशभक्त, लोकतान्त्रिक शक्तिको संयुक्त मोर्चा निर्माणलाई जोड दिने नीति बनाउँदैछ। भेलाले केन्द्रीय सत्ताको उद्देश्यसहित गाउँ र सहरबाट आआफ्नो विशेषताअनुरूप जनसत्ता निर्माण गर्दै जाने राजनीतिक रणनीति, पुरानो राज्यसत्ता ध्वस्त गर्न बलियो र नियमित सेना निर्माण गर्ने सैन्य रणनीति, खुकुलो र भद्दापनबाट जोगाउँदै क्रान्तिकारी नेताहरूको संगठनात्मक रणनीति, कार्यकर्ताको भरणपोषण गर्ने, जनतालाई आर्थिक उपार्जनमा सहयोग पुस्याउनेसहित जनवादी अर्थसम्बन्ध निर्माण गर्ने योजना बनाउन लागेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।

कम्युनिस्ट पार्टीहरूसँग भाइचारा सम्बन्ध निर्माण गर्ने, कम्युनिस्ट सरकारहरूसँग सन्तुलित सम्बन्ध कायम गर्ने र पुँजीवादी देशहरूलाई संघर्ष र सन्तुलनको नीतिमा राख्ने अन्तर्राष्ट्रिय रणनीति यो समूहले बनाउन लागेको छ। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी, लेनिनवादी, माओवादी पार्टीहरूसँग भाइचारा सम्बन्ध निर्माण गर्नेतिर जोड दिने र अन्तराष्ट्रिय कम्युनिस्ट केन्द्र रिम लगायतका समितिहरूसँग सहकार्य अगाडि बढाउने नीतिसमेत समूहले बनाउन लागेको छ।

भेलाका एक सहभागीका अनुसार विप्लवले अगाडि सारेको यथास्थितिमा क्रमभंगता, इतिहासको अपरिहार्य आवश्यकताु शीर्षकको दस्तावेजमा रहेका एकीकृत क्रान्तिको कार्यदिशामा छलफल गरी निष्कर्ष निकालिने भएको छ। कार्यदिशाले गाउँ र सहर, वर्गशक्ति र मित्रशक्ति, कम्युनिस्ट देशभक्त एवं प्रजातन्त्रवादी, केन्द्रीकृत राष्ट्र र राष्ट्रियता, संघीयता, जनवाद र अन्तराष्ट्रवाद, वैधानिक र अवैधानिक, जनसंघर्ष र सशस्त्र संघर्षको विशेषता बोकेको ती सहभागीले बताए।

पुरानो केन्द्रीय सत्तालाई केन्द्रविन्दुमा राखेर सशस्त्र संघर्ष र जनसंघर्षलाई समग्र रूपमा अगाडि बढाउन सरलबाट विशेषतिर, सामान्यबाट सशस्त्रतिर, स्थानीय तहबाट केन्द्रतिर जाने नीति अख्तियार गर्ने विप्लवले दस्तावेजमा उल्लेख गरेका छन्। राजनीतिक रूपले हाम्रो कार्यनीति दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध चौतर्फी घेराबन्दी गर्ने, भण्डाफोर गर्ने, विस्थापित, विघटन गर्ने र त्यसको स्थानमा आआफ्नो विशेषताअनुरूप जनसत्ता संगठित गर्दै जाने हुनुपर्छु, दस्तावेजमा उल्लेख छ।

पार्टीलाई भूमिगत ढाँचासहित स्थानान्तरण गर्दै भूमिगत कार्यशैलीमा लैजानुपर्ने, नेतृत्वको मुख्य पंक्ति राजधानीबाहिर सर्नुपर्ने, जनवर्गीय संगठन र मोर्चाहरूलाई सरल संरचनासहित वैधानिक रूपमा राख्न कोसिस गर्ने, त्यसो गर्दा क्षति हुने देखिएमा तिनलाई पनि भूमिगत संरचनामा लैजाने विप्लवको दस्तावेजमा उल्लेख छ।

जनविद्रोहमा रूस वा चिनियाँ मोडेल सम्भव नहुने निष्कर्ष निकालिएको दस्तावेजमा मुलुककै विशेषता पक्डेर वैज्ञानिक र वस्तुवादी कार्यदिशा निर्माण गर्नुपर्ने उल्लेख छ। राज्यमा प्रतिक्रान्ति भएको, राज्य विगतको तुलनामा सुदृढ भएको, क्रान्तिकारी आन्दोलनमा विभाजन आएको, विद्रोहका लागि आवश्यक सामथ्र्यको अभाव रहेको, पार्टीको आन्तरिक शक्ति रक्षात्मक बन्‍न पुगेको, विस्तारवाद, साम्राज्यवाद र दलाल पुँजीवादी सत्ताको साँठगाँठ बढ्दै गएका कारण तत्काल विद्रोहको सम्भावना नरहेको पनि विप्लवले प्रस्ट पारेका छन्।





Comments

comments

2800