कोलोराडोमा यसरी मनाइयो नेपाली नयाँ बर्ष (फोटो फिचरसहित)


नातिबाबु भट्ट –

अप्रिल, कोलोराडो, अमेरीका। नेपाली नयाँ बर्ष २०७६ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गरेका छन्।

रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजनामा तथा हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा महाबाणिज्यदूत प्रेमराजा महतको प्रमुख आतिथ्य र बोल्डर नगरका मेयर सुजन जोन्सको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा पर्यटनदूत साबु गदाल, स्थानीय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धिजीवी, कलाकार, पत्रकार, व्यवसायी तथा सर्बसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

भौगोलिक हिसावले नेपालसंग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी धिमेबाजाको तालमा नेपाली गीत गाउंदै, शुभकामना साटासाट गर्दै हर्षोल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, सारी चोली लगाएर आएका थिए भने कोही आप्ना जातीय भेष भूषा, संस्कृति झल्कने पहिरहन लगाएर आएका थिए । अमेरीकी भूमिमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महसुस हुन्थ्यो।

बालक, बृद्ध सबै उमेर समूहका नेपालीको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृतिप्रति माया र सद्भाव राख्ने अमेरीकी नागरिकहरुको पनि सहभागीता रहेको थियो।

बाटाका छेउछाउका स्थानीय दर्शकले हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आफ्ना दौतरीसंग आफ्नो रिती र परंपरा अनुसार शुभकामना साटासाट गरिरहेका थिए।

नगर परिक्रमा गर्नु अगाडी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रेमराजा महतले नेपालीको शिर उच्चा पार्ने यस्तो गौरवशाली महत्वपूर्ण तथा सुन्दर कार्यक्रममा सहभागी हुन पाएकोमा आफू धेरै हर्षित भएको बताए । उनले अमेरीकामा नेपाल डे परेड भनेर नेपाल चिनाउने कार्यक्रम कोलोराडोबासीले पहिला शुरु गरेकोमा कोलोराडोबासी नेपालीलाई धन्यवाद दिए। उनले आगामी बर्षदेखि दुईदिने कार्यक्रम नराखी नेपाली साङ्गीतिक कार्यक्रम, नेपाली कला संस्कृति झल्कने सामग्रीका स्टल, नेपाली खानाका स्टलहरु सबै एकैठाउमा राखी नेपाल डे मनाउन सुझव दिए। यसका लागि आफूले के कस्तो सहयोग गर्नु पर्दछ त्यसको लागि सधै तयार रहने प्रतिबद्धता जनाए।

त्ससैगरी बोल्डर नगरका मेयर सुजन जोन्सले कार्यक्रममा सम्बोधन गर्दै नेपालीहरुको नयाँ बर्षको यस्तो भब्य र सुन्दर कार्यक्रममा सहभागी हुन पाउदा ज्यादै गौरवको अनुभूति भएको भन्दै सबैलाई नयाँ बर्षको शुभकामना दिईन्।

त्यस्तै पर्यटनदूत साबु गदालले नयां बर्षको शुभकामना दिदै नेपाल भ्रमण बर्ष २०२० लाई भब्यताकासाथ सफल पार्न सबैलाई यसको प्रचारप्रसार गरिदिन आग्रह गरिन् । त्यसैगरी उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरुमा ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, एनआरएन कोलोराडो च्याप्टरका उपाध्यक्ष कुमारजंग कार्की, अन्तर्राष्ट्रिय साहित्यसमाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुंगेल लगायतका रहेका थिए।

त्यसैगरी आयोजक संस्थाका नव निर्वाचित अध्यक्ष बिनोद त्रिपाठीले नेपाल र नेपालीको पहिचाहन दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले प्रमुख अतिथि प्रेमराजा महतको आगामी बर्षदेखि नयां बर्षका सबै कार्यक्रम स्टलसहित एकै ठाउंमा आयोजना गर्ने प्रस्ताबलाई कार्यसमितिमा राखी पास गराउने प्रतिबद्धता जनाए।

कार्यक्रमको अन्त्यमा प्रेमराजा महतले “जुनदेशमा गए पनि हामी नेपाली जुन देशमा रहेपनी हामी नेपाली” भन्ने सान्दर्भिक गीत गाएका थिए । त्यस्तै भुटनिज समुदायका भाइबहिनीले नेपाली संगीतमा शुन्दर नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन विनय दाहालले गरेका थिए।

बोल्डर शहरमा नेपालीहरुको बसोबास बाक्लो हुदै गएपछि यहांका स्थानीयलाई नेपाली भाषा संस्कृति पहिचान गराउन हेल्पिङ्ग हेण्डका अध्यक्ष नारायण श्रेष्ठको पहलमा आज भन्दा १५ बर्ष अगाडी “नेपाल डे परेड”को सुरुआत गरिएको थियो । कोलोराडोस्थित बोल्डर सिटी एण्ड काउन्टीको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो आइतबार नेपालीहरुको नयाँ बर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालीहरुको दिवस भनेर अमेरीकी सरकारबाट स्वीकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

28211