समाचार लेखेकै कारण हथकडी, पत्रकार आन्दोलनमा

पोखरा – पत्रकार अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकार आन्दोलनमा उत्रेका छन्। पत्रकार महासंघ गण्डकी प्रदेशको आह्वानमा पत्रकार आन्दोलनमा उत्रेका हुन्।

गिरी ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक हुन्।

ठगीसम्बन्धी समाचार लेखेको आरोपमा उनलाई पक्राउ गरी प्रहरीले साइबर अपराधसम्बन्धी मुद्दा चलाउन तयारी गरेको छ। व्यापारी विपेन्द्रराज बतासले ठगी गरेको समाचार गिरीले सम्प्रेषण गरेपछि उनलाई प्रहरीले साइबर क्राइमको आरोपमा पक्राउ गरेको हो। पत्रकार गिरीविरुद्ध व्यापारी बतासले उजुरी दिएका थिए।

आन्दोलनअन्तर्गत पत्रकार महासंघ कास्कीको नेतृत्वमा पत्रकारले बुधबार जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिए। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पत्रकार पक्राउको विषयमा ध्यानाकर्षण गराउने कार्य भने बुधबार हुन सकेन। निषेधित क्षेत्रभित्र प्रदर्शन र धर्ना दिन नपाइने भन्दै प्रहरीले रोकेपछि पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल र पत्रकार महासंघ कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले मुख्यमन्त्री गुरुङलाई फोन गरी भेट्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। तर मुख्यमन्त्रीले १५–२० जनामात्रै आउन भनेपछि पत्रकार उनलाई भेट्न नगएका हुन्।

धर्ना कार्यक्रममा सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष पौडेलले पत्रकार गिरीलाई तत्काल रिहा गर्न माग गरे। समाचार लेखेकै कारण पत्रकारलाई हथकडी लगाइए त्यसको कडा प्रतिकार गर्ने चेतावनी उनले दिए।

कास्कीका अध्यक्ष श्रेष्ठले गिरीलाई बिनासर्त नछाडे आन्दोलनको आँधी ल्याउने चेतावनी दिए। उनले प्रहरीको सेटिङमा पत्रकार गिरीलाई फसाउने प्रयास भएको दाबी गर्दै तत्काल बिनासर्त रिहा गर्न माग गरे।

उनले गिरी पक्राउविरुद्ध नेपाल पत्रकार महासंघ केन्द्रीय समिति मौन बसेको टिप्पणी गर्दै भने, ‘पत्रकारलाई समाचार लेखेकै भरमा हथकडी लगाएर हिरासतमा राखिएको छ तर त्यसविरुद्ध पत्रकार महासंघ किन सशक्त प्रतिकारमा उत्रिन सकेको छैन ? के हेरेर बसेको छ महासंघ केन्द्रीय समिति ?’ आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार पनि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइने जानकारी श्रेष्ठले दिए। पत्रकार गिरीलाई प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको छ। गिरीको मुद्दामा बिहीबार थुनछेक बहस हुनेछ।

व्यापारी बतास अझै पक्राउ परेनन्

ठगीको आरोप लागेका बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्रराज बतासलाई प्रहरीले अझै पक्राउ गरेको छैन।

पत्रकार गिरीलाई साइबर अपराधको मुद्दा हाल्ने बतासविरुद्ध पोखरा महानगरपालिका वडा नम्बर ६ निवासी व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीले ठगीको उजुरी हालेपछि कास्की जिल्ला अदालतले मंगलबार उनलाई पक्राउ पुर्जी जारी गरे पनि बुधबार साँझसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन। बतासले श्रेष्ठको १ करोड ९८ लाख र पहारीको २ करोड २५ लाख रुपैयाँ ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको छ।

बतासको खोजी गरे पनि फेला नपरेको कास्की प्रहरीले बताएको छ। कास्की प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङले भने, ‘हामीले बतासको खोजी गरिरहेका छौं। त्यसका लागि प्रहरी परिचालन गरेका छौं, खोजतलास जारी छ।’ सन्देश श्रेष्ठले नागरिक दैनिकमा खबर लेखेका छन्।





Comments

comments

28317