भूकम्पछि यसरी बदलियो बारपाक, बस्तीको बीचैबीच सडक

गोरखा, भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ।

गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन्।

पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल थियो । घरघरै एम्बुलेन्स पुग्ने सडक थिएन । अहिले बस्तीको बीच भाग भएर सडक खुलेको छ । पुरानो ढुंगामाटोको विद्यालय थियो, अहिले विद्यालय भवन सिमेन्टको पक्की बनेको छ। चार वर्ष टहरामा पढेका अब पक्की भवनमा पढ्दैछन् । यो भूकम्पले ल्याएको अवसर हो।

सदरमुकामबाट बारपाकसम्म जाने ४७ किलोमिटर सडक कालोपत्रे हुँदैछ । एक दिन पुरै खर्चेर सदरमुकाम आउने बारपाकी अचेल चार घन्टामै आउँछन् । कालोपत्रे सकियो भने यो समय अझ दुई घन्टामा झर्ने पक्का छ।

कालोपत्रे गर्ने ठेक्का भइसक्यो। सडक आयोजनाले समयमै नगर्दा काममा भने ढिलाइ भएकै छ । खानेपानी आयोजना एउटा गैरसरकारी संस्थाले निर्माण गरेर घरघरै धारा जोडिदिएको छ । आफैं बिजुलीमा अत्मनिर्भर रहेको बारपाकमा भूकम्पपछि विद्युत ध्वस्त भयो । गाउँ नै उज्यालो बनाउने जेनेरेटर बारपाकीले सहयोग पाए । संघ–संस्थाले खानेपानी, सरसफाइ, राहत वितरण, आंशिक रोजगारी, तालिम धेरै दिए। यो फाइदा बारपाकीले पनि लिए। नागरिक दैनिकमा नरहरि सापकोटाले यो समाचार लेखेका छन्।





Comments

comments

Trending Now : सञ्चारकर्मी रवि लामिछाने ५ दिन थुनामा
28582