नेपाली राष्ट्रिय फुटबल टोली बेलायतमा गएर खेल्ने, सहारा यूकेले यसरी गर्दैछ तयारी

केशब पाठक –

पोखरा, नेपाली राष्ट्रिय फुटबल टोली अर्को वर्ष मे २०२० मा यूकेमा मैत्रीपूर्ण खेल खेल्न जाने भएको छ। नेपाली राष्ट्रिय टोली यूके जानका लागि प्रारम्भिक चरणका सम्पूर्ण प्रवन्धहरु सहारा यूकेले मिलाएको हो।

नेपाली राष्ट्रिय टोलीले त्यहाँको ‘सि’ टिमसंग खेल्ने सहारा यूकेका अध्यक्ष कुमार गुरुङले पोखरा स्पोर्टसलाई बताए । बेलायतस्थित नेपाली राजदूताबासले यो कार्यक्रमलाई सफल बनाउन आफ्नो तर्फबाट सकारात्मक भूमिका खेलिरहेको गुरुङले बताए। ‘सहारा यूके मात्र होइन यूकेमा बस्ने सम्पूर्ण नेपाली समुदाय र नेपाल तथा बेलायत बिचको कुटनितिक सम्वन्धलाई अझ बलियो बनाउने सबै पक्षहरु यो कार्यक्रम सफल बनाउने तर्फ अगाडी बढेका छौं’ अध्यक्ष गुरुङले भने। नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने भएकोले पनि यो मैत्रीपूर्ण खेलले पर्यटन प्रवर्धन गर्न ठूलो भूमिका खेल्ने अध्यक्ष गुरुङले बताए।

नेपाली फुटबलको छाता संस्था (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले उक्त कुराको पुष्टि गर्दै राष्ट्रिय टोली पठाउने प्रारम्भिक चरणका कुराहरु अघि बढेको बताए । उनले यसका लागि बेलायतस्थित नेपाली राजदूतसंग पनि कुराकानी भइरहेको जानकारी दिए । ‘हामीले पहिलो चरणका छलफलहरुसंगै पत्राचार पनि भइसकेको छ सबै कुराहरु केही दिनमा जानकारी दिनेछौं’ उनले भने।

यूकेमा अर्को वर्षको तयारीका बारेमा लामो कुराकानी गर्दै अध्यक्ष गुरुङले बेलायतस्थित नेपाली राजदूताबास, ईङल्याण्ड फुटबल संघ, ह्याम्पशायर फुटबल संघ, अल्डरशट फुटबल क्लब र यूके नेपाल फ्रेण्डशिप सोसाइटीले यसका लागि पूर्व तयारीका काम शुरु गरेको जानकारी दिएका छन्। फुटबल खेलसंगै नेपाल र बेलायत बिचको सम्वन्धलाई प्रगाढ बनाउने गरि थप सांस्कृतिक महोत्सबका कार्यक्रमहरु पनि तय गरिने जनाइएको छ।

‘नेपाली राष्ट्रिय टोली यूके ल्याएर मात्र भएन, कहिले खेल्ने? कहाँ खेल्ने? कहाँ राख्ने? कोसंग प्रतिष्पर्धा गराउने? सबै कुराको निर्क्यौल हुँदैछ’ अध्यक्ष गुरुङले भने–‘नेपाल र बेलायतको बिकासको सम्वन्धको २ सय ३ वर्ष लामो इतिहासलाई मध्यनजर गर्दै फुटबलका माध्यमबाट यसलाई अझ उचाई दिन चाहेका छौं।’

अहिलेसम्म नेपाली राष्ट्रिय टोलीले एक मात्र म्याच खेल्ने कुरा उठिरहेको भए पनि नेपाली टिम यूके पुगेपछि कम्तीमा पनि ३ वटा मैत्रीपूर्ण खेल खेल्न सक्ने गरि कार्यक्रमको तयारी हुन सक्ने अध्यक्ष गुरुङको भनाई छ । ‘अहिले नै सबै कुरा टुङ्गिएको छैन जुलाईको पहिलो हप्ता बस्ने बैठकले यस बारे अन्तिम टुङ्गो लगाउने छ ।’ उनले यसका लागि प्रारम्भिक बैठक र इमेल बाट कुराकानीहरु अगाडी बढेको बताए । ‘नेपालमा नेपाली फुटबलको छाता संस्था एन्फासंग पनि कुराकानी गरिसकेका छौं धेरै कुराहरु अघि बढेको छ आशा गरौं सबै कुराहरु क्रमिक रुपमा सम्पन्न हुनेछन्।’ गुरुङले भने।

नेपाली राष्ट्रिय टोली र यूकेको राष्ट्रिय टोली ‘सी’ संग खेल हुनका लागि अल्डरशटको टाउन एफसीमा हुने गरि पूर्व तयारी भइरहेको भए पनि इङल्याण्ड फुटबल संघ लिग सिष्टेमका प्रमुख लअरेन्स् सि जोन्स संगको बैठक र कुराकानीपछि तय हुने अध्यक्ष गुरुङले बताए । राष्ट्रिय टोलीका खेलाडीलाई बेलायत घुमाउने र विशिष्ट व्यक्तित्वसंग भेटघाटका कार्यक्रमहरुका बारेमा समेत छलफल चलिरहेको अध्यक्ष गुरुङले बताउँदै भने–‘प्रशासनिक र व्यवथापकिय कुराहरुको टुङ्गो जुलाईको बैठकले गर्नेछ अनि हामी त्यही ढङले अगाडि बढ्नेछौ ।’ नेपाली राष्ट्रिय टोलीले वेम्ली स्टेडियमसमेत भ्रमण गर्ने पूर्व तयारी चलिरहेको छ । नेपाली राष्ट्रिय टोली र यूकेको राष्ट्रिय टोलीको मैत्रीपूर्ण खेल हेर्न करिब ३० हजार दर्शक आउने अपेक्षा आयोजकले गरेको छ।

नेपाली राष्ट्रिय टोलीलाई यूकेमा बोलाउनुको पछाडिका बारेमा जानकारी गराउँदै अध्यक्ष गुरुङले भने–‘हामीलाई फुटबलले चिनाएको छ, बेलायतमा स्पोर्टस् कम्यूनिटी भन्नु नै सहारा यूके नै हो भन्ने कुरा स्थापित भइसकेको छ। सहरा यूके नेपालको फुटबल बिकासका लागि प्रतिवद्ध छ र त्यही कुरा प्रदर्शित गर्न चाहन्छौ ।’ नेपाली टोलीलाई यस अघि पनि पटक–पटक यूके ल्याउन प्रयास गरिएको भए पनि समयलगायत यावत कारणले सम्भब नभएको गुरुङले बताए।

सहारा क्लब पोखराको भातृ संस्थाको रुपमा सन २००८ मा स्थापना भएको हो । सहारा यूके बेलायतमा नेपाली खेलप्रेमी समुदायहरु विचको सम्वन्धलाई नेपालको खेलकुद बिकासमा अघि बढाउन भूमिका खेलिरहेको मात्र नभई सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्ड कपको मुख्य सहयोगीको भूमिकासमेत निर्वाह गरिरहेको छ भने सहारा एकेडेमीमा समेत सहारा यूकेको महत्वपूर्ण सहयोग रहदै आएको छ।

आगामी कार्यक्रमका बारेमा जानकारी दिंदै भावी पुस्ताका लागि भन्दै सहारा यूकेले ६ वर्ष भन्दामाथि र १२ वर्षभन्दा मूनीका बालकहरुका लागि छुट्टै एकेडेमी संचालन गर्ने तयारी गरिरहेको अध्यक्ष गुरुङले जानकारी गराए । हप्तामा एक दिन प्रशिक्षण र हप्ता एक दिन विदाको एक दिन म्याच खेल्ने गरि खेलाडीहरुलाई प्रशिक्षण दिइने गरि व्यवस्था गरिएको उनले बताए । ‘हामीले यसका लागि समेत स्थानको खोजी गरिरहेका छौं र छिट्टै निर्णय गर्ने छौं’ उनले भने । ‘यो भावी कार्यक्रम हो यसलाई हामी जुलाई बाट शुरु गर्ने प्रयासमा छौ’ गुरुङले भने।

सहारा यूकेका अध्यक्ष गुरुङले कार्यभार सम्हालेको ४ महिना हुँदैछ । तर पनि उनको कार्यकालमा शुरु भएको अभियानले नेपाली खेलकुदको जग बलियो बनाउन ठोस सहयोग पुग्ने देखिन्छ । नेपाली राष्ट्रिय फुटबल टोलीलाई बेलायतमा पुर्याएर खेल्ने अबसर जुटाई दिने मात्रै नभई यूबा पुस्तालाई खेलकुदप्रती आर्कषित गराउने सहारा यूकेको प्रशंसनीय कार्य हो । सहारा यूकेले शुरु गरेको यो अभियानमा सबै नेपाली खेलप्रेमीहरुको साथ र सहयोगको उत्तिकै खाँचो भने अवश्य देखिन्छ।





Comments

comments

28934