जुवाको खालमा महेन्द्रको लाइटर!

फाइल फोटो

काठमाडौं, २८ बैशाख। “सेना र पुलिसले टोल नै घेरे । दशलाल उम्किन पाउने अवस्था रहेन । उसलाई समाएर लगे,” ६८ वर्ष अघिको यो घटना पाटन हखाटोल निवासी शङ्खलाल महर्जनका आँखामा अझै सो दृश्य घुमिरहेको छ।

नारायणहिटी दरबारका बगैँचे दशलाल महर्जनले गरेको चोरी, ऊ बेला यो घटना चर्चित थियो । गोरखापत्रमा नौ लाख रुपियाँ बराबरको हीरा जवाहरत र १७ हजार रुपियाँ नगद चोरी भएको समाचार प्रकाशित भएको थियो।

त्यतिबेला यो रकम निकै ठूलो मानिन्थ्यो । पाटनवासीहरू दशलालले तत्कालीन युवराज महेन्द्रको लाइटर, तत्कालीन युवराज्ञी रत्नको टायरा आदि चोरेको हल्ला आफूहरुले सुनेको बताउँछन् । “श्रीपेच समेत चोरेको भन्ने हल्ला थियो” शङ्खलालले भन्नुभयो, “सुनको बट्टा र लाइटरबाटै ऊ पक्राउ परेको हो।”

दरबारमा चोरी भयो भन्ने हल्ला सर्वत्र फैलियो । २००८ साल जेठको घटना । कुन दिन चोरी भएको थियो भनी तिनताक यो घटना थाहा पाएका पाटनवासीलाई सम्झना छैन । तत्कालीन युवराज महेन्द्र भारतको ‘कलकत्ता’ जानुभएका बखत चोरी गरिएको थियो । “सुन समेतका गहना चोरी गरेको कुरा उहाँ (महेन्द्र) नेपाल फिरेपछि थाहा भएछ”। यो समाचार प्रकृति अधिकारीले गोरखापत्रमा लेखेकी छन्।

पाटन चालाछेंका ईश्वरलाल नापितले दशलाल पक्राउ परेको दिनको घटनालाई यसरी स्मरण गर्नुभयो, “सेनाले ट्रकमा राखेर दशलाललाई लिएर गयो । जेलमा पर्यो, जागिर पनि गयो ।” चोरी घटनामा जागिर गुमाएका दशलालको सट्टामा पाटन भोलढोकाका आशालाललाई बगैँचेको जागिर दिइयो।
आशालालका छोरा बहादुर महर्जनले दशलालले साबुनमा साँचो छाप लगाएर नक्कली साँचो बनाएको आफ्ना बाबुले सुनाएको बताउनुभयो । “सास्ती दिन पुलिसले ट्रकमा आगोको माथि राखिएको जस्तामा दशलाललाई नाङ्गै खुट्टा उभ्याएर दरबार लगेको थियो भनेर बाहरूले भनेको सुनेको थिएँ” उहाँले भन्नुभयो।

टोलमा जुवा खेल्न लाग्दाको घटनाले दशलालको चोरी पक्रन सफल भएको थियो । उनले जुवा हारे । तत्कालीन युवराज महेन्द्रले प्रयोग गर्ने हरेक सामानमा अङ्ग्रेजीको ‘एम’ उल्लेख हुन्थ्यो । जुवाको खालमा लाइटर र चुरोट राख्ने सुनको बट्टा लगेका थिए । तिनमा पनि ‘एम’ उल्लेख थियो । उनले ती सामान राजाले आफूलाई खुशी भएर दिएको भनी झूठो बोलेका थिए।

तत्कालीन राजप्रासाद सेवामा सचिवबाट अवकास हुनुभएका शम्भुप्रसाद अधिकारीले भन्नुभयो, “त्यो बेला हामी जागिरे भइसकेका थिएनौँ तर चोरी भएको भन्ने सुनेका हौँ । जुवामा हारेपछि ‘ठट्टा मानेको हो ? मैले सारा पाटनलाई किनिदिनसक्छु’ भनेपछि उनको त्यो कथनबारे हल्ला भयो। त्यसैबाट ऊ पक्राउ परेको भन्ने दरबारमा सुनेको थिएँ।”

प्रहरीले छापा मारेपछि दशलालको घरको भर्याङ्मुनि चोरिएका सामग्री फेला परे । “काठको भर्याङ्मुनि खरानी फाल्ने र त्यसमाथि पिसाब गर्ने चलन हुन्थ्यो त्यतिबेला । मल बनाउन त्यस्तो गरिन्थ्यो” हखाटोलका शङ्खलालले थप्नुभयो, “खरानीको रासभित्र चोरेका सामान लुकाएर राखिएका थिए।”

गोरखापत्रले चोरीको सुराक पत्ता लगाउन थालेको हप्ता दिनभित्र चोरको घर खानतलास गर्दा दशलाल र उनका मामाको घरबाट चोरीका सामान फेला परेको समाचार छाप्यो । “उस (दशलाल) ले पोलेको १ पाटनकै मानिस फरार भएको र बाँकी २ जना गिरफ्तारमा आएका साविती चोरहरुको पुलीस विभागबाट कार्वाइ हुँदैछ । निजहरुले त्यसै ठाँउमा पहिला पटक चोरी गरेकोमा पनि सावित भइसकेको खबर छ” गोरखापत्रले समाचार छापेको थियो।

निमेकहरामीको हद भन्ने शीर्षकमा गोरखापत्रले प्रकाशित गरेको थियो, “नारानहिटी दरबार श्री ५ युवराजधिराजतर्फको चोरीमा पक्राउ भई आएका दशलाल ज्यापू र हाकुचा ज्यापूलाई दुवै हातमा हतकडी लगाई डबल पालेका साथ केरकारका निंति रुङमा ठोकी राखेको थियो । गत १५ गतेका रातको अन्दाजी १ बजेटिर हतकडी र तुरुङबाट हात खुठ्ठा खुस्काइ भागेछन् भन्ने पालेहरुको रिपोट परी कारवाहीका निमित्त सो मुद्दा कोलवालीतिर गएको छ भन्ने स.पु.गो. बाट पाइएको समाचार छ।”





Comments

comments

29052