पैसा दोब्बर बनाईदिने भन्दै नेटवर्किङ धन्दा चलाएका एजेन्टहरु पक्राउ, ठगिए लाखौं नेपाली

पाँचतारे होटेलबाट अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीय समूह पक्राउ परेको छ।

दरबारमार्गस्थित याक एन्ड यती होटेलबाट शुक्रबार प्रहरीले १२ जना भारतीयलाई पक्राउ गरेको हो । सनसिटी नामक अवैध कम्पनीका नाममा उनीहरूले नेटवर्किङ व्यवसाय सुरु गरी नेपाली नागरिकलाई सदस्य बनाएका थिए । कतिपयलाई उनीहरूले ठगी गरिसकेको खुलेको छ । थप सदस्य बनाउन आएका वेला सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

‘उजुरी धेरै बढ्ने सम्भावना छ’
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीका अनुसार उनीहरूविरुद्ध ६ जनाको उजुरी परिसकेको छ । ‘एकै व्यक्तिलाई ६० लाख रुपैयाँसम्म ठगी गरेको उजुरी छ,’ एसएसपी सुवेदीले भने, ‘उजुरी अरू धेरै बढ्ने सम्भावना छ ।’ सो कम्पनीले भारतमा करिब २५ हजार सदस्य बनाएको थियो । कम्पनीका केही सञ्चालक भारतमा कारबाही परिसकेका छन् । १० जना सदस्य बनाएर आफूले राखेको पैसाको दोब्बर आउने भन्दै उनीहरूले प्रलोभनमा परेका थिए।

पाँचतारे होटेलमा कार्यक्रम गर्दा प्रहरीले थाहा नपाउने र पैसावाल व्यक्तिलाई आकर्षित गर्न सकिने उनीहरूको आकलन थियो । उनीहरूविरुद्ध ठगी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ।

विगतमा नेटवर्किङ व्यवसायबाट नेपालमा लाखौँ सर्वसाधारण ठगिइसकेका छन् । सुरुमा गोल्डक्वेस्ट नामक कम्पनीले सर्वसाधारणलाई ठगी गरेको थियो । पछि हर्बाे र युनिटी इन्टरनेसनल नामक कम्पनीले ठगी गरेको थियो । ती कम्पनीविरुद्ध कारबाही भएपछि केही समय यस्तो ठगी रोकिएको थियो । पछिल्लो समय गोप्य रूपमा केही समूहले ठगी गर्दै आएका छन्। नयाँपत्रिकामा यो खबर छापिएको छ।





Comments

comments

29158