नेपाल-चीन संयुक्त सैन्य अभ्यास

काठमाडौं: नेपाल र चीनबीच तेस्रो पटक प्रतिआतंकवाद केन्द्रित सैन्य अभ्यास हुने भएको छ।

‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको नियमित अभ्यास नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले आगामी भदौमा नेपालमा गर्नेछन्।

सैन्य अभ्यास गर्ने ठाउँ भने तय भइसकेको छैन। दुई देशबीचको संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकलामै केन्द्रित हुने भएपछि नेपालमा चिनियाँ प्रभावबारे बहस सुरु भएको छ। गत वर्ष असोजमा चीनको छेन्दुमा र २०७४ वैशाखमा काठमाडौंमा यस्तै अभ्यास भएको थियो।

दुवै मुलुकका सैनिक अधिकारीहरू संयुक्त सैन्य अभ्यासको तयारीमा जुटेका छन्। सैनिक प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास भदौमा गर्न लागिएको बताए।

संयुक्त सैन्य अभ्यासका लागि चिनियाँ दूतावासका अधिकारी, रक्षा मन्त्रालय र सेनाका वरिष्ठ अधिकारीबीच छलफल भइरहेको छ। दुवै पक्ष सैन्य अभ्यासको मिति, स्थान र रूपरेखा (मोडालिटी) टुंगो लगाउन सक्रिय छन्। आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले संयुक्त सैन्य अभ्यास गर्नेछन्।

एसियाली मुलुक दिनप्रतिदिन आतंकवादीको निसानामा पर्दै गएको अवस्थामा यो अभ्यास उपयोगी रहने ठहर दुवैतर्फका सेनाको छ। आतंकवादीले एसियाली मुलुकमा आफ्ना गतिविधि बढाइरहेका छन्। सन् २०१६ मा बंगलादेशमा र केही साताअघि श्रीलंकामा भएको आतंकवादी आक्रमणपछि एसियाली मुलुक थप सशंकित भएका छन्। आतंकवादको सम्भावित चुनौतीलाई ध्यानमा राखेर एसियाली मुलुकका सैनिक संगठनसमेत द्विपक्षीय र बहुपक्षीय सैन्य अभ्यास गर्दै आएका छन्।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुँदै आएको सैन्य अभ्यासलाई भारत, अमेरिकालगायत मुलुकले महत्वका साथ हेरिरहेका छन्। यस्तो अभ्यासले उनीहरूलाई झस्काउने गरेको छ। नेपाली सेनाले चीनसँग मात्र होइन भारत, अमेरिका, बंगलादेश, पाकिस्तानसँग सैन्य अभ्यास गर्दै आएको छ। यो समाचारलाई अन्नपूर्णपोष्टमा शम्भु कट्टेलले लेखेका हुन्।





Comments

comments

29230