बेलायतमा किराँती पर्व, ‘साकेला’ नाँच आकर्षण बन्दै…

रोशन मेवाहाङ्ग /एचकेनेपाल डट कम-

लण्डन, ५ जेठ । बेलायतवासी किराँत राईहरुले साकेला पर्व भव्य रुपमा मनाएका छन्।

बेलायतवासी किराँत राईहरुको आफ्नै भूमी ग्याम्बलस् लेन, रिप्लेस्थित माङखिम तथा साकेला स्थल (किराँत राई घर) मा उँभौली यलेदोङ ५०७९ (वि स २०७६) साकेला पर्व भव्य रुपमा मनाएका हुन्। किराँतहरुले हरेक बर्ष साकेला पर्व तथा उँभौली शिली प्रतियोगिताको आयोजना गरेर धुमधामले मनाउदै आएको छ।

किराँती नाछोङ (धामी) किताबशेर राई यो बर्ष भने जुठो परेको कारण नव युवा नाछोङ टाईटेक्स फ्रल्मोछा राईले टाउकोमा सेतो फेटा लगाई सुम्निमा-पारुहाङ्गको तस्विर, ढोल र झ्याम्टासहित सेउलीको थानमा उभौली भूमि पूजा गरी थान वरिपरी नाचेर विधि अनुरुप कार्यक्रमको सुरुवात गरिएको थियो। टाईटेक्स विक्रम संवत २०५५ सालका व्याजमेट हुन् । बेलायती दोस्रो गोर्खा रेजिमेन्टमा उनका व्याजमेट खोटाङका लाखबहादुर गुरुङ, शिवकुमार राई, भोजपुरका बशन्त राई र ताप्लेजुंगका कैलाश खेबाङ गत बर्ष क्याप्टेन पदमा पदोन्नति भएका थिए।
किराँत राई यायोक्खा बेलायतको अध्यक्ष कल्पना राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदी र स्थानीय गिलफोर्ड बरो काउन्सिलका मेयर रिचर्डले आशन ग्रहण गरेका थिए । विशेष अतिथिहरु पूर्व सभासद तारा राई , कांग्रेस महासमिति सदस्य तथा युवा नेता रवि प्रकाश राई, एनआरएन वेलायतका अध्यक्ष योग कुमार फगामी र बेलायतका विभिन्न क्रियाशील सँघ संस्था र जातीय संस्थाका दर्जनौ प्रतिनिधि र दर्शकहरुको बाक्लो उपस्थिति थियो।

‘सिमली सेउली गाडेर देवी र देउता भाकेर पुर्खाको रीति साकेला मनाऔ शिली नाँचेर सोई सोइला हो , सोई सोइला।’

‘खोटाङ्गका गीतकार किरण चाम्लिङ्गले साकेला थानमा गाँउघरका चर्चित सामाग्री बोकेर नेपालको झल्को मेटिने तस्विर कैद गदै आफ्नो सामाजिक संजालमा गीत सार्वजनिक गरेका थिए।
‘सानो छ बारी,सानो छ खेती
सानै छ जहान, नगरी काम,
पुग्दैन खान सांझ र बिहान।’

पृष्ठभूमिमा सहभागीहरु यस्ता भाकाका गीतमा रमाईरहेका थिए।

यस्ता भाकाका गीतहरु यो महिना विशेष गरेर स्वदेश तथा विदेशी किराँती गाँउ बस्तीहरुमा कान कानमा गुज्यायमान भईरहेको सुनिन्छ । ज्यान फनफनी घुमाउँदै, खुट्टा हल्लाउँदै युवायुवतीहरुले नाचेको दृश्य देख्दा र साकेला शिली सुन्दा बरिष्ठ गायक राजेश पायल राईका बुबा ६८ बर्षीय रत्नकुमार राई आफनो यौवनलाई संझना गर्दै रमाईलो मात्रै लाग्दैन रे अझै नाँचौ नाँचौ पनि लाग्छ रे ! युवाहरुको जोसिलो साकेला शिली देखेर उनी धेरै उत्साहित भएको बताए । बुढापाका मात्रै होइन् १३ बर्षीया आश्फोर्ड केन्ट निवासी प्रकृति , उनका बुबा प्रकाश राई र अन्य जातिहरु पनि साकेला नाचेर मनोरञ्जन गरिरहेका थिए।

कुन ठाँउमा बढी मात्रामा मनाईन्छ?
साकेला पर्व राईहरुको महान चाड हो । यो बर्षमा दुई पटक उँभौली (बैशाखे पूर्णिमा) र उँधौली ( मङ्सिरे पूर्णिमा ) मा धुमधामले मनाईन्छ। साकेला नाँच राजधानी काठमाडाौंलगायत नेपालको पूर्वी जिल्लाहरु विशेष गरेर पाँचथर,ईलाम, झापा, मोरङ जहदा देखि कानेपोखरी, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, धनकुटा र संखुवासभा आदि जिल्लाहरुमा बसोबास गर्ने किराँती बस्तीहरुमा बढी मात्रामा प्रचलित र लोकप्रिय छ । त्यसैगरि अन्तर्रािष्ट्रय स्तरमा किराँती जनघनत्व भएका देशहरु भारत, सीक्किम,दार्जिलिङ, अमेरिका, बेलायत, हङकङ,जापान, कोरिया मलेशिया, कतार, अस्ट्रेलिया र ब्रुनाईमा अहिले भव्यरुपमा साकेला पर्व मनाउने प्रचलन बढेको देखिन्छ।

प्रदेश १ लाई किराँत प्रदेशको नामकरण अभियान
बेलायतमा उभौली साकेला पर्व पहिचानसँग जोड्दै मनाउँन थालेका छन् । किराँत राई यायोक्खा बेलायतले प्रदेश १ लाई किराँत राज्य नामकरण गरिने अभियान गत बर्षबाटै थालनी गरेका थिए । संघका पूर्व कोषाध्यक्ष रिटायर्ड मेजर दिलकुमार राईले किराँत राज्यका निम्ति प्रचार प्रसार गरिरहेका थिए भने भौगोलिक र सभ्यताको आधारमा किराँत राज्य नामकरण गरियोस भन्दै शिली संयोजक भूपजित राईले मंञ्चबाट सम्बोधन समेत गरेका थिए।

साकेला खासमा के हो?
नेपालको आदिवासी किराँत राईहरुको आफनै पहिचान छ । उनीहरुको आफ्नो धर्म,भाषा, संस्कृति रहेको नेपालको कुल जनसंख्या मध्य करीब १५ लाख किराँत समुदायले साकेला पर्व मनाउदै आएको पाईन्छ । वसन्त ऋतुको आगमनसंगै यस धर्तीमा बोटविरुवाहरुले पालुवा फेर्न थाल्छन् । बन–जंङ्गलमा चराचुरुङ्गीहरुले आ-आफ्नो भाका फेर्न थाल्छन्। नयाँ बर्षको आगमनसँगै वैशाखे पूर्णिमादेखि औसीसम्म किराँती गाउँघरका बूढापाकाहरु साथै केटाकेटीहरु ढोल झ्याम्टा निकालेर झन्डै १५ दिनसम्म यस पर्वमा रमाउँछन् । वास्तवमा यो पर्व किराँतीहरुले खेतीपाती लगाउने समय भएकाले अन्नवाली वा उव्जनी बढोस्, आधीवेरी, असिना नपरदियोस, अन्नबालीमा रोग नलागोस् भनि किराँत राजा रानी सुम्निमा र पारुहाङ्गसँग बल र शक्तिको आर्शीवाद माग्दै कुखुराको भाले बलि दिएर भूमि पुज्ने चलन चलिआएको पाईन्छ । बालबालीका,बृद्ध सबै आपसमा गोलो घेरा लगाएर बिभिन्न जनावर,चराचुरुङ्गीहरुको नक्कल गदै साकेला नाँच शिली नाच्ने गरिन्छ । विशेष चौरीको पुच्छर (पोमी) र छिर्लिङ –(सिलिमा) नाँचको मुल्की (सिलीमोपा) ले प्रयोग गर्ने प्रचलन छ।

साकेलाको भेषभूषा
नाँचमा सहभागी पुरुषहरुको पोशाक, खाडीको दौरा सुरुवाल, कोट र ढाका टोपी लगाई, विनायो, र्मुचुङगा, लिम्चिङबुङ, मयूर र लुईचेको प्वाख लगाउने प्रचलन छ भने महिलाले छिटको गुन्यु, ढाकाको पछ्यौरी, मखमल वा ढाकाको चोलो र सेतो पटुकी लगाई ढुङग्री,मुन्द्री, बुलाकी,हारी, सिक्काको माला जस्ता गरगहना लगाउने चलन छ।

साकेला उँभौली बाली लगाउने बेलामा बैशाख पूर्णिमाको दिन र उँधौली बाली उठाउने बेला मंङ्सिर पूर्णिमाको छेकमा मनाउने गरिन्छ। किराँतहरुको मुन्धुम अनुसार १ बर्षलाई दुई भागमा बाडिन्छ (उँभौली र उँधौली) यसैको रुपमा यो चाँड मनाउने परम्परा चलिआएको पाईन्छ । उँभौली र उँधौली किराँत समुदायको मुख्य चाड हो । याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङनाम र राईहरुले उँभौलीलाई साकेला र उधौलीलाई छौवा भन्ने गरिन्छ।

यसै सन्दर्भमा अभिभावक र बुद्धिजीवीहरु भन्छन् प्रवासमा रहे पनि आफ्नो धर्म, संस्कृति, संस्कार, परम्परा र चाँडलाई मनाउदै हाम्रा भावी सन्ततिहरुलाई सिकाउँदै लैजानु पर्दछ । स्वदेशबाट टाढाको बस्ती अर्थात विरानो देशमा रहेपनि आफ््नो संस्कार , संस्कृती र पहिचानलाई जीवित राख्नका निमित्त पनि साकेला पर्व मनाउदै आएको देखिन्छ।

प्रतियोगिता बन्यो रोचक पक्ष
बेलायतवासी किराँत राईहरुको आफनै भूमि (१४६ रोपनी) जग्गा वि. सं. २०७२ सालमा अंग्रेज किसानबाट खरिद गरिएको हो। उक्त माङखिम तथा साकेला स्थलमा वि. सं. २०७३ सालबाट साकेला नाँच थालनी गरिएको थियो। माङखिम मुलघर, (पूजाघर) निर्माण कार्य चाँडै सुरुवात गरिने अध्यक्ष राईले जानकारी दिईन्। बेलायत निवासी हजारौं किराँत राई तथा अन्य नेपाली समुदायको उपस्थिति रहेको यो बर्षको साकेलामा ११ प्राम्भिक कार्यसमितिले फरक फरक प्रतियोगितात्मक साकेला शिली प्रदर्शन गरेका थिए। कार्यक्रमको अन्तिम चरणमा विशेष कौशल शिली नाँच प्रर्दशन गरिएको घोषणा गर्दै आश्फोर्ड केन्टलाई शिल्ड र नगद नेपाली रुपैयाँ ६० हजार पुरस्कार हस्तान्त्रण गरिएको थियो।

महासचिब चन्द्रवति राई र उपमहासचिब सनविर राई र प्रमिला लाबुङ्ग राईले संयुक्त रुपमा कार्यक्रमलाई सञ्चालन गरेका थिए।





Comments

comments

29330