भारतमा मोदीको शानदार जीत

भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ।

सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ । त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स (एनडिए)ले तीन सय ४९ सिट पुर्‍याएको छ।

प्रतिपक्षी कंग्रेसले यो निर्वाचनमा पनि लज्जास्पद हार बेहोरेको छ । २०१४ को निर्वाचनमा ४४ सिट ल्याएको उसले यसपालि ५२ पुर्‍याएको छ । संविधानतः प्रमुख प्रतिपक्ष दलको मान्यता पाउन आवश्यक ५५ सिट पनि उसले जुटाउन सकेन । यसरी मोदी चुनौतीविहीन बनेका छन् । कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलाइन्स (युपिए)को कुल सिट ८८ मात्र पुगेको छ।

१६ राज्यमा कंग्रेस शून्य, राहुल गान्धीले समेत हारे
१३५ वर्ष पुरानो कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आफ्नो पारिवारिक सिट अमेठीबाट हारेका छन् । उनलाई ५४ हजार सात सय ६७ मतको अन्तरले केन्द्रीय मन्त्री स्मृति इरानीले हराइन् । २००९ र २०१४ मा पनि स्मृतिले राहुललाई चुनौती दिएकी थिइन् । तर, उनको तेस्रो प्रयास सफल भयो । यसपालि राहुलले चार लाख १२ हजार र स्मृतिले चार लाख ६७ हजार मत पाए । तर, निर्वाचनअघि नै हारको अनुमान गरिसकेका राहुलले केरलाको वायनाडबाट भने ठूलो मतान्तरले जितेका छन् । वायनाडमा राहुलले सात लाख पाँच हजार मत प्राप्त गर्दा माकपाका पिपी सुनीरले दुई लाख ७३ हजार मत प्राप्त गरे । यसरी केरलामा चार लाख ३२ हजार मतान्तरले राहुलले जिते ।
भारतका कुल ३० मध्ये १६ राज्यमा कंग्रेस शून्य भएको छ । दिल्ली, हरियाणा, गुजरात, आन्ध्र प्रदेश, राजस्थान, हिमाञ्चल, उत्तराखण्ड, अरुणाञ्चल, उडिसा, त्रिपुरा, मणिपुर, मिजोरम, सिक्किम, चण्डिगढ, लक्ष्यदीप र अन्डेमाननिकोबरबाट कंग्रेसले प्रतिनिधित्व पाएको छैन ।

    • मोदीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सहकार्य गर्न इच्छुक छु ।’ मोदीले जवाफ दिए, ‘सम्बन्ध अझै उचाइमा लग्नेछौँ ।’
    • नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा, परराष्ट्रमन्त्री ज्ञवाली र कांग्रेस नेता पौडेलको शुभकामनाप्रति मोदीले ट्विटरबाटै आभार व्यक्त गरे
    • पाकिस्तान, चीन, अमेरिका, इजरायल, रसियाबाट पनि मोदीलाई बधाईको ओइरो
    • कार्यकर्तालाई संयमित हुन भन्दै राहुलले शतप्रतिशत जिम्मेवारी लिए,  मोदीलाई बधाई दिए।

नयाँपत्रिकामा यो खबर छापिएको छ।





Comments

comments

29418