सरकारको प्रतिरक्षा गर्न सत्तापक्षकै सांसद असमर्थ

सरकारले संसद्मा दर्ता गरेको एकपछि अर्को विधेयक विवादित भइरहेको छ। प्रतिपक्ष दलका सांसदले ती विधेयकको चर्को विरोध गरिरहेका छन्।

पछिल्लोपटक गुठी तथा मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद् अवरोध गर्दा पनि सत्तारुढ सांसद मौन छन् । बरु गुठी विधेयक सरोकारवालाहरूसँग छलफलै नगरी ल्याइएको भन्दै काठमाडौं र ललितपुरबाट प्रतिनिधित्व गर्ने नेकपाकै सांसद असन्तुष्ट बनेका छन्।

गुठी विधेयकमाथि छलफल सुरु नहुँदै ललितपुर–३ की सांसद पम्फा भुसालले विधेयक फिर्ता गर्न माग गरेकी छिन् । उता, काठमाडौंका सांसदहरू कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर पनि सरकारसँग असन्तुष्ट छन् । गुठीसहित मिडिया काउन्सिल विधेयकको प्रस्तावित व्यवस्थाप्रति थुप्रै सत्तारुढ सांसद असन्तुष्ट छन्, तर उनीहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

संसदीय प्रक्रिया नै अघि नबढेको वेला सत्तारुढ सांसदको समर्थन नदेखिनु स्वभावित भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् । ‘अहिले त विधेयक दर्ता मात्र भएको हो, अघि बढिसकेकै छैन । संसदीय प्रक्रियाअनुसार विधेयक अघि बढेपछि मात्र संसद्मा छलफल सुरु हुन्छ,’ उनी भन्छन्, ‘विधेयकमाथि संशोधन हालिन्छ । त्यसपछि सम्बन्धित समितिमा जान्छ । अहिले त केही भएकै केही छैन । अनि सत्ता पक्षका सांसदहरूले कहाँ समर्थन देखाइदिनुपर्ने ? जसले प्रतिरक्षा गरेनन् भन्नुहुन्छ, उहाँहरूले प्रक्रियै बुझ्नुभएनछ भन्नुपर्ने हुन्छ।’

गत १५ जेठमा बजेट प्रस्तुत भएयता नेकपा संसदीय दलको बैठक बसेको छैन । नेकपाभित्रका नेताहरूको गुट तथा उपगुटका कारण संसदीय दलको बैठकमा समेत एजेन्डाकेन्द्रित छलफल नहुने र सांसदहरूले आफ्ना मत खुलेर राख्न पाउने स्थिति नभएकाले सत्तापक्षको प्रतिरक्षा कमजोर बन्दै गएको सांसदहरू बताउँछन्।





Comments

comments

29962