दपूक्षे तमुधि लण्डनको छैंठौं अधिवेशन सम्पन्न

सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम-
लण्डन। दिनांक २३ नोभेम्बर २०१४को दिन पूर्वनिर्धारित समयमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको छैठौँ अधिवेशन सफलताका साथ प्लमस्टिड, लण्डन स्थित गेसो सभाहलमा सम्पन्न भएको छ।

समाजका अध्यक्ष क्या.रि. नारायण बहादुर गुरुङ, एमभिओको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई समाजका महासचिव सुमन गुरुङले शुरुमा सबैलाई स्वागत गर्दै सुरक्षा तथा स्वास्थ्यबारे कार्यक्रम अवधिभरि पालन गर्नका लागि जानकारी दिएका थिए साथै कार्यक्रमको सञ्चालन सफलतापूर्वक गरेका थिए । विधिवत कार्यक्रमलाई समाजका सबै महानुभावहरुको आसान ग्रहण पश्चात सभाध्यक्षद्वारा पानसमा द्वीप प्रज्वलन गरेर अधिवेशन प्रारम्भ गरिएको थियो।

समाजका उपाध्यक्ष हिराप्रसाद गुरुङले आफ्नो स्वागत मन्तव्य प्रकट गर्नेक्रममा सबैलाई स्वागत तथा आभार व्यक्त गर्दै दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनमा आफूले लामो समयदेखि उपाध्यक्षको हैसियतमा रहेर समाजका लागि जिम्मेवारी वहन गर्नेक्रममा आफूलाई सहयोग गरेका व्यक्तित्व तथा आमा समूहलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए। उनले आफू अध्यक्षको दावेदार रहेतापनि अध्यक्ष पदका लागि प्रस्ताव पेश गरेका समाजका सल्लाहकार श्रीचन्द्र गुरुङलाई समर्थन गर्ने मन्तव्य प्रकट गरेका थिए।

स्वागत मन्तव्य पछि समाजका वरिष्ठ सल्लाहकार मोहन गुरुङले आफ्नो छोटो मन्तव्यमा अधिवेशन सफलताका लागि शुभकामना दिएका थिए तथा सबै मिलेर समाजलाई सहि दिशा दिनुपर्ने विचार प्रकट गरेका थिए। मन्तव्य प्रकट गर्नेक्रम सकिए लगत्तै समाजका महासचिव सुमन गुरुङले आफ्नो कार्यकाल भरिका कार्यक्रमहरु बारे प्रकाश पारेका थिए । त्यसपश्चात समाजको कोषाध्यक्ष रुद्र गुरुङले समाजको हालसम्मको बजेटबारे प्रकाश पारेका थिए। हलबाट समाजका सदस्य हरि गुरुङ, केश गुरुङ तथा सल्लाहकारद्वय सुमल कुमार गुरुङ तथा हरि(गोविन्द) गुरुङले केहि बुँदा तथा रकमहरु उपर जिजासा राखेका थिए। ती जिज्ञासाहरुलाई कोषाध्यक्षले दिनुपर्ने स्पष्टिकरण तथा हाउजिङ कोअर्डिनेटर श्रीचन्द्र गुरुङले केहि रकमबारे प्रष्ट पारेपछि हलद्वारा प्रस्तुत बजेट प्रत्तिवेदन पारित गरेको थियो।

हाउजिङ कोअर्डिनेटर श्रीचन्द्र गुरुङले पावरप्वाईन्टको माध्यमबाट हालसम्म सङ्कलित रकमको विवरण प्रस्तुत गरेका थिए। अन्तमा प्रत्तिवेदनहरु उपर छलफल भएपछि समाजको संशोधित विधान समाजका सल्लाहकार सुमलकुमार गुरुङले प्रस्तुत गरेका थिए। विधानको अंग्रेजी तथा नेपालीमा उल्था गरिएको ह्याण्डआउट अधिवेशानमा सहभागी संस्थाका सदस्यहरुलाई अधिवेशन शुरु हुनु अघि नै वितरण गरिएको थियो। विधान प्रस्तुत गरेपछि हलबाट उठेका टिप्पणीहरु उपर छलफल गरेर हलले विधान पारित गरेको थियो।

त्यसपछि अध्यक्षले धन्यवाद ज्ञापन गरेर समाजको पाँचौ कार्यकारी समिति विघटन भएको घोषणा गरेका थिए साथै बन्दसत्रको समय अघि सुमल कुमारको संयोजनमा रहेको तीन जना निर्वाचन मण्डली (सुमलकुमार गुरुङ, मोहन गुरुङ तथा हरि गुरुङ)लाई नयाँ समिति चयनका लागि अनुरोध गरेका थिए।

आधा घण्टाको लागि खानपिनको विश्राम पश्चात फेरी निर्वाचन मण्डलले नयाँ कार्यकारी समिति चयनका लागि आव्हान गरेको थियो। संयोजक सुमलकुमार गुरुङले निर्वाचनको प्रक्रिया तथा पालना गर्नुपर्ने आचार संहिताबारे प्रकाश पारेपछि निर्वाचन प्रक्रिया शुरु भएको थियो। अत्यन्त शान्त र सभ्य वातारणबिच सम्पन्न भएको निर्वाचनमा श्रीचन्द्र गुरुङको अध्यक्षतामा बाँकी पदाधिकारीहरु र सदस्यहरुको चयन निर्विरोध भएको थियो। उपाध्यक्षद्वय हिराप्रसाद गुरुङ र कमला गुरुङ, महासचिव सुमन गुरुङ, सहसचिव केबल (निर्मला)गुरुङ, कोषाध्यक्ष जुन गुरुङ, सहकोषाध्यक्ष हरि (ह्यारी) गुरुङ तथा सदस्यहरुमा क्रमशः यामु गुरुङ, तारादेवी गुरुङ, लक्ष्मि गुरुङ र नन्दराज गुरुङ निर्विरोध निर्वाचित भएका छन्। बाँकी चयन गर्नुपर्ने कार्यकारी समितिका सदस्यहरु नवनिर्वाचित कार्यकारी समितिले निर्णय गर्नेगरि निर्वाचन प्रक्रिया समापन गरेको थियो।

निर्वाचित समितिका पदाधिकारीहरु र सदस्यहरुलाई निर्वाचन मण्डलका सदस्य हरिगुरुङले शपथ ग्रहण गराएका थिए। निवर्तमान अध्यक्ष तथा पूर्वकार्यकारी समितिका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेर निर्वाचन मण्डलले खादा ओढाएर सम्मान गरे पश्चात निर्वाचन मण्डलका सदस्यहरुलाई पनि निवर्तमान अध्यक्षले नयाँ कार्यकारी समिति सफलतापूर्वक चयन गरेको उपलक्ष्यमा धन्यवाद तथा खादा ओढाएर सम्मान गरेका थिए।

नवनिर्वाचित कार्यकारी समितिका अध्यक्ष लगायत पदाधिकारीहरु तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै खादाद्वारा सबैलाई सम्मान गरेका थियो। अन्तमा नवनिर्वाचित अध्यक्ष श्रीचन्द्र गुरुङले आफ्नो आभार व्यक्त गर्दै दक्षिणपूर्व क्षेत्रीय तमुधि लण्डनको प्रबर्धनंका लागि आफ्नो कटिबद्धता जाहेर गरेका थिए।





Comments

comments

3004