अस्पतालको शैयामा पशु झैं बाँधिएका निलम्बित सांसद चौधरी, जनताले सांसद बनाए, अदालतले कैदी

अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन।

तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए । यसलगत्तै कर्मचारी तथा प्रहरीमाथि कारबाही प्रक्रिया पनि सुरु भएको छ।

अहिले नेल लगाएको तस्बिर सार्वजनिक भएपछि धेरै चर्चा भएको छ, तर मैले पाएको मानसिक यातनाको कुनै हिसाब छैन । म एउटा नागरिक हुँ र जनप्रतिनिधि हुँ । जनताले जिताएका छन् र सभामुखले शपथ खुवाएका छन् । तर, एउटा जनप्रतिनिधिलाई जेलमा राखिएको छ, नेल लगाइएको छ र दिसा–पिसाब गर्न जाँदा नेल खोलिदेऊ भनेर याचना गर्नुपरेको छ । यो सम्पूर्ण जनप्रतिनिधि र जनताको मतमाथि गरिएको अविश्वास हो।

मैले प्रहरीका साथीहरूलाई यसो नगर्नुस्, कानुनको सम्मान गर्नुस् भनेको थिएँ । तर, उनीहरूले ‘ह्या ! ठोकिदिऊँ, यो को हो र ? जाबो कैदी त हो’ भनेर नेल लगाए।

बाबुराम (भट्टराई)जी आउनुभयो, उहाँले तस्बिरसहित ट्विट गरिदिनुभयो । त्यसले एउटा जनमत बनायो । अहिले नेल हटाइएको छ । तर, हाम्रो राज्यको मानसिकता के हो ? सरकार र प्रशासनको अहं के हो भन्ने यसले स्पष्ट पारेको छ । यो विषयमा बोल्ने दायित्व मेरो मात्र होइन, मानवअधिकारको सम्मान गर्ने सबैको हो। यो समाचार नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र नरेश ज्ञवालीले लेखेका छन्।





Comments

comments

30063