कसले मच्चायो काठमाडौंमा सुई आतंक ?

अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन्।

प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी–ढल्कु क्षेत्रमा राति ९ देखि १० बजेको अवधिमा भएको देखिन्छ ।
पाँचैवटा घटनामा पैदल हिँडिरहेका बेला मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले सुईजस्तै तिखो वस्तुले घोच्ने र फरार हुने समान प्रवृत्ति देखिन्छ । सुईजस्तै वस्तुले घोचिएका भनिएका युवतीमध्ये तीन जना स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत पुगेका छन् ।

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेसम्म केले घोचिएको हो भन्ने निष्कर्ष ननिस्किएको बताए । प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले सुईले नै घोचेको भन्ने चिकित्सकीय पुष्टि भइनसकेको बताए । ‘तिखो वस्तुले घोचेको देखिए पनि सुई भन्ने पुष्टि भइसकेको छैन,’ उनले भने । प्रहरीका अनुसार मोटरसाइकलमा आएर सुईले घोच्नेबित्तिकै भाग्न त्यति सजिलो देखिँदैन । घोचिहाले पनि बाहिर लामो धर्कोजस्तो दाग हुन्छ । ‘तिखो वस्तुले घोचेको भए पनि सुई नै हो भन्न सकिने स्पष्ट आधार देखिँदैन,’ बोगटीले भने ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी लालध्वज सुवेदीका अनुसार नयाँ घटना बाहिर आउन थालेपछि पुराना घटना पनि प्रहरीकामा आउन थालेका छन् । स्वयम्भू वृत्तमा जेठ २० र २९ गते भएको घटनालाई लिएर उजुरी भर्खरै परेको छ । एक युवतीले आफू श्रीमान्सँग हिँडिरहेका बेला मोटरसाइकलमा आएको मान्छे सुईजस्तै तिखो चीजले घोचेर बेपत्ता भएको प्रहरीलाई बताएकी छन् ।

अर्की अविवाहित युवतीले भने साथीहरूसँग हिँडिरहेका बेला मोटरसाइकलमा आएको अपरिचितले पाखुरामा च्वास्स घोचेर भागेको बताएकी छन् । डीएसपी सुवेदीले दुवै घटनाको प्रकृति एउटै देखिएको र समय र क्षेत्र पनि एउटै रहेको बताए । उनले भने, ‘घटना भएको भनिएको क्षेत्रमा व्यापक प्रहरी परिचालन र निगरानी बढाइएको छ ।’

एउटै प्रकृतिको घटनाको विवरण बाहिर आएपछि सर्वसाधारणमा त्रास फैलिन थालेकाले प्रहरी परिसर काठमाडौंले टेकु, ढल्कु, कालीमाटी, पकनाजोल, स्वयम्भू र सोह्रखुट्टे क्षेत्रका कैयन् सीसीटीभी फुटेज संकलन गरेर अनुसन्धान थालेको छ । प्रहरी स्रोतका अनुसार राति र बत्ती नभएको वा मधुरो उज्यालो भएको क्षेत्रमा घटना भएकाले सीसीटीभी फुटेजबाट केही नयाँ तथ्य भने फेला परिसकेको छैन ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी बोगटीले उक्त क्षेत्रमा सक्रिय शंकास्पद ५० व्यक्तिलाई बोलाएर सोधपुछ गरिसकिएको बताए । उनले भने, ‘केही क्लु फेला पारिसकेका छौं । डराउनै पर्ने अवस्था छैन ।’ प्रहरीले पाँचै घटना एउटै व्यक्तिबाट भएको आकलन गरेको छ। यो खबर कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन्।





Comments

comments

30067