फ्रान्सका नक्कली रक्षामन्त्रीले ८० मिलियन यूरो चोरेपछि…

पेरिस: मन्त्री बनेर कुनै व्यक्तिले लाखौं यूरो चोर्नु अपत्यारिलो लाग्न सक्छ। त्यसमा पनि फ्रान्सको रक्षामन्त्री जस्तो संवेदनशील मन्त्री बनेर बैंक घोटाला गर्नु सामान्य कुरा होइन।

फ्रान्समा यस्तै अपत्यारिलो घटना हुन पुगेको छ। सन् २०१५ देखि फ्रान्सका रक्षामन्त्री जँ युव ल द्रिआँ बनेर एक व्यक्तिले ८० मिलियन यूरो (९० मिलियन अमेरिकी डलर) बैंकबाट झिकेका छन्। यसमा आगा खान र शातो मागो वाइनका मालिक लगायतका थुप्रै व्यक्ति पनि पीडित भएका थिए।

बैंकले उक्त रकम रक्षामन्त्रीले नै झिकेको विश्वास गर्दै आएका थिए। इस्लामिक संगठनले खाडी क्षेत्रमा बन्दी बनाएका पत्रकारलाई मुक्त गर्न उक्त रकम झिकिँदा पनि बैंक बेखबर थियो।

फ्रान्सले बन्धक बनाइएका व्यक्तिका लागि आधिकारिक रूपमा फिरौती रकम दिँदैन। नक्कली मन्त्रीले उक्त रकम चीनमा सार्न भनेका थिए। उनले यस्तै धन्दा गर्दै आएका थिए।

‘यो घटनामा सबै कुरा अपवाद देखिएको छ’, ल द्रिआँका तत्कालीन वकील तथा हाल फ्रान्सकी विदेशमन्त्री दल्फीँ मइलले भनिन्, ‘उनीहरूले पदमै रहेका मन्त्रीको नक्कल गर्ने आँट गरे। त्यसकै आधारमा बैंकका निर्देशकलाई प्रभावमा पारे र ठूलो रकम झिक्न सफल भए।’ किन चोरले मन्त्री द्रिआँलाई नै छाने भन्ने विस्तृतमा खुलाएका छैनन्।

फिरौतीको रकम रक्षामन्त्रीले नै माग गर्न सक्ने अनुमानमा चोर फर्जी मन्त्री द्रिआँ बनेको हुनसक्ने बताइएको छ। केहीले भने रक्षामन्त्री सुरक्षालाई ख्याल गरी यस्तो गरिएको हुनसक्ने बताएका छन्।

हाल उक्त मुद्दा विशेष अदालतमा पुगेको छ। गिलबर्ट चिकलीलाई मुख्य मानेर छानबिन भइरहेको छ। हाल उनलाई पेरिसस्थित जेलमा राखिएको छ। यूक्रेनले सुपुर्दगी गरेपछि पेरिस ल्याइएको हो। संगठित रूपमा धोखा दिएको र नक्कली काम गरेको आरोप लगाइएको छ।

ट्युनिशियाली यहुदी पृष्ठभूमिका चिकली मजदुर परिवारमा पेरिसमा हुर्किएका थिए। सन् २०१५ मा पनि उनले फ्रान्सेली संस्थाको प्रमुख बनेर रकम निकालेका थिए। यतिखेर उनी इजरायल पुगेका थिए। त्यहाँको कानूनअनुसार इजरायलले आफ्ना नागरिकलाई सुपुर्दगी गर्न मानेको थिएन। अनुसन्धाताका अनुसार केही समयमै उनले मन्त्री बनेर ट्युनिशिया सरकारका लागि टाइगर हेलिकप्टरलाई ठगेका थिए। जुन कुरा यहाँको सरकारले कहिले आदेश दिएको थिएन। उनले मन्त्रीको हस्ताक्षर गरी लाखौं यूरोको माग गरेका थिए। पछि अन्तिममा यो फर्जी ठहरियो।

यसपछि उनी थप उत्साहित हुँदै गए। उनले यसलाई फिरौती माग गर्ने उपायका रूपमा प्रयोग गरे। उनले फ्रान्सेली रक्षामन्त्री बनेर व्यापारी र अफ्रिकी महादेशका सरकार प्रमुखलाई पनि सहयोग गर्न आदेश दिए। अधिकांश अफ्रिकी मुलुक फ्रान्सका पूर्व उपनिवेश भएकाले फ्रान्सको प्रभाव रहेको छ। उनले यसैलाई पनि भजाउन सके। वर्तमा विदेशमन्त्री मइलका अनुसार चिकलीले सिदक्सँ लगायतका संस्था र आर्कबिशपलाई पनि पैसा सहयोग गर्न भने।

उनले सुरुमा फोन गरेर यो काम गरेका थिए। उनले आफूलाई मन्त्री ल द्रिआँका विशेष सल्लाहकार जँ क्लाउदका रूपमा चिनाएका थिए। यसैले मन्त्रीसँग आफूले यो कुरा गर्ने जानकारी दिएका थिए। बैंकलाई विश्वासमा पारेपछि उनले मास्क लगाएर मन्त्रीको स्वर बनाएर फोन गर्न थाले। उनले स्काइपमार्फत मन्त्रीको मास्क लगाएर तत्कालीन राष्ट्रपति फ्राँस्वा ओलँदको झण्डा र फोटो पनि राख्न थाले। यो खबर अन्नपूर्णपोष्टमा छापिएको छ।





Comments

comments

30070