अब नेपालमा पनि कमेडी च्याम्पियन प्रतियोगिता, विजेतालाई ५० लाख

केकी, रिमा र ऋचा

कुबेर डंगोल –

काठमाडौं, यो वर्षको गाईजात्रा छेका पारेर आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पियन’ प्रशारण हुने भएको छ।

प्रतियोगितामूलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो। कार्यक्रमका निर्देशक बिशाल भण्डारीले काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी अडिसनको तयारीमा रहेको जानकारी गराए।

भण्डारीका अनुसार यो प्रतियोगितामा बरिष्ठ हास्यब्यँग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन्।

बिदेशी हास्य कार्यक्रमको यो कुनै फ्रेन्चाईज नभएको पुष्टि गर्दै यसमा सहभागिता जनाउने बारे आयोजक एवं निर्देशक भण्डारीले भने,‘यो कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पियनको एप्स मोवाईलमा डाउनलोड गर्ने। त्यसपछि नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र बिदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनु पर्ने छ।’

यिनै भिडियोलाई हेरेर निर्णयकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा कमेडी च्यम्पिएयसिपको अडिसनमा सहभागी हुन पाउने छन्। अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने कार्यक्रम निर्देशक, आयोजक भण्डारीले जानकारी दिए। उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ठ कमेडी च्यम्पियन घोषणा गरिने छ । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

अब हाँस्ने हँसाउने

कार्यक्रमको संचालन अभिनेत्री तथा नेपाल आईडलकी सञ्चालिक रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन्। सान थापाले लेख्ने यो कमेडी च्याम्पियनको निर्मातामा अभिनेत्री केकी अधिकारीसहित राज घिमिरे र सृजा थपलिया रहने छन्।

निर्माता एवम् अभिनेत्री केकी अधिकारीले कसैलाई मानहानी नहुने गरी यो नेपालको उच्चस्तरीय स्ट्यम्पड कमेडी आफूहरुले बनाउने पनि कार्यक्रममा बताईन्।

बरिष्ठ हास्यब्यँग्य कलाकार एवं निर्णायक सन्तोष पन्तले आफुहरुको पालामा भन्दा अहिले कमेडी सेन्स दर्शक र कलाकारमा धेरै बढेको बताए। अर्का निर्णायक मनोज गजुरेलले अहिलेको पुस्ताको चाहना अनुसारको कमेडी कार्यक्रम बन्ने विश्वास सो कार्यक्रममा व्यक्त गरे । निर्णायक एवं अभिनेत्री ऋचा शर्माले पनि नेपाली स्ट्यान्डप कमेडीमा यो पहिलो नम्बरको कार्यक्रम बन्ने बताईन्। अर्का निर्णायक प्रदीप भट्टराईले यो कार्यक्रममा धेरै राम्रा कमेडियन जन्माउने विश्वास व्यक्त गरे।





Comments

comments

30352