हङकङ समाचारः विशाल प्रदर्शनको पूर्वसन्ध्यामा शक्तिशाली विष्फोटक पदार्थहरु बरामद, सयौंको जोगियो ज्यान

बरामद वस्तुहरू

न्युज डेस्क , पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, २० जुलाई । सिभिल ह्युमन राईट्स फ्रन्टले आइतवार आयोजना गर्न लागेको विशाल प्रदर्शनको पूर्वसन्ध्यामा प्रहरीले शक्तिशाली विष्फोटक पदार्थ, पेट्रोल बमहरु, एसिड, जलनशील उपकरण, धारिलो हतियार, चक्कु र फलामका रडहरुलगायत बरामद गरेको छ।

प्रस्तावित सुपुर्दगी कानुनको विरोध गर्दै शुरु भएको शान्तिपूर्ण प्रदर्शन हिंस्रक बन्दै जाँदा प्रहरीले शुक्रवार राति चुन वानस्थित लुन सिंह औद्योगिक भवनबाट शक्तिशाली २ किलो विष्फोटक पदार्थ, पेट्रोल बमहरु, एसिड, जलनशील उपकरण, मट्टितेलको क्यान, धारिलो हतियार, चक्कु, फलामका रड, हेलमेट, हाते लाउडस्पिकर, माक्स, चश्मालगायत बरामद गरेको हो।

प्रहरीले हङकङ नेशनल फ्रन्टको लोगो अंकित टि-शर्ट, स्वतंत्रता समूह समर्थित पर्चा तथा पम्प्लेटहरुसमेत बरामद गरेको छ। पर्चामा सुपुर्दगी कानुनविरोधी नारा लेखिएको जनाइएको छ।

प्रहरीले हङकङमा बरामद गरिएको यो नै सबैभन्दा खतरनाक र शक्तिशाली विष्फोटक पदार्थ भएको दाबी गरेको छ।

प्रहरीका अनुसार बरामद गरिएको १ किलो विष्फोट पदार्थको प्रकार टीएटीपी रहेको छ। यसको क्षति अकल्पनीय रहेको प्रहरीको दावी छ। यस्तो विस्फोटक पदार्थ विश्वमा अक्सर आतंककारीहरुले आतंकवादी आक्रमणमा प्रयोग गर्दै आएको जनाइएको छ। यही प्रकृतिको विष्फोटक पदार्थ ७ जुलाई २००५ मा इजरायल र लण्डनमा विष्फोट हुंदा ५२ जनाको ज्यान गएको थियो भने ७ सय घाइते भएका थिए। यसले कारलाई छिन्नभिन्न पार्ने शक्ति राख्ने प्रहरीको दावी छ। अर्का १ किलो विष्फोटक पदार्थको परीक्षण भइरहेको जनाएको छ।

बरामद पेट्रोल बम, पेट्रोल, एसिड, मट्टितेललगायत जलनशील पदार्थ

प्रहरीले २७ वर्षीय युवकलाई पक्राउ गरी अनुसन्धान थालेको छ। हङकङ नेशनल फ्रन्टका प्रवक्ता लेउन चुङ ह्याङले आफ्नो पार्टीको एक सदस्य पक्राउ परेको पुष्टि गरेका छन्। यद्यपि, उनले बरामद भएका विष्फोटक पदार्थलगायतबारे आफूलाई जानकारी नभएको जनाएका छन्।

प्रहरीले शान्ति बिथोलिने र समुदायलाई खतरा हुने काममा नलाग्न अपिल गरेको छ। कानुनमा बर्जित यस्ता पदार्थ प्रयोग गरिएको पाइएमा १४ वर्ष जेल सजाय हुने चेतावनी दिएको छ।

सिभिल ह्युमन राईट्स फ्रन्टले आइतवार आयोजना गर्न लागेको विशाल प्रदर्शनमा कतै यो खतरनाक र शक्तिशाली विष्फोटक पदार्थहरु प्रयोग गर्ने योजना त थिएन? प्रहरीले गम्भीर भएर अनुसन्धान थालेको छ। यदि यहि योजना थियो र प्रहरी चुकेको भए लाखौंको संख्यामा निस्केको प्रदर्शनमा धेरै ठूलो र अकल्पनीय मानवीय क्षति हुन सक्थ्यो। धन्न, प्रहरीले अहिले ठूलो दुर्घटनाबाट जोगाएको छ।

सुपुर्दगी कानूनको पूर्ण खारेजी नभएसम्म र हङकङकी कार्यकारी प्रमुख केरी लामले राजीनामा नदिएसम्म यो आन्दोलन तत्काल रोकिने सम्भावना छैन। हरेक जसो शनिवार र आइतवार हुंदै आएको प्रदर्शन उग्र र हिंस्रक बन्दै जानु र प्रदर्शनअघि प्राणघातक विस्फोटक पदार्थहरु बरामद हुनु निश्चय नै शुभ संकेत होइन।

फोटो सौजन्यः एससीएमपी / फेफिक्स वङ

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

30816