हङकङ समाचारः युन लङ आक्रमणविरुद्ध प्रदर्शनअघि युवकमाथि छुरा प्रहार

चोट लागेका युवक वायाँ, पक्राउ परेका बृद्ध दायाँ।

पशन तमू | न्युज डेस्क / एचकेनेपाल डट कम –

न्युज अपडेटः प्रहरीले टियर ग्यास हान्यो, यसरी भयो झडप हेर्नुहोस् भिडियो

युन लङ, हङकङ २७ जुलाई। प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न टियर ग्याँस प्रहार गरेको छ।

प्रहरीले अन्धाधुन्ध मरिचको झोल छर्किदाँ केही पत्रकारहरुको आँखामा लागेको छ। हाम्रा वरिष्ठ फोटोपत्रकार जगतअम्बु गुरुङको आँखामा मरिचको झोल परेको छ। केहीबेरको प्राथमिक उपचारपछि अहिले गुरुङ ठीक भएका छन्।

हेर्नुहोस् झडपको भिडियोः

गत आइतवार भएको युन लङ आक्रमणको विरुद्ध आज प्रदर्शन हुनुअघि युन लङमा एक युवकमाथि छुरा प्रहार भएको छ।

गुलाबी टि-सर्ट लगाएको एक बृद्धले युवकमाथि फलफूल काट्ने छुराले प्रहार गरेको हो। समाचार स्रोतका अनुसार ‘कालो वश्त्रधारीले मान्छे मार्छ’ भन्दै आक्रोश पोख्दै आक्रमण गरेका थिए। घाइते युवक भने ग्रे रंगको टि-सर्टमा थिए।

आक्रमणबाट आफूलाई बचाउंदा युवकलाई पेटमा सामान्य मात्र चोट लागेको छ। उनलाई उपचारको लागि अस्पताल लगिएको छ। प्रहरीले छुरा प्रहार गर्ने बृद्धलाई पक्राउ गरेको छ।

यसरी देखिए सेता वश्त्रधारी समूह

प्रदर्शन हुनअघि युन लङमा केही सेता वश्त्रधारी समूह देखिन थालेका छन्। सोही समूहले गत आइतवार युन लङ रेल स्टेशनमा अन्धाधुन्ध आक्रमण गर्दा ४० जनाभन्दा बढी घाइते भएका थिए।

युन लङमा सेतो वश्त्रधारी समूह शनिवार पनि देखिन थालेका छन्। तस्वीरः @galileocheng

प्रस्तावित सुपुर्दगी कानुनको विरोध गर्दै शुरु भएको हङकङको आन्दोलन यतिबेलासम्म आउंदा निक्कै तनावग्रष्त बन्न पुगेको छ।

गत आइतवार युन लङ स्टेशनमा भएको आक्रमणपछि यहाँका स्थानीय जनता भयभीत भएका छन्। सोमबार दुई समूहबीच झन ठूलो भिडन्त हुने अफवाहले युन लङ बजार दिउंसै बन्द भयो। योहो सोपिङ मलसहित सबै दुकान-पसल बन्द भए। एक किसिमले युन लङ बजारमा दिउंसै मुर्दाशान्ति छायो।

युन लङ आक्रमण

तर, त्यस्तो कुनै अप्रिय घटना घटेन। भोलिपल्ट मंगलवार यहाँको जनजीवन सामान्य बन्दै गयो। यद्यपि, आक्रमक समूहलाई साथ दिएको भन्दै बेइजिङसमर्थक विधायक जुनियस होको चुन वानस्थित कार्यालयमा तोडफोड भयो। केही उग्र समूहले उनका स्वर्गीय अभिभावकको समाधिसमेत तोडफोड गरे। अहिले विभिन्न बहानामा हङकङमा आन्दोलनको स्वरुप बढ्दै गएको छ। एकै पटक विभिन्न ठाउंहरुमा स्वतस्फूर्त प्रदर्शनहरु भइरहेका छन्।

विमानस्थलभित्र प्रदर्शन। फोटो सौजन्यः @yuenok

हिजो शुक्रवार हङकङको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलभित्र आन्दोनकारीले झण्डै १२ घण्टा नाराबाजी गरे। अन्तर्राष्ट्रिय समर्थन जुटाउन र हङकङ आउने पर्यटकलाई हङकङमा किन आन्दोलन भइरहेको छ त्यसको जानकारी दिन आगमन कक्षमा प्रदर्शन गरेको आयोजकले बताएको छ। उनीहरुले ‘हङकङ सुरक्षित छैन। हङकङ प्रहरी र सरकारको विश्वास नगर’ जस्ता प्ले कार्ड र व्यानार बोकेका थिए।

आज शनिवार युन लङमा वृहत प्रदर्शन हुने भनिएको छ। यद्यपि प्रहरीले युन लङमा प्रदर्शन गर्न रोक लगाएको छ। झण्डै १ हजार निवेदन आएपछि प्रहरीले पहिले दिने भनिएको प्रदर्शन अनुमति रद्द गरेको हो। दुई समूहबीच हिंसा भड्किने सम्भावना रहेको भन्दै स्थानीयले जीउ धनको सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले प्रदर्शनमा बन्देज लगाएको हो।

टियर ग्यासले आँखा पोलेका प्रदर्शनकारीलाई प्रहरीले पानी खन्याएर सहयोग गर्दै। फोटोः @keentbelieve

यद्यपि, आयोजकले युन लङ आक्रमणको विरुद्ध युन लङमा वृहत प्रदर्शन गर्ने भन्दै भेला हुन सामाजिक सञ्जालहरुमा सूचना जारी गरेको छ। उनीहरुले प्रहरी बन्देजको अवज्ञा गर्दै प्रदर्शन गर्ने जनाएको छ। प्रहरीले युन लङमा हुने भनिएको प्रदर्शनमा सहभागी नहुन आग्रह गरेको छ। बन्देज लगाएको भेला र प्रदर्शनमा सहभागी हुनु अवैध र गैरकानुनी हुन् भन्दै प्रहरीले चेतावनी दिएको छ।

प्रहरीले शनिवारको प्रदर्शनमा बन्देज लगाएको छ। फोटोः @anti_elab

यसैबीच, हङकङमा चर्किदै गएको आन्दोलन मत्थर नभएपछि सरकार चिन्तित बनेको छ। प्रदर्शनकारीले गत आइतवार हङकङस्थित चीनको सम्पर्क कार्यालयमाथि अण्डा र कालो रंग छर्केपछि बेइजिङ आक्रोशित बनेको छ। हङकङले सहयोग मागेमा चीनले तुरुन्त चिनीयाँ आर्मी (पीएलए) पठाउंन सक्ने संकेत दिएको छ। यदि आन्दोलन उग्र बन्दै गएर अनियन्त्रित भयो र चिनीयाँ आर्मी हङकङमा परिचालन भयो भने त्यो निश्चय नै सबैभन्दा ठूलो दुर्भाग्य हुने छ।

यस सम्बन्धी सम्पूर्ण समाचारहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

30972