अमेरिकी अदालतले नेपालीहरुको चुनाब गराउने

विजय थापा / एचकेनेपाल डट कम –
मंगसिर १९, डिसी। अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको सर्किट अदालतले अमेरिकाको डिसीमा १९८३ मा दर्ता भएको नेपालीहरुको छाता संगठन दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)को निर्वाचन आउदो डिसेम्बर २४ तारिखमा गरि दिने भएको छ।

एएनएको निर्वाचन सम्पन्न गराउन अदालतबाट नियुक्त भएका ट्रस्टी डेनिएल ए लाप्लासाले निर्वाचन सम्बन्धि छापा बिज्ञप्ति मार्फत संस्थाका सदस्य तथा संचार माध्यमलाई बिस्तृत रुपमा जानकारी गराएका छन्।

मुलुक बाहिर अदालतको पहलमा नेपालीहरुको विवाद समाधान गर्न अदालतको पहलमा चुनाब गराई दिन लागेको यो नेपाली समुदायको ईतिहासमा विश्वमा नै पहिलो घटना हुन् पुगेको छ। जस अनुसार डिसेम्बर ५ तारिखभित्र सदस्यहरुको प्रमाणीकरण गर्ने समय निर्धारण गरिएको छ भने डिसेम्बर ९ तारिखमा प्रस्तावित सदस्य सूची प्रकाशन गर्ने उल्लेख गरेका छन्।

यसै गरि बिधान अनुसार उम्मेदवार हुन् चाहना राख्नेले डिसेम्बर १५ सम्म मनोनयन भर्नु पर्ने जानकारीसहित डिसेम्बर २४ देखि डिसेम्बर ३१ तारिख सम्म बिधुतिय प्रणालीबाट निर्वाचन गरिने जानकारी दिएका छन्।

आउदो डिसेम्बर २४ तारिखमा हुने निर्वाचन तीन पटक असफल भएपछि चौथो पटक हुन् लागेको हो। २०११ मा आजीवन सदस्य तथा साधारण सदस्यको बिषयलाई लिएर मतभेद उत्पन्न भएपछि एएनएको निर्वाचन अदालतमा पुगेको थियो भने गत जुलाई ४ तारिखमा ३२ औ एएनए डिसी सम्मेलनमा निर्वाचन गर्ने समय तोकिएता पनि अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको सर्किट अदालतमा निर्वाचन स्थगित गरि पाउँ भनि एएनएका पूर्व पदाधिकारीहरुले मुद्धा दायर गरेपछि निर्वाचन स्थगित हुन् पुगेको थियो।

तेस्रो पटक अदालतबाट नियुक्त भएका ट्रस्टी डेनिएल ए लाप्लासाले गत अगस्त २०१४ मा निर्वाचन गराउन समिति समेत गठन गरेता पनि सदस्यताका बिषय तथा अन्तरिम कार्यकारी समितिका वर्तमान पदाधिकारीहरुले निर्वाचनमा उम्मेदवारी दिन नपाउने भनि अगाडि सारिएको प्रस्तावको बिषयमा मतभेद भएपछि समिति भंग हुनुको साथै निर्वाचन स्थगित हुन् पुगेको थियो।

अमेरिकामा नेपालीहरु बीच अदालतको ढोका ढक ढकाउन गएका कैयौ घटनाहरु भएका छन् तर नेपाली समुदायको निर्वाचन नै अदालतले गर्ने गरि अख्तियार सुम्पिएको पहिलो भएको छ।

निर्वाचनको नतिजा जनवरी ५ तारिख गरिने उक्त छापा बिज्ञप्तिमा जनाउदै ट्रस्टी डेनिएल ए लाप्लासाले सदस्यको पूर्ण ठेगाना ,सदस्य भएको प्रमाणीकरण गर्नु पर्ने, सदस्यता शुल्क तिरेको भरपाई राख्नु पर्ने तथा एएनए को गोस्वारा खातामा दर्ता भएको हुनु पर्ने जस्ता कुराहरु अदालतले निर्णय गर्दै सोहि अनुसार आदेश दिएको उल्लेख गरेका छन्।

श्रोत अनुसार अदालतबाट नियुक्त भएका ट्रस्टी डेनिएल ए लाप्लासाको खर्च अदालतमा मुद्धा दायर गर्ने वादी र प्रतिवादीले बेहोर्नु पर्ने बुझिएको छ।





Comments

comments

3144