लास जलिरहँदा उनी भक्कानि रहे…

सुर्खेत, २५ मंसिर। बाजुरा गोत्रीका किसम दर्जीका आँखा बुधबार दिनभर ओभाएनन्। आइतबार साँझ सुर्खेतमा भएको बस दुर्घटनामा छोरा रामबहादुर दर्जी गुमाएका उनी धेरैपटक बेहोस भए। भारतमा कमाउन जाने भन्दै घरबाट हिँडेका छोराको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि दुई दिन लगाएर सुर्खेत आएका किसमका आँखाबाट बगेको आँसु देखेकाले पनि मन थाम्न सकेनन्।

भेरी किनारमा छोराको लास जलिरहँदा उनी भक्कानिरहे। वैशाखमा पत्नी गुमाएका किसमका कमाएर ल्याउने दुई छोरामध्ये एक दुर्घटनामा गुमे भने अर्का घाइते भए। सोही दुर्घटनामा भाइ लालवीरे दर्जी, बुहारी बेवस्ता दर्जी र भतिजा गुमाएका गोत्रीकै दीर्घ दर्जी आफन्त गुमाउँदाको पीडा सहन नसकेर भेरी किनारमा दिनभर रोइरहे। उनले भक्कानिँदै भने, ‘मेरो परिवार नै नाश भयो, अब कसरी घर फर्कने?’

भेरी किनारमा परिवारका सदस्यहरूको लास जलिरहँदा मन थाम्न नसकेर भक्कानिएका उनलाई सम्झाउने कोही थिएन। मलामी बनेर गएका प्राय: सबैका आफन्तको लास जलिरहेको थियो। आफन्त गुमाएका कारण सबैजना डाँको छाडेर रोएपछि भेरी किनार स्तब्ध बन्यो।

आइतबार सुर्खेतको पोखरीकाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये बाजुरा गोत्रीका १६ जनाको शव बुधवार भेरी किनारमा सामूहिक रूपमा जलाइएको छ। कमाउने र परिवारका सदस्यलाई निकोनौलो ल्याउने सपनासहित गाडी चढेका गोत्रीका ४३ मध्ये १६ को मृत्यु भएको छ भने बाँकी केही अस्पतालको शय्यामा मृत्युसँग जुधिरहेको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ।

सुर्खेत बस दुर्घटनामा मलामी पनि बाँकी रहेनन्
सुर्खेत,२४ मंसिर। हिउँदको खेती सकियो। बाजुराको गोत्री गाविसका सबै एकै ठाउँमा बसेर सल्लाह गरे, एकै दिन घर छोड्ने। सल्लाहअनुसार शनिाबार भारत जाने निधो मात्र गरेनन्, ४७ जना एकैसाथ गाउँबाट निस्किए पनि। अधिकांश श्रीमतीसहित बालबच्चा लिएर निस्किए।

गाउँलेले सबै जाने भएपछि गोत्री–३का लालबिरे दमाई पनि श्रीमती र छोरासहित यात्रामा हिँडे। साँझ कालिकोटको जितेगडामा बास बसे। ‘आइतबार बिहान श्रीमान् लालबिरे दमाईसँगै गएका साथीहरुसँगै कैलाली टिकापुरसम्मको टिकट लिए। तर साँझ नपर्दै कहिल्यै नफर्किने गरी गए’, श्रीमती चौपता सार्कीले रुँदै भनिन्।

चौपताको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। आइतबार साँझ सुर्खेतको कालेखोलमा दुर्घटना हुँदा १८ को मृत्यु र ४९ जना घाइते भएका छन्।

सार्की दम्पती नयाँ वर्षमा घर फर्कने गरी भारतको कमाउ जान लागेका थिए। लाबिरेको साथमा छोरा विपिन र श्रीमती चौपता सार्की पनि सँगै थिए। आमा –छोरा सिटमा बसे। लालबिरेले बस्ने सिट पाएनन्। उनी मुढामा बसेका थिए। १० वर्षमुनिका दुई छोरा र एक छोरी आफन्तको जिम्मा लगाएर गएका लालबिरे र उनका जेठो छोरा विपीन सार्की कहिल्यै फर्किने छैनन्।

गोत्री–१ का साउने सार्की र कुसनकला सार्की पनि नफर्किने खगरी गएका छन्। गोत्री गाउँ यतिबेला शोकाकुल बनेको समाचार राजधानी दैनिकमा छापिएको छ। गोत्री १ र ३ का मात्र सात / सात जनाको ज्यान गएको छ। ‘गाउँमा मलामीसमेत छैनन्, भएभरका सबै युवा सँगै थिए, गाउँघरमा नावालक र वृद्द–बृद्दा मात्रै छन्। ती रुनमै ठिक्क छन्’ स्थानीय वीरबहादुर शाहीले भने। हिँउदको महिना घरमा काम नहुने भएकाले यहाँका सबैजसो स्थानीय कामका लागि वर्षेनी भारत जाने गर्दछन्। गरिब र विपन्नता यसको पहिलो कारण हो।





Comments

comments

3214