अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गौलाको डर लाग्दो व्यापार…

सेटिङमा मिर्गौला व्यापार

मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गाैला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन।

दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ। हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गाैला बेचबिखन गरेको घटना सार्वजनिक भएको छ।

यसको सञ्जाल गाउँदेखि काठमाडौं र काठमाडौंदेखि भारतका सहरमा हुने गरेको छ । स्रोतका अनुसार काँकडभिट्टा–पानीटंकी, वीरगन्ज–रक्सौल, भैरहवा–सुनौली ओसारपसारका साझा बिन्दु हुन्।

मुख्यतः घरपरिवारको खर्च जोहो गर्नका लागि न्यून आए भएकाहरू मिर्गौला दिन तयार हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ५ देखि १० प्रतिशतसम्म सबै खालको मिर्गौला प्रत्यारोपणका घटनामा प्रापकले अंग खरिदका लागि अन्य देशको भ्रमण गर्ने गर्छन्।

राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनअनुसार गरिब परिवार नै मानव अंग बेचबिखनबाट पीडित हुने गरेका छन् ।बिचौलियाहरूले मिर्गौला प्रत्यारोपण गर्न चाहनेहरूलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म उपलब्ध गराउने आश्वासन दिने गरेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाउँछ।

तर, प्रत्यारोपण गरिसकेपछि पीडितले २० हजारदेखि ३० हजार रुपैयाँसम्म पाउने गरेको प्रतिवेदनले देखाउँछ। मिर्गौला बिक्री गर्नेहरूको जालो बढ्दै गए पनि तथ्यांक एकीकृत हुन सकेको छैन। यो समाचार राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।





Comments

comments

32302