अनेसास बेलायत च्याप्टरको बृहत साहित्यिक कार्यक्रम

सुमलकुमार गुरूङ / एचकेनपाल डट कम –
लण्डन। दिनांक २७ डिसेम्बर २०१४को दिन विलविच लण्डन स्थित थेम्स हाउस, एलसिआईएस कलेजको सभा हलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसासं) बेलायत च्याप्टरको बृहत साहित्यिक कार्यक्रम अत्यन्त भव्यताको साथ सम्पन्न भएको छ।

यस कार्यक्रमलाई नेपाली वाङमयका दुई उज्वल नक्षत्रहरु क्रमशः भुपि शेरचन तथा लैनसिंह वाङ्देलका जन्म जयन्तीको अवसर पारेर सम्पन्न गरिएको थियो। कार्यक्रमको संयोजन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय युरोप क्षेत्रका उपाध्यक्ष तथा अनेसास बेलायत च्याप्टरका सल्लाहकार सुमलकुमार गुरुङले गरेका थिए।

अनेसास बेलायत च्याप्टरका अध्यक्ष डा. रुपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमलाई बेलायतकी चर्चित उद्घोषिका स्रष्टा, अनेसास बेलायत च्याप्टरकी महासचिव लक्ष्मी थापा राई (लारा)ले अत्यन्त प्रभावशाली शैलीमा कार्यक्रमलाई अविरल सञ्चालन गरेकी थिईन्। कार्यक्रमको प्रमुख अतिथि अनेसासका सल्लाहकार डा.किवताराम श्रेष्ठ, विशेष अतिथिहरुमा, अनेसासका केन्द्रिय सल्लाहकार खगेन्द्र नेपाली, विश्व साहित्य महासंघका अध्यक्ष विश्वदीप तिगेला, पूर्व अनेसास केन्द्रिय युरोप क्षेत्रका अध्यक्ष जगत नवोदित तथा अन्य अतिथिहरुमा नेपाली प्रत्तिभा प्रतिष्ठान बेलायतका अध्यक्ष दयाकृष्ण राई, नेपाली साहित्य विकाश परिषदका उपाध्यक्ष दुर्गा प्रसाद पोख्रेल, किराँत राई संस्कृति संघका अध्यक्ष तथा संघिय लोकतान्त्रिक समाज पार्टीका केन्द्रिय सदस्य भगवान चामलिङ, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रत्तिष्ठान बिओटीका अध्यक्ष खगेन्द्र पाठक, हङकङ नेपाली मञ्च बेलायतका महासचिव खुशी लिम्बु, दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनका अध्यक्ष श्रीचन्द्र गुरुङ तथा त्रिभूवन विश्वविद्यालयमा प्रध्यापन गर्दै आएकी कवियात्री शुमाया राई आदि थिए।

कार्यक्रमको शुरुमा कार्यक्रमबारे प्रकाश पार्दै अतिथि तथा सहभागीहरुलाई आसन ग्रहण गराएपश्चात कार्यक्रमलाई प्रमुख अतिथि तथा सभाध्यक्षद्वारा पानसमा द्वीप प्रज्वलन गरेर कार्यक्रम प्रारम्भ गरेको थियो। कार्यक्रम सञ्चालिका लाराले भुपि शेरचन र लैनसिंङ वाङ्देलको जीवनी्रवारे प्रकाश पार्दै सहभागीहरुबाट श्रद्धाञ्जलि अर्पण गराएकी थिईन्। बेलायतमा भुपि शेरचन र लैनसिंह वाङ्देलको जन्मजयन्ती संयोजक सुमलकुमार गुरुङद्वारा संयोजन गरेर मनाईएको यो दोश्रो वर्ष हो। यसपालीको कार्यक्रममा विशेष मन्तव्य प्रकट गर्ने क्रमलाई अर्कै ढंगले सञ्चालन गरिएको थियो। समयलाई विशेष मध्येनजर राख्दै अतिथि तथा सर्जकहरुलाई मञ्चमा अमान्त्रित गरि सोझै कविता, गीत तथा गजल वाचन गराउँदै आ–आफ्नो मन्तव्य प्रकट गर्ने सिलसिला राखिएको थियो।

झण्डैं दुईदर्जन सर्जकहरुले आ–आफ्नो सिर्जना पस्कन सफल यस कार्यक्रममा भर्खरै नेपालमा विमोचन गरिएको सुमलकुमार गुरुङ तथा डा. रुपक श्रेष्ठका कृतिहरु उपरपनि कार्यक्रममा समीक्षा गरिएको थियो। सुमलकुमार गुरुङका कृति, “अतीतको आँखिझ्यालबाट नियाल्दा” (संस्मरण)को बारेमा कवि जगत नवोदित द्वारा सुमलकुमार गुरुङका जीवनको ३५वर्ष सम्मको भोगाईमा समाजको लागि गरिएका तथा जीवनमा उदाहारणीय परोपकार गरिएको कृति एउटा उत्तम दस्तावेजरुपी साहित्यिक कृति रहेको अभिव्यक्ति आफ्नो समीक्षात्मक टिप्पणीमा प्रस्तुत गरेका थिए भने डा. रुपक श्रेष्ठद्वारा सिर्जित मुक्तक सङ्ग्रह, “पोख्तक”बारे विभिन्न काव्यश्रृङ्गार र कविताको नवरसबारे जानकारी दिलाउँदै उनको मुक्तक सङ्ग्रहमा पूर्णता रहेको अभिव्यक्तिलाई कवि दुर्गाप्रसाद पोख्रेलले बडो सटिक ढंगले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए।

अहिलेसम्म बेलायतमा सम्पन्न साहित्यिक कार्यक्रमहरु भन्दा केहि पृथक तथा शान्त कवितामय माहोल बनेको यस कार्यक्रममा २५जना सर्जकहरुका विभिन्न मिठा गीत, कविता, गजल तथा मुक्तकहरुको रसस्वादन सहभागहिरुले गर्ने मौका पाएका थिए। डेढ बजे सञ्चालन गरेको कार्यक्रम आबेर साँझ साडे ६बजेसम्म निरन्तर रहेको थियो । कार्यक्रम क्रमिकरुपमा सहभागी सर्जकहरु, अतिथिहरु, विशेष अतिथिहरु क्रमशः खगेन्द्र नेपाली, विश्वदीप तिगेला, प्रमुख अतिथि डा. कविताराम श्रेष्ठ लगायत सबैले आ–आफ्नो मन्तव्य तथा सिर्जनाहरु व्यक्त गरेका थिए।

कार्यक्रमको अन्ततिर संयोजक सुमलकुमार गुरुङले आफ्नो कृति तथा समिक्षाबारे संक्षिप्त प्रकाश पार्दै यस कार्यक्रमलाई संयोजन तथा व्यवस्थापन गर्नेक्रममा आफ्नै जीवनसंगिनी सारादेवी गुरुङले व्यवस्थापनमा सहयोग पुर्याएर सहयोग गरेकीमा उनलाई, उनकी साली लक्ष्मि गुरुङ र अनामिका गुरुङ तथा सम्पूर्ण सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । सुमलकुमार गुरुङले प्रमुख अतिथि डा.कविताराम श्रेष्ठको पुस्तकबारे, अनेसास केन्द्रिय अध्यक्ष, पदम विश्वकर्मा द्वारा कार्यक्रमबारे पठाएका पत्र र नेपालबाट अन्नपूर्ण दैनिकसंग आबद्ध कवि दिल्ली आचार्यले पठाएका कविता वाचन गरेर सुनाएका थिए।

कार्यक्रमको बिट मार्नेक्रममा डा. रुपक श्रेष्ठले आफ्नो मुक्तक सङ्ग्रहबारे प्रकाश पार्दै “पोख्तक” आफ्नो जन्मभूमिलाई शिरोपर गरि यस मार्फत आफू जन्मेको स्वर्गरुपी धर्तीलाई केहिगुण तिर्ने जमर्को रहेको कुरा बताएका थिए। उनले कृतिबाट केहि मिठासपूर्ण मुक्तकहरु छानेर दर्शकदिर्घलाई सुनाएका थिए तथा सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गरेका थिए।

यस कार्यक्रममा गीत, गजल, मुक्तक, रुबई तथा कविताहरु वाचन गर्रे झरी नै वर्षेको थियो । गीत गाउने तथा वाचन गर्नेहरुमा क्रमशः नवराज घिमिरे, भगवान चामलिङ, गणेश पुन, दयाकृष्ण राई, किरण टी लिम्बू, लिला गुरुङ, सबि श्रेष्ठ, दुर्गा पोख्रेल, खगेन्द्र पाठक, खगेन्द्र नेपाली, सुमल गुरुङ, डा. रुपक श्रेष्ठ, सारादेवी गुरुङ, विश्वदीप तिगेला, कविताराम श्रेष्ठ, गोकुल भण्डारी, शुमाया राई, खुशी लिम्बू, दिलु मुकारुङ, मन्जु भण्डारी, नारायण गाउले, कृष्ण शिवाकोटी, राजकुमार श्रेष्ठ तथा लारा आदि थिए।





Comments

comments

3492