लकडाउनपछि पशुपतिमा घट्न थाले शव

पशुपति

काठमाडौँ, २४ चैत । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक १० देखि १२ शव मात्र आएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिएका छन्।

लकडाउनका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द रहेको, धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको, विदेशबाट शव आउन बन्द भएको र सडक दुर्घटनासमेत घटेकाले कम शव आएको हुनसक्ने कोषले जनाएको छ। देश विदेशबाट हुने उडान हाल बन्द छ । विदेशमा काम गर्न गएका नेपालीको शव आउने क्रम पनि रोकिएको छ।

यातायात सहज नभएपछि उपत्यकाको काँठ क्षेत्रबाट पनि पशुपतिमा शव आउन रोकिएको छ । यातायात सहज भएका बेला काँठ क्षेत्रका मानिसले पनि पशुपतिमा शव जलाउन ल्याउँथे । यातायात नभएपछि मलामी आवतजावत गर्न समस्या हुने भएकाले काँठ क्षेत्रमै रहेका घाटमा शवदाह हुन थालेको हो।

पशुपतिमा शव लैजाँदा ब्रह्मनालमा पशुपतिनाथलाई स्नान गरेको जलले स्नान गराउन पाइने भएकाले पनि मृतकका आफन्तले आर्यघाट लैजान्छन् । पशुपतिमा दाउराबाट र विद्युतीय दुवै विधिबाट शवदाहको सेवा उपलब्ध छ । विद्युतीय शवदाहतिर पनि बन्दाबन्दी अघिभन्दा शव घटेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताएका छन्।

विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले रु चार हजार शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको रु एक हजार ५०० शुल्क लाग्छ । यसैगरी आर्यघाटमा रु एक हजार ९०० शुल्क लाग्छ । दाउरा भने आवश्यकताअनुसार लाग्ने गर्छ । दाउरा किलोको रु नौमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताएका छन्।

पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको रु २० लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौँले व्यहोर्दै आएको छ । दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने ९लोड अनलोड० को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन) ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुखसमेत रहनुभएका निर्देशक रेग्मीले जानकारी दिएका छन्। (रासस)





Comments

comments

35241