प्राञ्जलको प्यालामा आँसु विमोचित

कृष्णराज खनाल / एचकेनेपाल डट कम –
वोस्टन, जुन ९ । नेपाली साहित्यको गीत, गजल तथा कविताको क्षेत्रमा सशक्त रुपमा कलम चलाउनुहुने रवि प्राञ्जलले सोमवार आफैले लेखेको नेपाली गजलहरुको सीडी एल्वम प्यालामा आँसुको आफैले विमोचन गर्नुभएको छ। उक्त सीडीमा छवटा गजल समावेश गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वोस्टन च्याप्टरको आयोजना तथा वोस्टन छलफलको प्रायोजनमा आयोजित कार्यक्रममा उहाँले पुराना तथा नयाँ गजल एकल वाचन गर्नुभएको थियो।

रवि प्राञ्जलसँग एक गजल साँझ नाम दिइएको सो कार्यक्रमका अवसरमा उहाँलाई च्याप्टरका तर्फबाट सम्मान पत्र पनि प्रदान गरिएको थियो। भक्तराज आचार्यले गाएको सबै वेहोसी नसा पिएर नामक गीत लेखेर चर्चामा आउनुभएका गजलकार प्राञ्जल केही समयका लागि अमेरिका आउनुभएको अवसर पारेर उहाँलाइ सम्मान गरिएको हो। सो कार्यक्रमको वोस्टनस्थित विभिन्न अनलाइनले प्रत्यक्ष प्रसारण पनि गरेका थिए।

अमेरिकामा विगतमाभन्दा अहिले साहित्यको विकास भएको चर्चा गर्दै प्राञ्जलले वोस्टनका तर्फबाट सम्मान गरिएकोमा धन्यवाद दिँदै गजल विधामा थोरै शब्दमा धेरै शब्द भन्न पाइने भएकोले आफूले यो विधा विशेषत मन पराएको र त्यसैमा लागेको जानकारी दिनुभयो। उहाँले गजल विधाका बारेमा संक्षिप्त जानकारी पनि दिनुभएको थियो।

च्याप्टरका अध्यक्ष हरिप्रसाद काफ्लेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजन मवि सिंहले गर्नुभएको थियो भने सुरेश वाग्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । वोस्टनको सांगीतिक समूहका रञ्जन बूढाथोकी, मणिराज लामिछाने र नन्दु शंकरले उहाँको गजल तथा अरु गीत गाउँदा सभाहल एकछिन स्तब्ध बनेको थियो।





Comments

comments

36