गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ३ वर्षभित्रै बन्ने

भैरहवा, २ माघ। बहुप्रतीक्षित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भैरहवामा निर्माण सुरु भएको छ। तीन वर्षभित्रै बनाइसक्ने गरी काम थालिएको प्रस्तावित विमानस्थलको प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार शिलान्यास गरेका हुन्।

एसियाली विकास बैंकको ऋण सहयोग, ओएफआईडी, नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको लगानी समेत गरी ८५.५ मिलियन अमेरिकी डलर (६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ) लागतमा चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप प्रालिले निर्माणको ठेक्का लिएको छ।

यो विमानस्थल निर्माणको चर्चा दुई दशकदेखि हुँदै आएको थियो। हालसम्म मुलुकको एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्ट त्रिभुवन विमानस्थल साँघुरो भएकाले नेपालका लागि उपलब्ध वाषिर्क ३१ लाख ४० हजार २ सय ८८ हवाई सिटको यथेष्ट उपयोग हुन नसकेको अवस्थामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणासहित भैरहवामा गौतम बुद्ध विमानस्थल निर्माण थालिएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीश चन्द्रलाल सुमनले बताए। नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेको मुलुकको संख्या ३६ छ। त्रिभुवन विमानस्थलबाट २ वटा स्वदेशी र २३ वटा विदेशी गरी २५ अन्तर्राष्ट्रिय वायुसेवाले १७ मुलुकका २५ वटा गन्तव्यमा उडान गर्दै आएका छन्।

त्रिभुवन विमानस्थलको विकल्पका रूपमा निर्माण गरिने गौतम बुद्ध विमानस्थलमा ४५ मिटर चौडाइ र ३ हजार मिटर लम्बाइको धावनमार्ग, १ हजार ९ सय मिटर लम्बाइको ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवनलगायत पूर्वाधार बनाउन १३ नोभेम्बर २०१४ मा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। निर्माण ३१ डिसेम्बर २०१७ सम्ममा सक्ने लक्ष्य राखिएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

विमानस्थल सञ्चालनपछि विशेषगरी विदेशी बौद्ध धर्मावलम्बीको आगमन बढ्ने भएकाले मुलुककै पर्यटनमा महत्त्वपूर्ण योगदान पुग्ने कोइरालाले बताए। उनले पर्यटन र जलस्रोत क्षेत्रमा अर्बौंको लगानी लाइनमा बसेको समेत उल्लेख गरे।





Comments

comments

3747