१८ वर्षमाथिका गोर्खालीका सन्तानलाई पनि बेलायतमा आवासीय अधिकार

एचकेनेपाल डट कम संवाददाता –
लण्डन। अब बेलायती सेनाबाट अवकास प्राप्त गोर्खालीका १८ वर्ष नाघेका सन्तानहरुले पनि बेलायतमा आवासीय अधिकार पाउने भएका छन्। यसअघि यो अधिकार अवकास प्राप्त गोर्खाली सैनिकका १८ वर्ष मुनिका आश्रित सन्तानहरुले मात्र पाएका थिए।

बेलायत सरकारका सुरक्षा तथा अध्यागमन मन्त्री जेम्स ब्रोकनसायरद्वारा प्रेसित पत्रमा अब १८ वर्षमाथिका गोर्खालीका सन्तानले पनि सो अधिकार पाउने जनाइएको छ। ब्रोकनसायरले गोर्खाली अधिकार छानबिन समितिकी अध्यक्ष ज्याकी डोयललाई लेखेको पत्रमा सो कुरा उल्लेख गरिएको जनाइएको छ।

यसैबीच, समान हक अधिकारको लागि संघर्षरत गोरखा सत्याग्रह संयुक्त संघर्ष समिती यूके/नेपालका प्रमुख संयोजक सन्तोष थलङले एक प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण गोरखाहरूलाई बधाई ज्ञापन गरेका छन्।

प्रेस बिज्ञप्ति पूर्ण पाठ

गोरखाका १८ + एडल्टलाई ILE/ILR

सर्वप्रथम, सम्पूर्ण गोरखा दाजुभाई, दिदीबहिनी तथा भान्जा भान्जिहरु एवम सम्बन्धित सबैमा बधाई ज्ञापन गर्दछौं।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको मागहरु मध्येको मुख्य एउटा माग, ब्रिटिश गोरखाका वयस्क (१८ +) का छोराछोरीको बेलायती आवासीय अधिकारका बिषयमा एेतिहासिक सफलता प्राप्त भएको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेकोछ।

बिद्युतीय संचार माध्यमबाट प्राप्त गत ५ जनवरीमा बेलायती गृह मन्त्रालयको वेव साईटमा प्रकाशित बेलायती अध्यागमन नीति अनुसार, ब्रिटिश गोरखाका ३० वर्ष सम्मका वयस्क छोराछोरीहरुले बेलायतको आवासीय अधिकार प्राप्त गर्ने बाटो खुलेकोछ।

यसका लागि आफू आवासीयको अधिकारका लागि सुयोग्य भएको प्रमाणित गर्न अध्यागमनले अघिसारेको, आवेदन गर्ने गोर्खा सन्तान बेलायतबाहिर रहनुपर्ने, र उनीहरु भावनात्मक तथा आर्थिक रुपमा आफना गोर्खा बाबुसंगै आश्रित छन् भन्नका लागि यथेष्ट प्रमाण लगायतका १० मापदण्डहरु (क्राइटेरिया) पुरा गर्नु पर्ने हुन्छ। उक्त क्राइटेरिया पुरागरेकाहरुले बेलायतको आवासीय अधिकार प्राप्त गर्ने सुनिश्चित भएको छ।

तर ३० बर्ष नाघेकाहरुको लागि उल्लेखित १० मापदण्डहरु (क्राइटेरिया) का साथै आफूले आवसीय अधिकार पाउनुपर्ने बिशेष परिस्थिति र कारण युक्तिसंगत पुष्टि गर्न सके अध्यागमनको स्वबिवेकीय निर्णयमा सो अधिकार प्राप्त गर्न सक्ने व्यवस्था उल्लेख गरेको छ।

यो अध्यागमन नीति धेरै हदसम्म स्वागत योग्य छ। यो गोरखा सत्याग्रह आन्दोलनको महत्वपूर्ण उपलव्धी हो। यसलाई सकारात्मक ढंगबाट कार्यान्वयन गराउन बेलायती सरकारमाथि निरन्तर निगरानी राख्न जरुरी छ।

यस बिषयमा गोरखा सत्याग्रहले आगामी दिनहरुमा बिस्तृत जानकारी गराउँदै सहयोग गर्नेछ।

अन्त्यमा, केही ब्यक्तिहरुले गोरखा संस्थाका नाममा पीडित गोरखाका छोरा छोरीहरुलाई बिभिन्न लोभ, लालस, डर, धम्की दिएर बिभिन्न शीर्षकमा शूल्क अशुल्ने घृणित काम भईरहेको जानकारी प्राप्त भएकोछ। त्यसर्थ, त्यस्ता व्यक्ति वा संस्थाहरुसंग होसियार रहनुहोला। यदी शूल्क बुझाई सक्नु भएको भए तुरुन्त फिर्ता लिनुहोला। यो बिषयमा अधिकारिक रुपमा जानकारी लिन परे गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिलाई संपर्क गर्न सक्नु हुनेछ।

यहाँहरु सबैलाई साथ सहयोग र धैर्यताका लागि धन्यवाद।
जय गोरखा !!!

सन्तोष थलङ
प्रमुख संयोजक -यूके/नेपाल
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति
यूके/नेपाल





Comments

comments

3749