सीमामा सेना खटाउने तयारी

काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ। रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको हो।

स्रोतका अनुसार सेनालाई सीमामा खटाउन आवश्यक पर्ने नीतिगत विषयको तयारीमा रक्षा मन्त्रालय जुटेको छ । सो रणनीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने मन्त्रालयले लिएको छ।

‘अहिले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको मुख्य जिम्मेवारी छ, अब नेपाली सेनालाई सीमाको सुरक्षाको जिम्मेवारी दिने गरी नीतिगत तहका काम अघि बढाइँदै छ,’ स्रोतले भन्यो।

फाइल फोटो

राष्ट्रिय योजना आयोगले समेत आगामी तीन वर्षको मध्यकालीन खर्च संरचनामा नेपाली सेनालाई अन्तर्राष्ट्रिय सीमाको सुरक्षामा सहभागी गराउने विषय समेटेको बताइन्छ।

सो दस्तावेजमा नेपाली सेनालाई मुलुकको अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा, नदी, खानी, वनजंगल र प्रकृति संरक्षण कार्यमा सहभागी गराउने तथा ठूला एवं रणनीतिक महत्त्वका विकास आयोजनाको सम्भाव्यता अध्ययन गर्दा राज्यको सुरक्षामा पर्ने प्रभावबारे सुरक्षा प्रभाव मूल्यांकन गर्नुपर्ने व्यवस्था गर्ने भनिएको छ।

रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले सीमामा सेनालाई खटाउनेबारे नीतिगत तयारी भइरहेको बताए । ‘सीमामा सेनालाई खटाउने विषयमा नीतिगत रूपमा तयारी भइरहेको छ, त्यसका लागि सुरक्षा नीति र प्रतिरक्षा नीति पनि त्यहीअनुसार हुनुपर्छ, कार्ययोजना बनाइँदै छ,’ रक्षा मन्त्रालयका प्रवक्ता सुनारले राजधानीसँग भने।

नेपाली सेनाले भने सीमामा सेनालाई खटाइने विषयको तयारीबारे अनविज्ञता प्रकट गरेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेनालाई सीमा सुरक्षाको जिम्मेवारी दिने गरी बन्दै गरेको कार्ययोजनाबारे जानकारी नभएको बताए। यो समाचार राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।





Comments

comments

37647