आठौं एल्बमको तयारीमा प्रकाश

रामप्रसाद ढुंगेल, अबुधाबी / एचकेनेपाल डट कम-
नाई, मलाई त्यही केटी चाहिन्छ.. भन्दै नेपाली संगीतमा १५ वर्षअघि पाइला चालेका प्रकाश पौडेलले रोजगारीको क्रममा यूएईमा रहेर पनि संगीतलाई भुल्न सकेका छैनन्।

रुन्चे गायकको रुपमा चिनिने प्रकाश विगत पाँच वर्षदेखि सेन्चुरी कमर्सियल बैंकको प्रतिनिधिका रुपमा यूएईमा काम गर्नुका अतिरिक्त फुर्सदको समयमा गीतसंगीतको सिर्जना, साधना र साप्ताहिक रुपमा आयोजना हुने सांगीतिक कार्यक्रममै गीत गाउन व्यस्त छन्।

थ्री मच नामको एल्मबको अत्यधिक सफलतापछि प्रकाशले आफ्नो एम्बमको ब्रान्डलाई निरन्तरता दिंदै आठौं एल्बम एट मच रिलिजको तयारीमा छन्। आज रातभरि नाचिन्छ.. बोलको गीतलगायत अन्य आठ वटा गीतहरुको कलेक्सन एल्बम आगामी फेब्रुअरीको पहिलो सातामा सार्वजनिक गर्ने प्रकाशले बताएका छन्।

भोलि छुट्टी मकै भुट्टी..जस्ता शब्द रहेको प्रकाशको उक्त एल्बममा डान्सिङ, कमेडी, लोक तथा पप गीतहरु रहने उनले बताएका छन्। आफ्नै शब्द र संगीत रहेको उक्त एल्बममा जेम्स प्रधानले एरेन्जरको भूमिका निर्वाह गरेका छन्। सलाम आलेकुम र हाहाहाहा जस्ता गीतहरुको सफलता र म्युजिक भिडियोको सुटिङ दुबईमै गरिसकेका प्रकाशले यस एल्बमको एक गीतको म्युजिक भिडियो दुबई र अबुधाबीमा सुट गर्ने बताएका छन्।

आज रातभरि नाचिन्छ.. बोलको गीतलाई प्रकाशले भेभो नामको म्युजिक साइटमा दर्ता गराएका छन्, भेभोमार्फत् बज्ने यो पहिलो नेपाली गीत बन्न सफल भएको छ।





Comments

comments

3868