संबिधानसभाभित्रको आक्रमण कानूनी शासन बिरुद्धको नाङ्गो नाच: एमाले यूएई

उत्तम अधिकारी / एचकेनेपाल डट कम-
दुबई, ७ माघ। एनेकपा माओबादी र उसका समर्थक दलका नेताहरुले माघ ५ को मध्यरातमा संबिधान सभाको बैठक चलिरहँदा मच्चाएको आतंक र एमाले अध्यक्ष के.पी. शर्मा ओली माथिको आक्रमणको बिश्वभरबाट निन्दा र भर्त्सना भइरहेको छ।

देश बिदेशमा छरिएका नेपालीहरुले बिभिन्न सामाजिक संजाल, अनलाइन पत्रिका तथा अन्य माध्यममार्फत उक्त आक्रमणलाई सुनियोजित भन्दै एमाओबदीले अझै पनि जंगली शैली नत्यागेको उल्लेख गरेका छन्।

यसैबीच नेकपा एमालेका बिभिन्न प्रवास संगठनहरुले बिज्ञप्ति जारी गर्दै एमाओबदीको उक्त शैलीलाई अराजक भन्दै आफ्ना अध्यक्ष माथिको आक्रमणलाई निन्दा गरेका छन्। एमालेको यूएई प्रवास संगठन प्रवासी नेपाली मंच यूएईले एक बिज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई कानूनी शासन बिरुद्धको नाङ्गो नाच भएको जनाएको छ।

मंचका अध्यक्ष प्रकाश कोइरालाद्वारा जारी उक्त बिज्ञप्तिमा लोकतान्त्रिक मुलुकमा बिरोध जनाउने र आफ्ना माग राख्ने अधिकार विधिसम्मत रुपमा हुने गरेको भएपनि कसैलाई कसैमाथि आक्रमण गर्न, सार्वजनिक सम्पती तोडफोड गर्न कतै छुट नभएको उल्लेख छ। “बिरोधको नाउमा सम्मानित संबिधानसभाभित्र गरिएको तोडफोड र नेकपा (एमाले)का अध्यक्ष कमरेड के.पी. शर्मा ओलीलाई लक्षित गरी गरिएको योजनाबद्ध आक्रमणको हामी घोर निन्दा र भर्त्सना गर्दछौं।” बिज्ञप्तिमा भनेको छ। आफ्ना अध्यक्ष माथिको आक्रमणको निन्दा गर्दै बिज्ञप्तिमा “लोकतन्त्र र लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउने गरी संबिधानसभा भित्र देखाइएको यो एउटा गैरकानुनी नाङ्गो नाच हो” भनिएको छ। मंचले उक्त आक्रमणलाई सुनियोजित भनेको छ।

जारी बिज्ञप्तिमा “जनताले आफ्नो मतमार्फत संबिधान र कानुन निर्माण गर्न सम्मानित संबिधानसभाको सभासद बनाई पठाएका कानून निर्माताहरु नै गलत अभ्यास र गैरकानूनी क्रियाकलाप मार्फत अत्यन्तै गैरजिम्मेवारपूर्ण रुपमा प्रस्तुत भइ आतंक सृजना गर्नुले सिंगो राष्ट्र, नेपालको कानून र आम जनताको अपमान गर्ने काम भएको छ।” भनिएको छ। संबिधान सभामा भएको उक्त घटनालाई उदण्ड, गैरजिम्मेवार र गैरकानूनी भन्दै मंचले उक्त घटनाको घोर बिरोध र भर्त्सना गरेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3893