दाहाललाई वैद्यले सोधे, ‘संविधानसभा भंगको नारा किन लागेन?’

काठमाडाैं, ८ माघ। नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सोधे, ‘आन्दोलनमा हाम्रा माग किन सम्बोधन भएनन्? संविधानसभाभित्रको आन्दोलनमा हाम्रा नारा किन लागेनन्?’

उनले आफ्ना नाराबारे प्रस्ट पार्दै भने, ‘यदि संयुक्त आन्दोलन गर्ने हो भने संविधानसभा भंग हुनुपर्छ भन्ने हाम्रो नारा त्यहाँभित्रको आन्दोलनमा लाग्नुपर्छ।’ दाहालले जबाफ दिँदै भने, ‘हतार नगरौं, माघ ८ सकौं अनि छलफल गरौंला।’

संविधानसभाभित्र तोडफोड र नाराबाजी गर्दै संविधान निर्माण प्रक्रिया अवरुद्ध गरेको तथा सडकमा कार्यकर्ता उतारेर दबाब दिएको विषयमा मूल्यांकन गर्ने क्रममा वैद्यले यसरी दाहालसँग असन्तुष्टि पोखेका थिए।

संविधानसभाभित्र र बाहिर आन्दोलनका लागि थप रणनीति बनाउन बुधबार बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा एमाओवादीसहित ३० दलीय मोर्चाको बैठकमा वैद्यले सहकार्य गर्ने तर आफ्ना मागबारे कुरै नउठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले मूल र सहायक नारा बनाएर आन्दोलनमा आफूहरूप्रति विभेद गरिएको गुनासो पनि गरे। ‘नारा एउटै हुनुपर्‍यो। यो सभाबाट संविधान बन्दैन भन्ने कुरा सभाभित्रको आन्दोलनमा पनि उठ्नुपर्‍यो’, वैद्यले भनेका थिए।

बैठकमा सहभागी मधेसी जनअधिकार फोरमका उपाध्यक्ष रामेश्वरराय यादवले भने, ‘वैद्यजीले संविधानसभा भंग गर्ने नारा त्यहाँभित्र पनि लाग्नुपर्नेमा जोड दिनुभएको थियो तर यसबारे भोलिपछिमात्र छलफल गर्ने तय भएको छ।’ उनले आफूहरू संविधानसभाबाट सहमतिमै संविधान बन्नुपर्ने पक्षमा रहेको बताए।

बैठकमा दाहालले वैद्यलाई थुमथुम्याउने प्रयास गरेका थिए। उनले संविधानसभाभित्र र बाहिर त्यसबाटै संविधान नबनोस् भन्ने विचार बोकेका साथीहरू भएकाले सबै समायोजन गरेर आन्दोलन गर्नुपरेको धारणा राखेका थिए।

उनले माघ ८ का दिन सत्तापक्ष मार्सल लाएर भए पनि प्रक्रिया अघि बढाउने तयारीमा लाग्न सक्ने सूचना आएको जानकारी दिँदै भित्र र बाहिर सशक्त रूपमा प्रतिकार गर्ने गरी प्रस्तुत हुनुपर्ने बताएका थिए।

बैठकमा केही दलले माघ ८ मा सुरक्षाघेरा तोडेर संविधानसभा घेर्ने कार्यक्रम ल्याउन दबाब दिएका थिए। तर दाहालले तत्काल त्यस्तो योजना बनाए कार्यान्वयन गर्न समस्या पर्ने भन्दै पन्छाएका थिए।

आन्दोलन परिचालन समितिका संयोजक एमाओवादी महासचिव कृष्णबहादुर महराले ८ गते दिनभर निषेधित क्षेत्रबाहिर प्रदर्शन गर्ने र सबै दलको सहभागिता हुनुपर्ने प्रस्ताव बैठकले पारित गरेको जानकारी दिए।

उनले भने, ‘संविधानसभाबाट संविधान बन्नुपर्छ र सर्वपक्षीय राजनीतिक स मेलनबाट संविधान बन्नुपर्छ भन्ने दुवै पक्ष संघर्षमा छौं। एकअर्काका नारा नलगाउने र साझा नारा लगाउने हाम्रो सहमति छ। राष्ट्रिय सहमतिमा संविधान बन्नुपर्छ भन्ने साझा नारा हो।’

बैठकमा मधेसवादी दलका अध्यक्षहरू भने सहभागी थिएनन्। उनीहरू माघ ८ पछि मधेसी मोर्चाको मात्रै बेग्लै आन्दोलन गर्ने तयारीमा रहेको समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएको छ।





Comments

comments

3896